शुक्रबार, जेठ ४, २०८१

जो कतार विश्वकपबाट बिदा भए

कतार विश्वकप केही चर्चित खेलाडीको अन्तिम प्रतियोगिता थियो। यहीँबाट केही चर्चित खेलाडीको बिदाइ भएको छ। उनीहरुलाई अब विश्वकपमा सायदै देख्न सकिनेछ खेलाडीको रुपमा।
 |  मंगलबार, पुस ५, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

मंगलबार, पुस ५, २०७९

काठमाडौं- फिफा विश्वकप २०२२ कतारमा भव्यताका साथ सम्पन्न भइसकेको छ। खेल सकिए पनि यसबारेको चर्चा-परिचर्चा र विश्लेषण भने सकिएको छैन। विश्वकपको यो २२ औं संस्करणले अर्जेन्टिनालाई तेस्रोपल्ट विश्व विजेता बनाइदिएको छ र विश्वभरका अर्बौं फुटबलप्रेमीको चार वर्षे प्रतीक्षाको घडी पनि सुरु भएको छ। 

triton college

विश्वभरबाट ३२ वटा टिमको सहभागिता रहने गरेको फिफा विश्वकपमा अर्को संस्करणदेखि ४८ टिम सहभागी हुन पाउनेछन्। २३ औं संस्करण सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा होस्ट गर्दैछन्। 

कतार विश्वकप केही चर्चित खेलाडीको अन्तिम प्रतियोगिता थियो। यहीँबाट केही चर्चित खेलाडीको बिदाइ भएको छ। उनीहरुलाई अब विश्वकपमा सायदै देख्न सकिनेछ खेलाडीको रुपमा।

लियोनेल मेस्सी (अर्जेन्टिना)

अर्जेन्टाइन कप्तान लियोनेल मेस्सीले कतार विश्वकप सुरु हुनुअघि नै यसपटकको विश्वकप आफ्नो अन्तिम रहेको बताइसकेका थिए। उनको विश्वकप विदाइ पनि सुखद् नै भयो। विश्वकप उपाधिका लागि तड्पिरहेका मेस्सीले उपाधि जित्दै प्रतियोगिताबाट बिदाइ लिएका छन्। पीएसजीका ३५ वर्षे प्लेमेकर मेस्सीले पाँच पटक विश्वकप खेलेका छन्। जसमा उनले २५ खेल खेल्दै १३ गोल गरेका छन्। योसँगै मेस्सी अर्जेन्टिनाका लागि विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी समेत बनेका छन्।

corrent noodles
Metro Mart

सन् २००६ बाट विश्वकपमा डेब्यु गरेका मेस्सी विश्वकपमा सर्वाधिक २५ खेल खेल्ने खेलाडी समेत हुन्। उनी दुईपटक गोल्डेन बल जित्ने एक्लो खेलाडी समेत बने। उमेर हदका कारण मेस्सीलाई हामीले अबका दिनमा कहिल्यै पनि विश्वकपमा देख्न पाउने छैनौं खेलाडीका रुपमा। सात पटकका वालोन डीओर विजेता मेस्सीले सन् २०१४ मा पनि विश्वकपको फाइनल खेलेका थिए तर जर्मनीसँग १-० गोलअन्तरले पराजित हुँदै उपाधि जित्नबाट चुकेका थिए। फुटबल समर्थकहरुले मेस्सीलाई उनको खेल कौशलका कारण सबैभन्दा धेरै सम्झिनेछन्।

लुका मोड्रिच (क्रोएसिया) 

क्रोएसियन टिमलाई आफ्नो विशेष प्रदर्शनसहित नेतृत्व गर्दै सन् २०१८ को फाइनलमा पुर्याएर वालोन डी ओर जित्ने खेलाडी हुन् लुका मोड्रिच। ३७ वर्षे मोड्रिचले उमेर भनेको संख्या मात्रै हो भन्ने कुरालाई सावित गरिदिए। बढ्दो उमेरका बिच उच्च प्रदर्शनलाई कायमै राखेका मोड्रिचको कतार विश्वकप पाँचौं तथा अन्तिम विश्वकप बन्यो। मेस्सी र रोनाल्डोले करिब एक दशक राज गरेको फुटबलमा मोड्रिचले यी दुईको दबदबा तोड्दै वालोन डी ओर जितेका थिए।

करिब एक दशक स्पेनिस क्लब रियल मड्रिडमा बिताएका उनले पाँचवटा च्याम्पियन्स लिग जितिसकेका छन्। मिडफिल्डर लाइनमा आफ्नो जादू देखाउने मोड्रिचले कतार विश्वकप आफ्नो अन्तिम  रहेको यसअघि नै घोषणा गरिसकेका छन्। उनले आफ्नो कप्तानीमा क्रोएसियालाई सन् २०१८ को विश्वकपमा फाइनल पुर्याए भने कतारमा तेस्रो स्थान सुरक्षित गर्न सफल भए।

एन्जल डिमारिया (अर्जेन्टिना)
हामीले विश्वकपमा अर्जेन्टिनाका मेस्सीसँगै अर्का स्टारलाई पनि देख्न पाउने छैनौं। उनी हुन् एन्जल डिमारिया। अर्जेन्टिनाको जर्सीमा ठूला प्रतिस्पर्धामा आफूलाई अब्बल साबित गरेका ३४ वर्षे डिमारिया अर्जेन्टिनालाई सन् २०२१ को कोपा अमेरिका जिताउँदा एकमात्र विजयी गोल गर्ने खेलाडी हुन्। उनले कतार विश्वकपको फाइनलमा पनि टिमका लागि एक गोल गरेका थिए।

सेन्ट्रल मिडफिल्डमा राम्रोसँग खेल्न सक्ने डिमारिया विंगर पनि हुन्। सन् २००८ बाट अर्जेन्टिनाको टिममा डेब्यु गरेका उनले चार विश्वकप खेलेका छन्। आफ्नो उत्कृष्ट खेल्ने शैलीका कारण करोडौं समर्थक कमाएका डिमारियालाई अन्डररेटेड खेलाडीको पनि संज्ञा पनि दिइन्छ। उनले रियल मड्रिडबाट च्याम्पियन्स लिग पनि जितेका छन्।

लुइस स्वारेज (उरुग्वे) 

उरुग्वेका लागि १३४ क्याप जित्दै ६८ गोल गरेका लुइस स्वारेज अलटाइम टप स्कोरर हुन्। ३५ वर्षे स्वारेजको कतार विश्वकप अन्तिम हो। उनले चारवटा विश्वकप खेलेका छन्। आयाक्स, लिभरपुल,बार्सिलोना र एथ्लेटिको मड्रिडमा व्यावसायिक फुटबल खेलेका उनले एउटा च्याम्पियन्स लिग जितेका छन्। अहिले उनी घरेलु क्लब नसिनाल क्लबमा खेलिरहेका छन्। उनी सन् २०१४ फिफा विश्वकपमा इटालीका डिफेन्टर जर्जियो केलिनीलाई काँधमा टोकेर आलोचित भएका थिए। उनी मेस्सी र रोनाल्डोको दबदबालाई तोड्दै युरोपियन गोल्डेन बुट जित्ने पहिलो खेलाडी समेत हुन्।

सर्जियो वुस्केट्स (स्पेन)
एकपटक विश्वकप र दुईपटक युरोकप च्याम्पियन स्पेनिस टिमका पूर्व कप्तान सर्जियो वुस्केट्सलाई पनि अबबाट विश्वकपमा देख्न नपाइने निश्चित भइसकेको छ। शान्त शैलीमा उत्कृष्ट  मिडिफिल्डरको भूमिका निभाउने वुस्केटसले कतार विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन्। स्पेनिस क्लब बार्सिलोनाका कप्तानसमेत रहेका उनलाई पनि अन्डररेटेड खेलाडीको उपनामले चिनिन्छ। स्पेनले सन् २००८ र १२ को युरोकप तथा सन् २०१० को विश्वकप जित्दा टिमका लागि उच्च प्रदर्शन गरेका वुस्केट्स टेक्निकल खेल शैलीले धेरै चर्चित छन्।

म्यानुयल नुयेर (जर्मनी)
एउटा यस्तो गोलकिपर जो मेस्सी र रोनाल्डोलाई चुनौती दिँदै वालोन डि ओरको शीर्ष तीनमा पर्न सफल थिए। ३६ वर्षे म्यानुयल इतिहासकै  उत्कृष्ट गोलकिपर मध्येका एक हुन्। आफ्नो उच्च प्रदर्शनमा टिमलाई सन् २०१४ मा विश्व विजेता बनाएका उनले प्रतियोगितामा गोल्डेन ग्लोभ्स पनि जितेका थिए। घरेलु क्लब वायर्न म्युनिखबाट खेल्ने उनी सन् २०१४ मा बालोन डी ओरको शीर्ष तीनमा पर्ने गोलकिपर समेत बनेका थिए, तर उनी पोर्चुगिच कप्तान क्रिष्टियानो रोनाल्डोसँग पछि परेर उक्त अवार्ड भने जित्न सकेनन्। कतार विश्वकप उनको चौथो तथा अन्तिम विश्वकप हो।

रोवर्ट लेवान्डोस्की (पोल्यान्ड) 

पोल्यान्डका कप्तान लेवान्डोस्की पनि उत्कृष्ट खेलाडी हुन्। दुई पटकका युरोपियन गोल्डेन बुट विजेता लेवान्डोस्की मेस्सी र रोनाल्डोका कारण छायामा परेको मान्ने गरिन्छ। टिमका लागि धेरै गोल गर्ने लेवान्डोस्की पोल्यान्डका अल टाइम टप स्कोरर हुन्। साथै उनी वायर्न म्युनिखमा गर्ड मूलरपछि सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्। अहिले उनी स्पेनिस क्लब बार्सिलोनामा खेलिरहेका छन्। दुईवटा विश्वकप खेलेका लेवान्डोस्कीको विश्वकप यात्रा सुखद् हुन सकेन तर क्लब फुटबलमा गरेको प्रदर्शनका कारण उनलाई मन पराउने करोडौं समर्थकहरु छन्।

ड्यानी आल्भेस (ब्राजिल)
उत्कृष्ट अट्याकिङ डिफेन्डरका रुपमा रहेका ३९ वर्षे ड्यानी आल्भेसले पनि विश्वकपबाट बिदा लिएका छन्। चोटका कारण उनले सन् २०१० र १४ गरी दुईवटा मात्रै विश्वकप खेल्न पाए। स्पेनिस क्लब बार्सिलोनाबाट आफूलाई संसारमाझ  चिनाउन सफल उनी सर्वाधिक उपाधि जित्ने एकमात्र खेलाडी हुन्। उनले आफ्नो खेलजीवनमा ४३ उपाधि जितेका छन्। उनलाई अर्जेन्टिनाका कप्तान मेस्सीले ४२ उपाधि जितेर पछ्याइरहेका छन्। च्याम्पियन्स लिग विजेता आल्भेसले पीएसजी र युभेन्टसमा पनि व्यावसायिक खेल जीवन बिताएका थिए।

थोमस मुलर (जर्मनी)
जर्मन फुटबल इतिहासकै महान खेलाडीको छवि बनाएका थोमस मुलरले विश्वकपबाट पनि विदाइ लिएका छन्। ३३ वर्षे मुलरले सन् २०१० को विश्वकपमा सर्वाधिक पाँच गोल गर्दै गोल्डेन बुट र उत्कृष्ट युवा खेलाडीको अवार्ड पनि जितेका थिए। मिडिफिल्ड लाइनमा उत्कृष्ट प्रदर्शन गर्ने मुलरको प्रेरणादायी प्रदर्शनमा जर्मनी सन् २०१४ मा विश्व विजेता समेत बनेको थियो। घरेलु क्लब वायर्न म्युनिखमा खेल्ने मुलरले च्याम्पियन्स लिग पनि जितेका छन्। एक असल लिडर तथा नयाँ पुस्ताका खेलाडीका लागि प्रेरणाका स्रोत बनेका मुलर धेरै गोल गर्ने मिडफिल्डर समेत हुन्।

प्रकाशित: Dec 20, 2022| 17:54 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।