विराटनगर- मोरङमा मानवअधिकार उलंघनका दुई सय ६५ वटा घटना भएको पाइएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले बुधबार विराटनगरमा आयोजना गरेको वर्ष पुस्तक २०२३ को वार्षीक समीक्षा कार्यक्रममा जिल्ला प्रतिनिधि विनोद सुवेदीले सो जानकारी दिएका हुन्।
गत जनवरी १ देखि नोभेम्बर सम्मको अवधिमा दुई सय ६५ वटा मानवअधिकार उलंघनका घटना अभिलेखीकरण भएको सुवेदीले बताए। मानवअधिकार उलंघनका २ सय ६५ वटा घटनामा दुई सय ६८ जना पीडित बनेका छन्।
मोरङमा सबै भदा बढी बलात्कारका घटना भएका छन्। ११ महिनाको अवधिमा ७९ वटा बलात्कारका घटना भएका हुन्। यस्तै घरेलु हिंसाका ७८ वटा घटना भएका छन्। १८ वटा हत्याका घटना भएका छन। अपहरण ६, बालयौन दुव्र्यवहारका १६, बानव वेचविखनका ४ , वोक्सी आरोप २ , बालविवाहका ४ वटा घटना भएका छन्। यस्तै बलात्कार प्रयासका १९, हत्या प्रयासका २४ वटा घटना भएको पाइएको छ।
बर्ष पुस्तक प्रकाशन पूर्व सरोकारवालाहरुवीच इन्सेकले अभिलेखीकरण गरेका घटनाहरु सार्वजनिक गर्ने र उनीहरुको सुझाव लिएर घटनाहरुलाई पूर्णरुप दिने गरिएको इन्सेक प्रदेश १ का प्रमुख सोमराज थापाले बताए। उनका अनुसार मोरङको बुधबार कार्यक्रम गरिएसँगै १४ वटै जिल्लाको समीक्षा सकिएको उनले बताए।
जिल्लाको बार्षिक समीक्षा पछि जिल्ला प्रतिनिधिहरुवीच घटनाको सम्पादन गरिने गरिएको उनको भनाई छ। प्रतिनिधिले अभिलेख गरेका घटनाहरु सम्पादन गरेर पुस्तकमा समावेश गरिने थापाले बताए। उनका अनुसार जिल्ला प्रतिनिधिहरुको सम्पादन भेला विहीबार र शुक्रबार विराटनगरमा हुँदैछ।