सुनसरी- सुनसरीको सीमावर्ती क्षेत्र भुटाहामा भारतीय गाडीमा आएका हतियारधारीले गोली चलाएर स्थानीय स्कुल सञ्चालक कुर्सिद अन्सारी हत्याको आधा घण्टापछि मात्रै प्रहरी आएको स्थानीय बासिन्दाको गुनासो छ।अन्सारीको एकल स्वामित्व भएको रैय्यान नेसनल बोर्डिङ स्कुलका प्रिन्सिपल विकासकुमार गुप्ताले प्रहरीलार्इ घटनाको जानकारी भए पनि निकै ढिलो आएको बताए।
मृतकका छोरा रासिद अन्सारीले पनि प्रहरीले घटनास्थलमा आउन जानाजान ढिला गरेको बताए। आफूहरूले गोलीको खबर थाहा पाएको धेरैपछि मात्रै प्रहरी आएको पीडित अन्सारीले बताए।
'प्रहरीको ढिलाइले सुटर फरार'
प्रहरीको ढिलाइले दोषी उम्केको बताउँदै स्थानीय बासिन्दाले लास उठाउन अझै दिएका छैनन्। स्थानीय सञ्चारकर्मी नुसाद अन्सारीका अनुसार प्रहरीले ढिलाइ गरेको भन्दै स्थानीय आक्रोशित छन्। उनी भन्छन्, ‘गोली लागेको खबरले विराटनगरबाट आफन्त आएपछि मात्रै प्रहरी आयो।’

विराटनगरबाट चिमडीको २५ किलोमिटर हाराहारीको बाटो हुँदै आएका आफन्तपछि मात्रै सात सय मिटर पर रहेको भुटाहा प्रहरी कार्यालयबाट प्रहरीहरू आएको अन्सारीले बताए। प्रहरी ढिला घटनास्थलमा पुगेर मात्रै सूचना बाहिर आएको अन्सारीले बताए। अन्सारीका अनुसार गोली प्रहार ११ बजे आसपास भएको थियो। तर, प्रहरी र सञ्चार माध्यममा आएका समाचारमा ११:४५ बजे उल्लेख छ। त्यसको कारण प्रहरीले ढिलो आएर दिएको रिपोर्ट भएको विद्यालयका विज्ञान शिक्षक सञ्जीवकुमार गुप्ताले बताए। ‘आज हाम्रो स्कुल बिहान ८ बजे नै बन्द गरियो र १० बजेबाट १ घण्टा अभिभावक मिटिङ भयो,’ शिक्षक गुप्ताले भने, ‘उहाँ निस्केर गाडीमा चढी नसक्दै गोली चल्यो।’
भुटाहा बजारबाट दुर्इ सय मिटरनजिक रहेको आफ्नै स्कुल अगाडि अन्सारीलार्इ गोली हान्ने अपराधीहरू भुटाहा प्रहरीले शुरुवातमै खोजी नगर्दा भागेको स्थानीय अर्सद अलीले बताए। उनका अनुसार भुटाहाबाट भागेका भारतीय अपराधीहरू दक्षिणी सीमामा रहेको प्रहरीलार्इ जानकारी दिएपछि उनीहरूले रोक्न खोजे। तर, हतियारधारी अपराधीलार्इ गोली हान्न स्थानीय बासिन्दाले दबाब दिए पनि प्रहरीले आदेश नभएको भन्दै नहानेको एक प्रत्यक्षदर्शीले बताए। गोली हान्ने आदेश नभएकाले नै प्रहरी शिवलाल पौडेललार्इ खुट्टामा गोली लागेको स्थानीयवासीले बताएका छन। धरानमा उपचाररत प्रहरी जवान पौडेलको अवस्था खतरामुक्त रहेको डाक्टर देवेन्द्र गौतमले बताए।
एउटा मात्रै बाइक हुँदा समात्न सकिएनः असर्इ चौधरी
भुटाहा प्रहरी कार्यालयका असर्इ श्रवणकुमार चौधरीले आफ्नो प्रहरी कार्यालयमा एउटा मात्रै बाइक भएकाले बाइकमा आएका बन्दुकधारी समयमै पक्राउ गर्न नसकेको बताए। तर, स्थानीयवासीले भनेजस्तो प्रहरी ढिला पुगेको आरोप भने असर्इ चौधरीले स्वीकारेनन्। उनले भने, ‘हामी सामान्य कुटपिटका घटना हुँदा त खबर पाउनासाथ पुग्छौं। गोली हानिएको घटनामा नपुग्ने कुरै हुँदैन।’
२ वटा खाली नम्बर प्लेटको बाइकमा थिए सुटर
भारतसँग जोडिएको हरिनगरा गाँउपालिका-२ स्थित भुटाहा बजार भारतसँग नजिक छ। भुटाहाबाट पश्चिमतर्फ तसमलिया भन्ने भारतीय बोर्डर पाँच किलोमिटर पर पर्छ। यस्तै, घुर्नी भन्ने नेपालको घुस्कीसँग जोडिएको भारतीय बोर्डर १० किलोमिटर उत्तरतिर पर्छ। यही घुर्नी जाने बाटैमा रहेको रैय्यान नेसनल स्कुल अगाडि अन्सारीको हत्या गरियो।
हत्या हुनुअघि दुर्इ भारतीय खाली नम्बर प्लेटका गाडीहरू वारपार गरेको स्थानीय सञ्चारकर्मी नुसाद अन्सारीले बताए। अन्सारीका अनुसार दुवै नम्बर प्लेट भारतीय भए पनि साधा र कुनै नम्बर राखिएका थिएनन्। ‘खाली नम्बर प्लेटमा अपराधी आउनु, प्रहरी घटनास्थलमा ढिलो आउनु र बोर्डरमा गोली हान्ने आदेश छैन भन्दै हत्यारालार्इ छाड्नु धेरै रहस्यमय छ,’ स्थानीय एक मुस्लिम अगुवाले भने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४