शुक्रबार, जेठ ४, २०८१

मेस्सीको 'पर्फेक्ट इन्डिङ'

शानदार खेल जीवन बिताएका मेस्सीले विश्वकपबाहेक सबै प्रतियोगिताको उपाधि जितिसकेका थिए। हुन त विश्वकप उपाधिबिना पनि मेस्सी फुटबलका हस्ती हुँदै हुन्। तर विश्वकप संसारको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता हो र यसलाई मेस्सी आफैं जित्न चाहन्थे।
 |  सोमबार, पुस ४, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

सोमबार, पुस ४, २०७९

काठमाडौं- 'यो विश्वकप मेरो अन्तिम विश्वकप हो। सायदै अब म अर्को विश्वकपमा सहभागी हुनेछु। अहिले म विश्वकप पर्खिरहेको छु र यसलाई लिएर म केही नर्भस पनि छु। किनकी मैले यसको बारेमा धेरै सोचेको छु। हामी मजबुद टिमका साथ कतार जाँदैछौं। हामीसँग जित्नुबाहेक कुनै विकल्प छैन।' कतारमा फिफा विश्वकप सुरु हुनुअघि २६ सदस्यीय जम्बो टोलीको घोषणा गरेर कतार जाने बेला अर्जेन्टाइन कप्तान लियोनेल मेस्सीले भनेका थिए।

triton college

शानदार खेल जीवन बिताएका मेस्सीले विश्वकपबाहेक सबै प्रतियोगिताको उपाधि जितिसकेका थिए। हुन त विश्वकप उपाधिबिना पनि मेस्सी फुटबलका हस्ती हुँदै हुन्। तर विश्वकप संसारको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता हो र यसलाई मेस्सी आफैं जित्न चाहन्थे। सर्वाधिक सात पटकका बालोन डी'ओर विजेता मेस्सी आफूलाई बालोन डी'ओरभन्दा विश्वकप उपाधि नै विशेष हुने बताउँथे।

एउटा खेलाडीको रुपमा हेर्दा मेस्सीको जस्तो करिअर सबै खेलाडीका लागि एउटा सपना हो। बालोन डी'ओर, युरोपियन गोल्डेन बुट, फिफा बेस्ट प्लेयर, च्याम्पियन्स लिग, कोपा अमेरिकाजस्ता उपाधि र अवार्ड जितिसकेका मेस्सी फुटबलका महान् खेलाडी भइसकेका छन्। तर मेस्सी त्यतिमा मात्रै सीमित हुन चाहँदैनथे। केही वर्षअगाडि मेस्सीले भनेका थिए, 'मैले धेरै बालोन डी'ओर तथा अन्य अवार्ड र उपाधि जितिसकेको छु। तर मलाई एक पटक विश्व विजेता बन्ने सपना छ। अब म विश्वकप उपाधि जित्न चाहन्छु।' त्यसैले अब उनको एउटैमात्र सपना थियो- अर्जेन्टिनाको जर्सीमा विश्व विजेता बन्ने।

कोपा अमेरिका च्याम्पियन तथा ३५ खेल अपराजित खेलेको  जस्ता बलिया आधार लिएर मेस्सीको टिम कतारको मैदानमा आएको थियो। उच्च लयमा रहेको अर्जेन्टिनाका लागि विश्वकपको सुरुवात भने सुखद् हुन सकेन। समूह सी मा रहेको अर्जेन्टिना समूह चरणको पहिलो खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी साउदी अरेबियासँग २-१ गोल अन्तरले पराजित भयो। त्यसपछि मेस्सीले आफ्नो नेतृत्वमा टिमको अपराजित यात्रालाई ३५ खेलभन्दा धेरै लैजान सकेनन्। अर्जेन्टिनालाई पराजित गरेको टिम साउदीका प्रशिक्षक हर्भ रेनार्डले 'अर्जेन्टिना अर्को खेलदेखि बलियो भएर कमब्याक गरे उपाधि जित्छ' भनेका थिए। 'यो टिम एक पराजयले अझै धेरै मजबुद बनेको छ। यदि उसले राम्रो कमब्याक गर्न सके उपाधि जित्नेछ,' उनको भनाइ थियो।

उपाधि जित्न आएको टिमको पहिलो खेलमै फितलो प्रदर्शन भएपछि अर्जेन्टिनालाई समूह चरण पनि पार गर्न नसकेको भनेर हियाइएको थियो। त्यसपछि अर्जेन्टिना फरक रुपमा मैदानमा निस्कियो। जित्नैपर्ने दबाबको अवस्थामा रहेको अर्जेन्टिनाले वास्तवमै उत्कृष्ट कमब्याक गर्‍यो पनि। पोल्यान्ड र मेक्सिकोलाई पराजित गरेको अर्जेन्टिनाले नकआउट चरणमा अष्ट्रेलिया, नेदरल्यान्ड्स र क्रोएसियालाई पराजित गर्दै फाइनलसम्मकै यात्रा तय गर्न सफल भयो। त्यसक्रममा कप्तान मेस्सीको प्रदर्शन उल्लेखनीय रह्यो। समूह चरणदेखि नकआउट चरणका सबै खेलमा गोल गर्दै मेस्सीले टिमलाई फाइनल पुर्‍याउन विशेष भूमिका निभाए।

corrent noodles
Metro Mart

विश्वकप जित्ने सपना लिएका मेस्सी दोस्रो पटक फाइनल पुग्न सफल भए। यसअघि सन् २०१४ मा फाइनलमा पुगेको अर्जेन्टिना जर्मनीसँग थप गरिएको अन्तिम समयमा गोल बेहोर्न पुगेपछि पराजित भएको थियो। त्यसैले यस पटक उनलाई अन्तिम मौका थियो। मेस्सीका लागि फाइनलमा प्रतिद्वन्द्वी थियो साविक विजेता फ्रान्स। फ्रान्स आफैंमा बलियो टोली हो। केलियन एम्बाप्पेको टिम इंग्ल्यान्ड तथा  अन्य बलिया टिमलाई पराजित गरेर फाइनलसम्म आएको थियो। 

लुसेल रंगशालामा आइतबार राति मेस्सीका लागि आफ्नो सपना पूरा गरेर सुखद् अन्त्य गर्ने मौका थियो। फाइनल खेलको पहिलो हाफ आफ्नो पक्षमा पार्दै २-० गोलको अग्रता लियो अर्जेन्टिनाले। मेस्सी र एन्जल डी मारियाको गोलमा अर्जेन्टिनाले सुरुवाती अग्रता लिएको थियो। त्यसपछि दोस्रो हाफको अन्तिम समयमा सम्हालिन नसक्दा अर्जेन्टिना र फ्रान्स २-२ गोलको स्थितिमा पुगे। खेल अतिरिक्त समयमा धकेलियो। प्रतिस्पर्धात्मक खेलमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई अग्रता दिलाए तर त्यो लामो समय टिक्न सकेन। त्यसको तीन मिनेटपछि एम्बाप्पेले पेनाल्टीमार्फत ह्याट्रिक गोल गर्दै खेल ३-३ को स्थितिमा पुर्‍याए।

खेल पेनाल्टीमा पुग्दा नायक बने अर्जेन्टाइन गोलकिपर इमिनो मार्टिनेज। दुई पेनाल्टी बचाउँदै उनले मेस्सीको सुखद् समाप्तिमा सबैभन्दा ठूलो योगदान दिए। खेल अर्जेन्टिनाले पेनाल्टीमा ४-२ गोलले जित्यो। लगातार तीन फाइनलमा पराजित भएपछि सन् २०१६ मा अर्जेन्टिनाको जर्सीमा संन्यासको घोषणा गरेका मेस्सीले संन्यास फिर्ता गरेर पनि आफ्नो सपना पूरा गरे। २० वर्ष उच्चस्तरमा फुटबल खेलेका मेस्सीले अन्तत: आफ्नो अन्तिम विश्वकपमा उपाधि जित्न सफल भए। विश्वकप उपाधि जितेपछि मेस्सी पूर्ण खेलाडी बनेका छन्। उनले सहभागिता जनाएका सबै ठूला प्रतियोगिताको उपाधि जितेका छन्।

'यो मेरा लागि अविश्वसनीय पल हो। मलाई विश्वास थियो- भगवानले मेरा लागि यो समय पनि राखिदिएका छन् भनेर। यो मेरा लागि सबैभन्दा विशेष समय हो। म मेरो करिअरको अन्त्य एउटा विश्वकप उपाधिबाट गर्न चाहन्थें, जुन आज पूरा भएको छ। अब मलाई केही पनि चाहिँदैन,' उपाधि जितिसकेपछि मेस्सीले भने।

मेस्सीलाई सामाजिक सञ्जालमा उनका साथी तथा करोडौं समर्थकहरुले शुभकामना दिइरहेका छन्। बार्सिलोनामा रहँदाका उनका सहकर्मी ब्राजिलियन डिफेन्डर ड्यानी आल्भेसले फुटबलको जित भएको बताएका छन्। इन्स्टाग्राममा उनले लेखेका छन्,  'मैले यो लेख्दै गर्दा संसारले जे सोच्छ मलाई मतलब भएन। प्रिय मेस्सी ! तिमीलाई संसारले माया गरेको छ। साथै फुटबल जगतले पनि गरी नै रहेको छ। धेरै बधाई छ तिमीलाई। फुटबलले तिम्रो लागि यो दिन पर्खिरहेको थियो। यो तिम्रो विशेष क्षण हो र यसलाई मज्जाले मनाउ। तिमी अब पूर्ण खेलाडी भएका छौ।' 

प्रकाशित: Dec 19, 2022| 15:36 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।