काठमाडौं- ४ भदौमा बबरमहलस्थित निवासमा हत्या भयो, पूर्वराजदूत केशव झाको । प्रहरीले घरका एक कामदार र दुई मालीलाई नियन्त्रणमा लियो । जिल्ला अदालतले पक्राउ परेका तीनै जनालाई धरौटीमा रिहा गर्यो ।
८३ वर्षीय पूर्वराजदूत झाको हत्या प्रकरण थप जटिल बन्दै गएको छ । किनकि, एक महिना बितिसक्दा पनि प्रहरीले हत्याको जरो समाउन सकेको छैन ।
उक्त प्रकरणको अनुसन्धान महानगरीय प्रहरी अपराध महाशाखाले गरिरहेको छ । महाशाखाको टोलीले हालसम्म करिब ६० जनासँग बयान लिइसकेको छ । उनको हत्यामा प्रहरीले बाह्य कारणको गन्ध पाएको छैन, घर भित्रैबाट हत्या भएको निष्कर्षका साथ अनुसन्धान केन्द्रित गरेको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले झाका घरेलु कामदार काभ्रेका ४७ वर्षीय सानुकान्छा तामाङ तथा माली काम गर्दै आएका नुवाकोटका अमरबहादुर तामाङ र जयबहादुर गुरुङलाई नियन्त्रणमा लिएको थियो । हत्यामा संलग्नता पुष्टि हुन नसकेको बताउँदै अदालतले २४ दिनपछि २८ भदौमा जनही आठ हजार धरौटीमा तीनै जनालाई रिहा गर्न आदेश दिएको थियो ।
घरमै केन्द्रित अनुसन्धान
३ भदौ राति खाना खाएर सुतेका झा भोलिपल्ट बिहान हत्या भएको अवस्थामा ओछ्यानमै फेला परेका थिए । सधैंको समयमा नउठेपछि पत्नी ज्ञानु झा उनलाई उठाउन कोठामा पुग्दा रगतपच्छे अवस्थामा मृत फेला परेका थिए । उनको घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हो ।
ओछ्यानमै हत्या भएकाले प्रहरीले घरभित्रै अनुसन्धान केन्द्रित गरेको हो । झाकी पत्नी ज्ञानुसँग पनि प्रहरीले बयान लिएको छ । झा भुईं तला र उनकी पत्नी ज्ञानु पहिलो तलामा सुत्ने गर्थे ।
उनको हत्यामा उनले नै फलफूल काट्न प्रयोग गर्दै आएको चक्कु प्रयोग भएको पाइएको छ । उनको टाउकोमा पनि प्रहार भएको खुलेको छ । टाउकोमा प्रहार भएको वस्तु भने घटनास्थलमा फेला परेको छैन ।
१४ वर्षदेखि काम गर्दै आएका सानुकान्छाको बयान र पोलिग्राफ टेस्ट फरक-फरक रहेको प्रहरीले जनाएको छ । अदालतको आदेशमा रिहा भएलगत्तै उनले प्रहरीले चरम यातना दिएर हत्या कबुल गर्न लगाएको आरोप लगाएका छन् ।
'घटना नियोजित'
पूर्वराजदूत झाको हत्या नियोजित रूपमा भएको प्रहरीको शंका छ । चारैतिरबाट बन्द कोठामा धारिलो हतियारबाट हत्या भएकाले पनि प्रहरीले यसलाई नियोजित बताएको छ ।
हत्यारा उत्तरतर्फबाट घरको उपल्लो झ्याल हुँदै भित्र पसेको र लुटपाट गर्ने उद्देश्यले हत्या गरिएजस्तो देखाउन खोजिएको छ । तर, उक्त झ्याल हत्याराले प्रयोग गरेको छैन । र, घरबाट कुनै सामान चोरिएको पनि छैन ।
यसअघि प्रयोग गर्दै आएको चक्कु भुत्ते भएको बताउँदै झाले नयाँ चक्कु किनेर ल्याउन सानुकान्छालाई अह्राएका थिए । सोही नयाँ चक्कु प्रहार गरेर उनको हत्या भएको हो । चक्कु प्रहार गर्दा झाको घाँटीको अघिल्लोतर्फको हड्डी भाँचिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ ।
शिक्षण अस्पतालको पोस्टमार्टम रिपोर्टअनुसार टाउकोमा प्रहार गरिएको हतियार चक्कु नभएर हथौडा हो । हथौडाको प्रहारबाट झाको मस्तिष्कसम्म गम्भीर चोट लागेको छ ।
चक्कु र हथौडा प्रहार गर्न दुई जनाको संलग्नता हुन सक्ने प्रहरीको शंका छ ।
चारैतिरबाट बन्द कोठमा झाको हत्या हुनु र माथिल्लो तलामा बस्दै आएकी श्रीमती र गेटसँगैको कोठामा बस्दै आएका सहयोगीले त्यसको सुईंकोसमेत नपाएको बताउनुले अनुसन्धानमा संलग्न प्रहरी घटना सुनियोजित रहेकाले अनुसन्धान जटिल तरिकाबाट गर्नुपर्ने निष्कर्षमा पुगेको छ । तर, हत्याकाण्डको जरो समाउन असफल देखिँदै आएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४