नेपाल-भारत सिमानामा घेराबारा गर्ने सन्देश बोकेको 'काँडेतार' फिल्म सुटिङका लागि लोकेसन खोज्दै थिएँ म। मसँगै थिए, पर्शुराम चौधरी, पर्शुराम यादवलगायत स्थानीय सहयोगीहरू। हामी भुटाहा बजार पुगेका थियौं।

मेरा एक साथी सुपारी किन्न ओर्लंदा गोली चलेको आवाज आयो। गोली चलाउने मानिस भारतीय राज्य विहारको नम्बरप्लेटको मोटरसाइकलमा थिए। पछाडि बसेको मानिसले गोली चलायो। पेस्तोलबाट गोली हानिएको थियो।
सुनसरी सदरमुकाम इनरुवाबाट १५ किलोमिटर टाढा पर्ने भुटाहा भारतको सीमाबाट नजिकै छ। त्यही भएर भारतीय अपराधीलार्इ स्थानीय नेसनल बोर्डिङ स्कुलका प्रधानाध्यापक हजिद कुर्दिस अन्सारीको हत्या गर्न सजिलो भएको हुन सक्छ।
हत्या भएको स्थान हामीभन्दा १२-१५ मिटर मात्रै पर थियो। प्रहरीकै अगाडि गोली हानियो। नजिकै रहेका प्रहरीले रोक्न खोज्दा उनको खुट्टामै गोली हाने। गोली प्रहार हुनासाथ मैले जिल्ला प्रशासनमा खबर दिएँ। हामी पनि त्रसित थियौं। गोली चल्नासाथ गाउँलेको भीड झुरुप्प भेला भयो। यस्तो दु:खद कुरामा मैले केही स्थानीय बासिन्दासँग कुरा गरें।
एमालेबाट समानुपातिकमा परेका स्थानीय नेता पर्शुराम यादवसँग पनि कुरा गरें। हत्या गरिएका अन्सारी निकै इमानदार छविका व्यक्तित्व रहेछन्।
(घटना भएको बखतका प्रत्यक्षदर्शी नायक नवल खड्कासँग नेपाल समयका प्रदेश-१ संयोजक विराट अनुपमले गरेको कुराकानीमा आधारित)
यो पनि पढ्नूस्
सुनसरीमा अज्ञात समूहको गोली प्रहारबाट प्रधानाध्यापक अन्सारीको हत्या