बैतडी- बैतडीको पाटन नगरपालिका–६ स्थीत श्री कृष्ण माविमा पढाउँदै आएका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न अभियुक्तलाई सार्वजनिक गरिएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीले बिहीबार पत्रकार सम्मेलन गर्दै अभियुक्तलाई सार्वजनिक गरेको हो।
जिल्लाको पुर्चौडी नगरपालिका-३ न्वादेउ घर भएका प्रजाबहादुर बोहरा र बिमला बोहरालाई प्रहरीले सार्वजनिक गरेको हो।
कृष्ण माविमै कम्प्युटर डिप्लोमा चौथो वर्षमा अध्ययनरत विमला छात्राबासमा बस्दै आएकी थिइन्। प्रजा र विमला श्रीमान्–श्रीमती हुन्।
पुस १ गते राति शिक्षक विष्टले बिमलामाथि अभद्र व्यवहार गरिरहेको देखेपछि उनका श्रीमान्ले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
श्रीमतीलाई अभद्र व्यवहार गरेको झोकमा उनका श्रीमान् प्रजा बोहराले शिक्षक विष्टलाई मुक्का हानेर सिंढीबाट ढलाएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले भने, ‘पुस १ गते साँझको समयमा विमला बोहरा शौचालय जान्छु भनि बाहिर निस्केकी र ढिलो गर्दा प्रजा बोहराले खोजी गर्दा शिक्षक विष्टले अँगालो हालेको देखेपछि प्रजा बोहराले शिक्षक विष्टलाई मुक्का हानेर ढलाए। त्यसपछि प्रजाले उनको छाति र मुखमा हानेर हत्या गरे।’
प्रजाले शिक्षक विष्टलाई ढलाएपछि एक जनाले खुट्टा र अर्कोले टाउकोतर्फ आक्रमण गर्दै हत्या गरेको प्रहरीले जनाएको छ। हत्यापछि शिक्षको शव दुवै जनाले मिलेर हत्या रम्बासको झ्याङमा फालेको प्रहरीको भनाई छ।
घटनाका अभियुक्तमाथि थप अनुसन्धान भइरहेको डीएसपी शाहीले बताए। जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ। घटनामा अरु संलग्नताका विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक शाहीले बताए।
शिक्षक विष्टको शव पौष २ गते दिउँसो १ बजे फेला परेको थियो। मृतकका आफन्तले उनको हत्या भएको आशंका गरेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो।
सो घटनाको अनुसन्धानका लागि सीआइबीको टोलीसमेत बैतडी आएको थियो। शिक्षक विष्टको हत्या भएकाले दोषी पत्ता लगाउन माग गर्दै ६ दिनसम्म लगातार आन्दोलनसमेत गरिएको थियो।