काठमाडौं– नेकपा एमालेका नेता तथा सांसद रघुजी पन्तले एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने प्रस्ताव गरेका छन्। एमालेका समानुपातिक सांसद पन्तले एमाले र कांग्रेस मिल्ने हो भने स्थिर सरकार दिन सकिने तर्क गरे।
आइतबार निर्वाचन आयोगमा आफू निर्वाचित भएको प्रमाणपत्र बुझेपछि पत्रकारहरूसँग छोटो कुरा गर्दै पन्तले कांग्रेस र एमालेले आलोपालोमा सहमति गरेर सरकार बनाउनु उपयुक्त हुने बताए। प्रतिनिधिसभामा कांग्रेसका ८९ र एमालेका ७८ जना सांसद छन्। यी दुई पार्टी मिले सहजै बहुमत पुग्छ।
चार मंसिरमा भएको निर्वाचनको अन्तिम परिणाम आएसँगै सरकार गठनका लागि विभिन्न विकल्पमा दलहरु छलफल गरिरहेका छन्। कुनै एक दलको बहुमत नआएकाले गठबन्धन सरकार बन्ने निश्चित छ। २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार बनाउन १३८ सांसद आवश्यक पर्छ।