काठमाडौं– नाबालिग बलात्कार आरोपमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेशविरुद्धको पुनरावेदन मुद्दाको सुनुवाइ हुँदै छ। नाबालिग बलात्कार मुद्दामा जेल चलान भएका लामिछानेका कानुन व्यवसायीले गत २९ मंसिरमा दर्ता गरेको मुद्दाको पेशी आजका लागि तोकिएको हो।
लामिछानेका वकिलले पीडित भनिएकी १७ वर्षीया नाबालिगका २ वटा जन्मदर्ताको कागजपत्र उच्च अदालतमा पेस गरेका छन्। उच्च अदालतमा दिएको निवेदनमा किशोरीको उमेर १८ वर्षमाथि रहेको दाबी उनीहरुको छ।
थुनछेकको बहसका क्रममा सन्दीपका वकिलले नाबालिग भनिएकी किशोरीको उमेर १८ वर्ष ३ महिना भइसकेकाले अभियोग गलत भएको तर्क गरे पनि अदालतले फैसला नहुन्जेल सन्दीपलाई जेलमै राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो। प्रहरीले सन्दीपलाई गत २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी हिरासतमा लिएको थियो।
गौशाला प्रहरी वृत्तको हिरासतमा राखिएका उनले पटक म्याद थप गर्दै अदालतमा हाजिर हुँदा किशोरी नाबालिग नरहेको दाबी गर्दै आएका छन्। सन्दीपका वकिल मुरारी सापकोटाले जन्मदर्ता, बसाइँसराइको प्रमाणपत्र र कक्षा ८ मा भर्ना हुँदाको विवरण इजलासमा पेस गरेका थिए।