धनगढी- बैतडीको पाटनमा शनिबार मृत फेला परेका शिक्षक धनबहादुर विष्टको शव नबुझेर आफन्त र विद्यार्थी आन्दोलित बनेका छन्।
शिक्षक विष्टको शंकास्पद मृत्यु भएको भन्दै आफन्तले घटनाको सत्यतथ्य छानबीन गर्न माग गरेका हुन्।
शिक्षक विष्टको मृत्यु नभइ हत्या भएको परिवारजनले आशंका गरेको छ। मृतक विष्टको शरीरभरी निलडाम भएकाले उनको हत्या भएको मृतकका आफन्त लिला विष्टले बताइन् ।
मृतक शिक्षक विष्टको दाँत टुटेको र मुखमा समेत घाउ रहेकाले उनको हत्या गरेर शव फालेको आशंका रहेको मृतकका भतिजा लोकेन्द्र विष्टले बताए। ३० वर्षसम्म शिक्षण पेशामा संलग्न रहेको ठाउँमा शिक्षकको मृत्यु हुँदासमेत कसैले चासो नलिएको विष्टको गुनासो रहेको छ।
बैतडीको सुर्नया गाउँपालिका-२ ग्वानी घर भइ कृष्ण मावि पाटनमा कार्यरत शिक्षक विष्ट शनिबार दिउँसो मृत अवस्थामा फेला परेका थिए। कृष्ण माविकै छात्रवास भवन पछाडि भिरालो ठाउँमा उनको शव फेला परेको थियो।
विष्ट मृत फेला परेपछि यहाँका विद्यार्थी आन्दोलित भएका हुन्। विद्यार्थी र उनका आफ्न्तले उनको लडेर मृत्यु नभई हत्या भएको आंशका गर्दै शोमबार शान्तिपूर्ण आन्दोलन गरेका छन्। ‘धनबहादुर सरलाई न्याय दे, हत्यारालाई कारबाही गर’, लगायतका नारा लगाउँदै कृष्ण माविको गेटबाट इलाका प्रहरी कार्यालय पाटनसम्म कृष्ण मावि, पाटन बहुमुखी क्याम्पस र भीमदत्त प्राविधिक शिक्षालयका विद्यार्थीहरुले र्याली निकालिएको थियो।
शिक्षक विष्टले हत्यारा पत्ता नलागेसम्म स्थानीय सरकार र स्थानीय प्रशासनमा धर्ना जारी राख्ने विद्यालर्थीहरूको दाबी छ। शान्तिपूर्ण आन्दोलन नसुने कडा खालका आन्दोलन गर्ने विद्यार्थी दीप विष्टले चेतावनी दिए।
शवको पोष्टमार्टम गरिएको भए पनि आफन्तले शव बुझ्न मानेका छैनन्। मृतकका छोरा क्यानडामा रहेकाले उनी पनि नेपाल फर्किरहेको बताइएको छ।
घटनाका बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।