काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको निर्वाचन ६ पुसमा हुने भएको छ। आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको निर्वाचन गर्न सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको छ।
कार्यदलमा केन्द्रीय सदस्यहरु पुष्पा भुसाल र प्रकाश रसाइली सदस्य छन्। कार्यसम्पादन बैठकअघि सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बसेको उपसभापति र महामन्त्रीद्वयको अनौपचारिक छलफलले ६ पुसमा संसदीय दलको नेता चयनको निर्वाचन गर्ने सहमति गरेको थियो।
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले आजै सरकार गठनका लागि आह्वान गरेकी छन्।
चार मंसिरमा भएको निर्वाचनबाट संविधानको धारा ७६ को उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले ७६ कै उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नको लागि २०७९ पुस १० गते आइतबार अपराह्न ५ बजेभित्र दाबी पेश गर्न राष्ट्रपतिले आह्वान गरेकी छन्।
संविधानको धारा ७६ को उपधारा २ मा प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने उल्लेख छ।