काठमाडौं- परम्परागत र सांस्कृतिक महत्व बोकेको इन्द्रजात्रा पर्व शुक्रबारदेखि राजधानीमा शुरु भएको छ। वसन्तपुरस्थित हनुमानढोका दरबार अगाडि तलेजु भवानी मन्दिरनजिकै भक्तपुरको चित्तपोलबाट ल्याइएको लिंगो ठड्याइएपछि जात्रा शुरू हुन्छ।
शुक्रबार बिहान ८:०५ बजेको शुभ साइतमा लिंगो ठड्याइएको हो। लिंगो ठड्याइएपछि सत्यको जितको प्रतीकस्वरूप इन्द्रध्वजा पनि फहराउने चलन छ। लिंगो ठड्याउनुअघि किलागलका ज्यापु समूदायले परम्परागत विशेष तान्त्रिक देवी नाच प्रस्तुत गर्ने गर्छन्। भरतमुनिको नाट्यशास्त्रमा पनि इन्द्रध्वज उत्थानको चर्चा गरिएको पाइन्छ।
भिडियो हेर्नुहोस्
इन्द्रजात्राको क्रममा जीवित देवी कुमारी, भैरव र गणेशको रथयात्रा पनि गरिन्छ। इन्द्रजात्राको पहिलो दिन उपत्यकाका नेवार समुदायले काँचो माटोको दियोमा बत्ति बालेर उपाकु पर्व पनि मनाउने गर्छन्।
काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालास्थित जंगलबाट ल्याइएको लिंगो ठड्याउने परम्परा छ। तान्त्रिक विधिद्वारा पूजा गरी त्यस जंगलमा छोडिएको बोकाले स्पर्स गरेको रूखलाई इन्द्रध्वजाका लागि लिंगोका रूपमा विधिपूर्वक तयार पारिन्छ।
हनुमानढोका दरबार क्षेत्रमा रहेको कालभैरवको विशाल मूर्तिअगाडि धार्मिक विधिअनुसार लिंगो ठड्याएपछि विभित्र प्रकारका नाचगान र रथयात्रा गरी आठ दिनसम्म इन्द्रजात्रा मनाइन्छ। जात्राभरि लाखेनाच, महाकाली नाच, दशावतार र देवताका राजा इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ।
नेपाल भाषामा ‘योसीं’ भनिने’ इन्द्रध्वजोत्थान'लाई शुभ मंगल सूचकका विभित्र चिन्ह राखेर ध्वजापताका झुण्ड्याइएको हुन्छ। लिंगोलाई ध्वजापताकासहित सिंगारेर उठाउनुलाई इन्द्रध्वजोत्थान भनिन्छ।
पौराणिक कथाअनुसार आफ्नी आमालाई वसुन्धराको व्रतका निम्ति पूजा सजाउन स्वर्गलोकका इन्द्र काठमाडौं आएका थिए। अरूको बारीमा गएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई चोर भनी नियन्त्रणमा लिएर डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनमा इन्द्रजात्रा मनाउने गरेको लोककथन छ।
त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौं आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लग्छिन्। त्यही कुहिरोले गर्दा धानबाली समयमा पाक्ने भयो भन्ने मान्यता छ।
अष्टध्वजासहित सिंगारिएको लिंगो ठड्याउँदा मंगलधुन बजाइएको छ। रणबहादुर शाहको पालादेखि हनुमानढोका दरबार परिसरमा लिंगो ठड्याउन थालिएको र त्यसअघि मरु टोलस्थित नारायणमन्दिर अगाडि ठड्याउने चलन थियो। इन्द्रध्वजा उठाउने परम्परा राजा प्रतापसिंह शाहले चलाएको पनि मान्यता छ।
यो जात्राका बेला वर्षभरिमा दिवंगत पितृहरूको सम्झनामा घरका सबै सदस्य मिलेर पितृको उद्धारका लागि स्तोत्रपाठ, शान्तिपाठ र गर्नुका साथै विभिन्न मठमन्दिरमा गई पूजाअर्चना गर्ने चलन छ। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी प्रत्येक वर्ष भाद्रशुक्ल चतुर्दशीका दिन काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा इन्द्रजात्रा मनाउने गरिन्छ । यस्ता छन् इन्द्रजात्राका साइत
इन्द्रजात्राका विभिन्न सात विधि छन्। तिनीहरूमध्ये पहिलो साइतका रूपमा वन यात्रा पर्छ। वन यात्राका लागि २६ भदौको बिहान ११:४९ बजेको साइत तय भएको थियो भने वृक्षकर्तनको साइत २६ भदौ राति ९:२१ बजे तय भएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ।
यस्तै, १ असोज सोमबार बिहान १०:१७ बजे लिंगो नगर प्रवेश गराउने साइत थियो भने लिंगो ठड्याएर ध्वजोत्थानका लागि शुक्रबार बिहान ८:०५ बजेको शुभ साइत तय भएको थियो। जात्राअन्तर्गत कुमारी यात्राका लागि ८ असोज सोमबार तल्लो टोलमा यात्रा गर्ने तथा ९ असोज मंगलबार माथिल्लो टोलमा यात्रा गरिने पञ्चांग निर्णायक समितिले जनाएको छ।
जात्राअन्तर्गतको नानिचा यात्राका भने १२ असोज शुक्रबार परेको छ। त्यसपछि शुक्रबार राति नै १०:२७ बजेको शुभसाइतमा इन्द्रध्वज पतन भएपछि इन्द्रजात्रा पर्व समापन हुनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...