मकवानपुर- मकवानपुरको मनहरीमा बसको ठक्करबाट महिलाको मृत्यु भएको छ। हेटौंडा-नारायणगढ सडक खण्डअन्तर्गत पर्ने मनहरी गाउँपालिका-९ खरङ्गामा बुधबार बिहान यात्रु बहाक बसको ठक्करबाट ४५ वर्षीय महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मृत्यु हुनेमा भोजपुर नगरपालिका वडा नम्बर ७ कोदार बस्ने सीता मिजार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए।
बिहान ४ बजेको समयमा झापाको काँकडाभित्ताबाट स्याङजातर्फ जाँदै गरेको ना५ख ६१०३ नम्बरको रात्रि बस चिया खान रोकिएको अवस्थामा उक्त बसमा सवार मिजारलाई बाटो क्रस गर्ने क्रममा नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको लु२ख ४६०७ नम्बरको बसले ठक्कर दिएको थियो।
बसको ठक्करबाट गम्भीर घाइते भएकी मिजारको उपचारको क्रममा आज बिहान ७:२० बजेको समयमा हेटौंडा-११ स्थित चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक घिमिरेले बताए। मृतक मिजारको शव पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको छ। प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको छ।