काठमाडौं- नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको छ। आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो।
संसदीय दलको नेता चयन, समसामयिक राजनीति, भावी रणनीति र नयाँ सरकारबारे छलफल गर्न बैठक बोलाइएको पार्टीले जनाएको छ।
एकीकृत समाजवादीले प्रतिनिधि सभामा १० सिट जितेको छ। संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन हुने सम्भावना छ।
साथै आइतबार एकीकृत समाजवादीले सचिवालय बैठक गरेको थियो। विचार मिल्ने दलहरूसँग एकतावद्ध भएर जाने विषयमा उक्त बैठकमा छलफल भएको थियो।
सचिवालय बैठकले समान विचार भएका राजनीतिक दलसँग एकताबद्ध भएर बलियो सशक्त कम्युनिष्ट पार्टी निर्माण गर्ने निर्णय गरेको हो। पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको सचिवालय बैठकले स–साना छरिएका कम्युनिष्ट पार्टी, वामपन्थी शक्तिका साथै समान राजनीतिक दृष्टिकोण भएका समूहलाई एकजुट गर्ने निर्णय गरेको थियो।
बैठकमा सत्ता गठबन्धनलाई एकताबद्ध गरि साझा उम्मेदवारको नेतृत्वमा सरकार निर्माण गर्ने विषयमा छलफल भएको थियो। यस्तै, निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणामको चुनावी समीक्षा, मुलुकको समसामयिक राजनीतिक अवस्था तथा आगामी दिनमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे पनि बैठकमा छलफल भएको थियो।