काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीविरुद्ध महाभियोग लगाउने अन्तिम तयारी गरेका छन्।
नेकपाको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा महाअभियोगका विषयमा छलफल चलिरहेको छ। नेकपाका एक सांसदका अनुसार महाअभियोग लगाउनुपर्ने पक्षमा अधिकांश नेकपा सांसदको दबाब छ। उनका अनुसार पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको आदेश आएलगत्तै महाअभियोग दर्ता गरिनेछ।
तत्कालीन कायममुकायम प्रधानन्यायाधीश जोशीलाई प्रधानन्यायाधीशका लागि न्याय परिषद् हुँदै संवैधानिक परिषद्ले सिफारिस गरे पनि संसदीय सुनुवाइ विशेष समितिले गत १८ साउनमा उनलाई बहुमतले अस्वीकृत गरेको थियो।
उनको नाम समितिले अस्वीकृत गर्दा विदामा बसेका थिए भने न्यायपरिषद्ले ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरी संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गर्दा जोशीले सर्वोच्च अदालतमा स्वागत गरेका थिए।
सुनुवाइ विशेष समितिले मिश्रलाई प्रधानन्यायाधीशमा अनुमोदन नगरे पनि उनी सर्वोच्च अदालतमा वरिष्ठतम न्यायाधीशका रूपमा जिम्मेवारी बहन गर्दै आएका थिए।
जोशीलाई महाभियोग लगाउन नेकपाका सांसदरूले हस्ताक्षर संकलन गरेर पार्टी नेतृत्वलार्इ बुझाइसकेका छन्। नेकपा संसदीय दलको कार्यालयमा सिंहदरबारमा समेत उपस्थित सांसदहरूलाई खाली पानामा हस्ताक्षर गराइएको थियो।
हस्ताक्षर अभियानको नेतृत्व नेकपाका उपनेता सुवास नेम्वाङले गरेका थिए। महाभियोगको प्रस्ताव दर्ता गर्न एक चौथाइ अर्थात् ८३ जना सांसदको हस्ताक्षर आवश्यक पर्छ। संसदमा नेकपाका २१४ जना सांसद छन्।
जोशीलाई राजिनामा दिन दबाब दिइएको थियो। राजिनामा दिएर स्वेच्छिक रूपमा बाहिरिए महाभियोग भोग्नु नपर्ने उनलाई सुझाव दिए पनि उनले सामना गर्ने बताउँदै आएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४