शुक्रबार, साउन १, २०८३

किन हामी अरिंगाल बनेनौं?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरूलाई अरिंगालझैं बन्न सुझाएपछि पार्टीभित्र र बाहिर निकै तरंग पैदा भएको देखिन्छ। कार्यकर्ताहरूको दृष्टिकोणमा सरकारका व्यवहार र कार्यशैलीगत प्रश्नहरूले ठाउँ पाएको भए पनि सारभूत विषयमा कसैको विमति छैन। तर, पार्टीबाहिर खासगरी प्रतिपक्षी दल र आलोचकहरूले दिग्भ्रमित व्याख्या गरेर सरकारविरुद्धको निशाना सोझ्याइरहेको देखिन्छ। प्रष्ट छ, यस्तो प्रचारको आयु लामो हुने छैन, निशानामा पुग्नुभन्दा पहिले नै तीरहरू प्रहारकर्ताको ठोक्रामा फर्कनेछन्।

शब्द निकै प्रतीकात्मक छ। पार्टीको नीति तथा सिद्धान्तको रक्षा र सम्बद्र्धनका लागि तथा आफ्नो पार्टीको नेतृत्वमा बनेको दुई तिहाइको सरकारलाई कार्यकर्ताको पूर्ण समर्थनको पुनर्पुष्टि गर्न र विरोधीहरूको कुप्रचारको प्रतिवादका लागि अरिंगालको गोलो खनिएझैं विचार र तर्कका आधारमा राजनीतिक प्रतिवाद गर्न भनिएको प्रतीकात्मक शब्दावलीले एक आक्रामक बिम्बको निर्माण गरिदिएको छ। तसर्थ, विपक्षीहरू अब नेकपाका कार्यकर्ता एकजुट भएर खोटा विचारहरूको धज्जी उडाउलान् र षडयन्त्रलाई निस्तेज पार्लान् भनेर डराएका छन्।

कार्यकर्ताको जागरुकता, सामूहिकता र ऊर्जाशील परिचालनद्वारा सरकारलाई एक्ल्याउने कुप्रयासलाई असफल पार्न अरिंगालको शैली अनुकरण गर्न भनिएको कुनै नयाँ कुरा होइन, विगतका सबै सरकारहरूले आफ्ना पार्टीका कार्यकर्ताहरूलाई सरकारको पक्षमा लाग्न अरिंगाल बनाउँदै आएका हुन्। यो दलीय राजनीतिको मर्यादाभित्रैको आचार हो। यसमा प्रधानमन्त्रीको अभिव्यक्ति अलिकति पनि गलत छैन।
 

 उदात्त भावनाले सरकार सञ्चालन गर्दा पार्टीका जोदाहा अरिंगालहरू जुरुक्क उठ्नेछन्। र, जनसमर्थनको आयाम स्वतःस्फूर्त विस्तारित हुनेछ भन्ने कुरामा कुनै शंका छैन।


नेकपाका कार्यकर्ताहरू पार्टीका नीति, सिद्धान्त र कार्यक्रमहरूको रक्षा गर्ने प्रतिबद्ध, चिन्तनशील, राजनीतिक, वैचारिक र समर्पित अरिंगालहरू हुन्। यी जंगली अरिंगाल होइनन्, जो खानका लागि बाँच्छन्। यी त  प्रगतिशील सामाजिक रूपान्तरणका सम्वाहकहरू हुन्। कम्युनिस्ट आन्दोलनको रक्षा, विकास र सफलताका लागि समर्पित, सिद्धान्त तथा देशका पहरेदार हुन्। र, सामाजिक अन्धकार चिर्ने ज्योतिपुञ्ज हुन्।

आजसम्म यिनीहरूकै संघर्ष र बलिदानले विजय प्राप्त गरिएको छ। र, देश र जनताको सेवा गर्ने सुन्दर अवसर प्राप्त छ। सबै सफलताका कथाका पत्रहरूमा अरिंगाल–आक्रमणजस्तै सामूहिक सहभागिता र समर्पणको गौरवपूर्ण गाथा लुकेको छ। आज प्रत्येक नेकपा कार्यकर्तालाई ‘तिमी माक्र्सवादी सिद्धान्त र समाजवादी  आन्दोलनको रक्षा गर्ने आक्रामक अरिंगाल हौ’ भन्यो भने उसले गर्व गर्नेछ। यही परिप्रेक्षमा प्रधानमन्त्रीले आफ्नो कार्यकर्ताहरूभित्र विविध कारणहरूले उत्पन्न सुषुप्तिलाई जगाउन प्रयास गर्दा पार्टीको कर्मशीलतामा तरंग पैदा भएको छ। जनता र कार्यकर्ता नै सक्कली अरिंगालहरू हुन्, जसको गोलामा निरंकुशता र तानाशाहीको ढुंगा प्रहार गर्नेहरूलाई समाप्त गरेर उनीहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरिसकेका छन्।

आजको राजनीतिक संघर्षको अन्तर्यमा प्रधानमन्त्रीको शब्द होइन, विरोधीहरूको नियत खोज्न जरुरी छ। गौमनझैं फणा फिँजाएर सरकारविरुद्धमा उभिएकाहरूलाई असफल बनाउन नेकपाका कार्यकर्ताहरू अरिंगालजस्तै भएर लाग्दा त्यो कुनै अस्वाभाविकता हुने छैन। र, समाजमा व्याप्त अराजकतालाई न्यूनीकरण गर्न प्रयास गर्दा थोरै कडा कदम चाल्नुपर्‍यो भने पनि त्यो लोकतन्त्रको समाप्ति हुने छैन। बरु, अनाकर्षक र रंगहीन बन्न लागेको अराजक लोकतन्त्रलाई सुसंस्कृत, सजीव र रंगमय बनाउने सार्थक प्रयास हुनेछ।

तथापि, केही प्रश्नहरू आज पनि ज्यूँ का त्यूँ छन्। किन कार्यकर्ताहरू जागरुक देखिएनन्? किन प्रधानमन्त्रीले सरकारको पक्षमा बोलिदिन र लेखिदिन बारम्बार भनिरहनुपर्छ? के कार्यकर्तामा सरकार र पार्टीप्रति उत्साह समाप्त भएको हो? होइन, पार्टी पंक्ति आज पनि उत्तिकै सशक्त छ, जति हिजो थियो।



एकताको महान प्रक्रिया सम्पन्न भएको तथा कम्युनिस्ट आन्दोलन देशको एक अभेद्य किल्ला बनेकोमा उनीहरू गौरववोध गरिरहेका छन्। तर, प्रधानमन्त्रीले भनेजस्तो ‘अरिंगालको जति पनि बुद्धि छैन कि क्या हो’ भन्ने कसरी भए? यसको सबैभन्दा राम्रो उत्तर स्वयं प्रधानमन्त्री तथा अध्यक्षहरूसँगै हुनुपर्ने हो। यसभित्र सादृष्य र मनोवैज्ञानिक दुवै प्रकारका कारणहरू विद्यमान भएको देखिन्छ।

नेकपाका सचेत कार्यकर्ताहरू विश्लेषक, विवेचक र वस्तुगत संश्लेषक पनि हुन्। ठीक र बेठीक छुट्याउन सक्छन्। तिनको मनोबल माथि उठाउन र उत्प्रेरणा जागृत गर्न प्रधानमन्त्री तथा पार्टी नेतृत्वले के प्रयास गरेको छ? यसैभित्र उत्तरहरू अन्तरनिहित छन्।

पार्टीको संगाठनात्मक एकीकरण समयमै सम्पन्न नहुँदा लाखौं कार्यकर्ताहरू अन्योलमा परेका, ‘व्यक्ति छ पार्टी छैन’ भन्ने महशुस गर्न पुगेका र सशक्त अरिंगालहरू संगठित स्वरूपमा आउनै नसकेको परिस्थितिका जिम्मेवार पार्टीका कार्यकर्ताहरू होइनन्। प्रधानमन्त्रीय प्रणालीको नाममा सरकारको निर्णय प्रक्रियामा पार्टीको अवमूल्यन भएर नकारात्मक असर परेको भए, सरकार आफैं पहिले उत्तेजनामा बोल्ने, कलात्मक प्रस्तुति नदिने र पछि लल्याकलुलुक बन्ने काम भएको भए, जनताको दैनिक जीवनलाई सुशासनको प्रत्याभूति दिन सफलता प्राप्त नगरेको भए, सरकारका विवादास्पद नियुक्ति र निर्णयहरूले लोकप्रियता  खस्केको भए, पार्टी अध्यक्षको रूपमा प्रधानमन्त्रीद्वारा योग्य, सक्षम र विधिसम्मत रूपमा जिम्मेवारी वहन गर्ने स्थितिमा आइपुगेका कार्यकर्तालाई  पक्षपात र पूर्वाग्रहपूर्ण व्यवहार गरिएको छ र गरिनेछ भन्ने असन्तोष वृद्धि हुने गतिविधि भएको भए यो परिस्थितिका जिम्मेवार पनि कार्यकर्ताहरू होइनन्।

आम नेतृत्व पंक्तिको सल्लाह लिइँदैन र एउटा सानो घेराभित्र सम्पूर्णता खोजिन्छ भने यो पनि कार्यकर्ताको दोष होइन। यस्तो भइरहेमा कार्यकर्ताहरू परिवर्तनको सम्बल उठाउने अरिंगाल होइन, भिजेको मुसा बन्ने खतरा रहन्छ।

आज सिद्धान्ततः सरकारमा नेकपा विराजित छ र व्यवहारमा केही व्यक्तिले यो जिम्मेवारी वहन गर्दैछन्। तर, विडम्बनाको कुरा छ, सरकार गठन गर्ने र वार्षिक बजेट पारित गर्ने सांसदहरू बजेट निर्माणमा समेत अपनत्व ग्रहण गर्न सक्दैनन्। जनताको प्रतिनिधिहरू समेत उपेक्षित देखिने सरकारी परिवेशले कसैको उत्साह थपेको देखिँदैन। जहाँ उत्साह हुँदैन, त्यहाँ समर्थन पनि औपचारिक मात्र हुन पुग्यो भने त्यो अनौठो हुने छैन।

सत्ताको प्रत्यक्ष लाभ लिइरहेकाहरूले प्रशंसा गर्दा सरकार लोकप्रिय हुने भए प्रधानमन्त्री र मन्त्रीहरूलाई शायद सडकका अरिंगालहरूको आवश्यकता पर्ने नै थिएन।



सत्तासीन व्यक्तित्वहरू र सरकारी नियुक्ति तथा जिम्मेवारीबाट प्रत्यक्ष लाभ लिइरहेकाहरूले सरकारको प्रशंसा गर्दा सरकार लोकप्रिय हुने भए प्रधानमन्त्री र मन्त्रीहरूलाई शायद सडकका अरिंगालहरूको आवश्यकता पर्ने नै थिएन। बरु, सत्ताको जिम्मेवारी वहन नगरेका वा नगराइएका नेता, कार्यकर्ता र आम जनताबाट समर्थन पाएपछि मात्र सरकार लोकप्रिय हुन्छ भन्ने यथार्थ सबैले बुझेकै हुनुपर्छ।

आफ्ना साना स्वार्थहरू पूरा गर्न प्रधानमन्त्रीका ठूला सपनाहरूलाई बन्धकी राख्ने पंक्ति आफ्नै वरिपरि छन् कि छैनन् वा आफैं त्यो गतिमा हिँडिरहेको छु भन्ने कुरा अरूले भन्नु कठीन विषय हो। यसै सन्दर्भमा भागवत गीताको कर्मयोगमा लेखिएको एउटा श्लोक सम्झनु सान्दर्भिक छ, जहाँ अर्जुनलाई श्रीकृष्णले  यसरी ज्ञान प्रदान गरेका छन्–

कर्मेन्द्रियाणी संयम्य य आस्ते मनसा स्मरन्।
इन्द्रियार्थान्विमुढात्मा मिथ्याचार स उच्यते।


अर्थात्, ‘जसले कर्मेन्द्रीयहरूलाई अधीनमा राखेको छ तर मनले इन्द्रीयका विषयहरूको मात्र चिन्तन गरिरहन्छ, त्यसलाई मिथ्याचार भनिन्छ र यसले आफैंलाई धोका दिइरहेको हुन्छ।’

हाम्रा प्रधानमन्त्रीले कर्मेन्द्रीय र ज्ञानेन्द्रीय सबैलाई एकात्मक बनाई मनसा, वाचा र कर्मणा उदात्त भावनाले सरकार सञ्चालन गर्दा पार्टीका जोदाहा अरिंगालहरू जुरुक्क उठ्नेछन्। र, जनसमर्थनको आयाम स्वतःस्फूर्त विस्तारित हुनेछ भन्ने कुरामा कुनै शंका छैन। प्रधानमन्त्रीलाई उहाँले नै भनेजस्तो ‘असफल’ हुने छुट छैन। तसर्थ, गीताको श्लोकले भनेजस्तो हुन नदिनु सबैका लागि हीतकर छ। धन्यवाद।

(लेखक नेकपाका केन्द्रीय सदस्य हुन्)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।