काठमाडौं– गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत बागमती प्रदेशसभा निर्वाचनमा ३३ वटा राजनीतिक दलको धरौटी जफत भएको छ। निर्वाचनमा प्रत्यक्षतर्फ ३५ र समानुतिकतर्फ ४० राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए। यसमध्ये ३३ राजनीतिक दलको धरौटी जफत भएको निर्वाचन आयोगद्वारा हेटौंडामा आयोजित कार्यक्रममा जानकारी दिइएको हो।
आयोगका सचिव गोकर्णमणि दवाडीका अनुसार प्रदेशसभाको निर्वाचनमा सहभागी भएका प्रत्यक्षतर्फ पुरुष ५८८ र महिलातर्फ ८० गरी ६६८ जना र समानुपातिकतर्फ ७५४ जना उम्मेदवारको बन्दसूची कायम भएको थियो। जसमा १० प्रतिशतभन्दा कम मत प्राप्त गरेका ४१७ पुरुष र ६७ जना महिला गरी कुल ४८४ को जनाको धरौटी जफत भएको आयोगको प्रतिवेदनमा उल्लेख छ।
आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदनअनुसार बागमती प्रदेशमा सात वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशसभामा प्रतिनिधित्व भएको छ। प्रदेशसभातर्फ ११० जना निर्वाचित भएका छन्। यसमा पुरुष ७० जना र महिला ४० जना छन्।
प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि बागमती प्रदेशमा महिला १७ लाख ३३ हजार ३७८ र पुरुष १७ लाख ३८ हजार ८७ तथा अन्य २७ गरी कुल ३४ लाख ७१ हजार ४९२ मतदाता थिए। आयोगको प्रतिवेदन बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सचिव दवाडीले पेस गरेका थिए।