काठमाडौं- ललितपुरको गोदावरी खोलामा फोहोर फाल्न नदिन सिसी क्यामरा जडान गरिने भएको छ। खोलामा जथाभावी फालेको फोहोरले बस्ती नै प्रदूषित भएपछि स्थानीयवासीको सक्रियतामा सिसी क्यामरा जडान गर्न लागिएको हो।
गोदावरी नगरपालिकाले पनि गोदावरी खोला, मुख्य चोक र सुरक्षाको हिसाबले संवेदनशील क्षेत्रमा सिसी क्यामरा जडानका लागि डेढ करोड बजेट विनियोजन गरेको छ। कतिपय ठाउँमा सिसी क्यामरा जडान सुरु भइसकेको र केहीमा सुरु गरिने नगरपालिकाले जनाएको छ।
गोदावरी नगरपालिका तथा स्थानीयले खोला सफाइ अभियान थालेको दुई सय हप्ता पूरा भएको छ। तर, एकातिरबाट सफाइ गर्ने अर्कोतिरबाट फोहोर फ्याँक्ने क्रमम नरोकिएपछि निगरानी बढाउन सिसी क्यामरा जडान गर्ने तयारी गरिएको हो। गोदावरी खोलाको करिब पाँच स्थानमा सिसी क्यामरा राखिनेछ।
खोलालाई थप सफा पार्न नगरपालिकाले र वडा कार्यालयले पनि कडाइ गर्ने गोदावरी नगरपालिका–३ का वडाध्यक्ष रानुराजा घिमिरे (राज)ले जानकारी दिए। उनले गोदावरी क्षेत्र पर्यटकीय नगरी रहेकाले यस क्षेत्रमा कुनै पनि किसिमको फोहोर हुन नदिने गरी काम भइरहेको बताए।
गोदावरी खोला गोदावरी नपा–३, कुण्ड हुँदै भक्तपुरको हनुमन्ते खोलामा मिसिन्छ। खोला प्रदूषित र फोहोर हुन थालेपछि गोदावरी खोला क्षेत्र सरसफाइ अभियानअन्तर्गत पनि खोला सरसफाइ हुँदै आएको छ।