काठमाडौं– निर्वाचन सकिएर सरकार गठनको प्रक्रिया सुरु हुनै लाग्दा दलहरु आफ्नै नेतृत्वका सरकार गठनका लागि बहुमत जुटाउन कसरत गरिरहेका छन्।
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस यो कसरतमा सबैभन्दा अगाडि छ। चार मंसिरमा सम्पन्न निर्वाचनबाट पहिलो पार्टी बनेको छ कांग्रेस। तर ऊसँग सरकार बनाउन पुग्ने बहुमत छैन। त्यसकारण वर्तमान गठबन्धनलाई निरन्तरता दिँदै आफ्नो नेतृत्वमा सरकार बनाउन चाहन्छ कांग्रेस।
प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सत्ता घटकका पाँच दल गठबन्धन बनाएर चुनावी मैदानमा होमिएका थिए। प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसद आवश्यक पर्छ। सत्तारूढ गठबन्धनसँग १३६ सांसद छन्। गठबन्धनलाई जनमत, नागरिक उन्मुक्ति वा स्वतन्त्र सांसदको समर्थनले पनि आवश्यक संख्या पुग्छ।
गणितीय हिसाबले हेर्दा वर्तमान गठबन्धनले नै सरकार बनाउन सक्ने देखिन्छ। तर, यसमा अर्को समस्या देखिएको छ। कांग्रेस र माओवादीबीच भावी सरकारको नेतृत्वको विषयमा विवाद देखिएको छ।
माओवादी अध्यक्ष प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने गरी पहिलो कार्यकाल आफ्नो पार्टीलाई दिन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेका छन्। तर, देउवाले यसै साता आफ्नो पार्टीको संसदीय दलको नेता चयन हुने र त्यसपछि मात्रै सरकारको नेतृत्वबारे छलफल गर्ने जवाफ दिएका छन्। शनिबार देउवालाई बालुवाटारमा भेटेर प्रचण्डले समग्र शक्ति बाँडफाँटको विषयबारे छलफल गर्दै सरकारको नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्। माओवादीमा प्रचण्ड संसदीय दलको निर्विकल्प नेता हुन्।
पार्टीमा संसदीय दलको नेता बन्न कसरत गरिरहेका देउवा प्रचण्डको दाबीले अप्ठ्यारोमा परेका छन्। पाँच वर्षको कार्यकाल आधा–आधा बाँडेर सरकारको नेतृत्व गर्ने विषयमा समझदारी बने पनि को पहिला प्रधानमन्त्री हुने भन्नेमा देउवा र प्रचण्डबीच सहमति जुट्न सकेको छैन। प्रत्यक्षमा १० सिट जिते पनि राष्ट्रिय पार्टी बन्न नसकेको नेकपा एसले भने प्रधानमन्त्रीमा दाबी गरेको छैन।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन्। माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरे पनि कांग्रेसले नै सरकारको नेतृत्व गर्ने उने बताए। ‘प्रचण्डजीले पनि प्रधानमन्त्रीका लागि इच्छा व्यक्त गर्नुभएको छ। त्यसलाई हामीले भन्न नमिल्ने भन्ने कुरा छैन। प्रधानमन्त्री भइसकेको व्यक्तित्व हुनुहुन्छ उहाँ। नेतृत्व गर्न पाए हुन्थ्यो भन्ने उहाँको इच्छा छ। त्यसलाई हामी सम्मान नै गर्छौं तर अहिलेको अवस्थामा नेपाली कांग्रेसको नेतृत्व स्वाभाविक ठर्हछ,’ उनले भने।
कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्रीको विषयले गठबन्धनमा असर नपर्ने बताए । ‘चुनावअघि पनि गठबन्धन टुट्छ कि भन्ने आशंका थिए, चुनावले गठबन्धनलाई अनुमोदन गर्यो। अहिले पनि प्रधानमन्त्रीको विषयलाई लिएर यस्ता आशंका उठ्न थालेका छन्। यसलाई चिरेर गठबन्धनकै नेतृत्वमा सरकार बनाउँछौं। प्रधानमन्त्रीको विषयले गठबन्धन टुट्ने–फुट्ने हुन्न,’ उनले भने।
पार्टीभित्र संसदीय दलको नेता नचुनिदै प्रचण्डले प्रधानमन्त्रीका लागि दाबी गरेका हुन् । कांग्रेसका दोस्रो तहका नेताहरूमार्फत यसको सन्देश बालुवाटार पठाउँदै आएका प्रचण्डले शनिबार देउवासँगै मुख खोलेका छन्।
शनिबार नै बालुवाटारमा आयोजित पार्टीका सांसदहरूको भेलामा देउवाले राष्ट्रिय राजनीतिका विषय गठबन्धनभित्र छलफल गरेर टुंग्याइने बताएका थिए। ‘राष्ट्रिय राजनीतिको विषयमा हाम्रो गठबन्धन जारी छ। गठबन्धनलाई जनताले अनुमोदन गरेका छन्,’ देउवाको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य कार्कीले भने, ‘चाँडै नै गठबन्धनको बैठक बसेर अरू कुराको निर्णय हुनेछ। निर्णयको जानकारी तपाईंहरूलाई गराउनेछु। प्रचण्डजीको भावना पनि गठबन्धनकै साथमा अघि बढ्नेछ। को प्रधानमन्त्री हुने भन्ने कुरामा सहज रूपमा सहमति हुन्छ।’
निर्वाचनबाट माओवादी तेस्रो तर निर्णायक शक्ति बनेको बताइरहेका अध्यक्ष प्रचण्डले आफूले नै आगामी सरकारको नेतृत्व गर्ने सार्वजनिक रूपमै बताउँदै आएका छन्। उधारो प्रधानमन्त्री पर्खिने मनस्थितिमा छैनन् प्रचण्ड। २०७४ सालको निर्वाचनमा एमालेसँगको गठबन्धनबाट प्रत्यक्षमै ३६ सिट जितेको माओवादी अहिले १८ सिटमा सीमित बनेको छ। प्रतिनिधिसभाका १६५ मध्ये माओवादीले ४६ सिटमा मात्रै उम्मेदवारी दिएको थियो। समानुपातिकसहित ३२ सिट रहेको माओवादी सरकारको नेतृत्वको च्याँखे थाप्ने दाउमा छ।
प्रतिनिधिसभामा अपेक्षित सिट ल्याउन नसके पनि राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको भूमिका निर्णायक रहेको दाबी गर्ने प्रचण्डले आफू प्रधानमन्त्री हुनका लागि विभिन्न पार्टीका दोस्रो तहका नेताहरुसँग छलफल गरिरहेका छन्। निर्वाचनको सबै परिणाम आइनसक्दै एमाले अध्यक्ष केपी ओलीको फोन कल पाएका प्रचण्डको विकल्पमा एमाले पनि छ। कांग्रेस वा एमाले जोसँग सहकार्य गरेर भए पनि पहिलो कार्यकाल आफैं प्रधानमन्त्री बन्ने प्रचण्डको चाहना छ। ओलीले पनि निकटस्थ नेताहरूमार्फत माओवादीसँग संवाद अघि बढाएका छन्। ओलीले माओवादीका महासचिव देव गुरुङमार्फत सत्ता गठबन्धन भत्काए सहकार्य गर्न सकिने सन्देश पठाइसकेका छन्। गुरुङले मंगलबार ओली निवास बालकोट पुगेर झन्डै दुई घण्टा छलफल गरेका थिए। एमाले उपाध्यक्ष विष्णु पौडेलले पनि केही दिनअगाडि खुमलटार पुगेर माओवादी अध्यक्ष प्रचण्डसँग सहकार्यका सम्भावित विकल्पमाथि छलफल गरेका थिए।
बिहीबारमात्रै प्रचण्डसँग नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाणले छलफल गरेका थिए। त्यसअघि प्रचण्डसँग कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस नेताहरू कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्कीले पनि छलफल गरेका थिए। जनमत पार्टीका अध्यक्ष सिके राउत र स्वतन्त्र सांसद प्रभु साह, अमरेशकुमार सिंहलगायतले पनि प्रचण्डसँग छलफल गरेका छन्। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रचण्डले जेलमै पुगेर भेटेका थिए। एमाले उपाध्यक्ष विष्णु पौडेल, सुवास नेम्वाङ, नेता रघुवीर महासेठलगायतले पनि प्रचण्डसँग छलफल गरेका छन्। यसको अर्थ आफू प्रधानमन्त्री हुन प्रचण्डले विभिन्न विकल्पमा छलफल गरिरहेका छन्।
संसद्मा कांग्रेसका ८९, एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२ र एकीकृत समाजवादीका १० जना सांसद छन्। जनमत पार्टीका ६, लोसपाका चार, नागरिक उन्मुक्तिका तीन, जनमोर्चा र नेमकिपाका एक–एक सांसद निर्वाचित भएका छन्। प्रभु साह, किरण साह, योगेन्द्र मण्डल, लालवीर चौधरी र अमरेशकुमार सिंह गरी पाँच सांसद स्वतन्त्र रुपमा निर्वाचित भएका छन्।
दुवै दलको आन्तरिक बैठक बस्दै
सत्ताको किचलो बढिरहेका बेला कांग्रेस र माओवादी दुवैले आज बैठक बोलाएका छन्। माओवादीको पदाधिकारी बैठक र कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्न लागेको हो।
माओवादीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे बस्ने तय भएको छ। माओवादी पदाधिकारी बैठकमा सरकार गठन र संसदीय दलको नेता चयनलगायत विषयमा छलफल हुने एजेन्डा रहेको छ। आजको बैठकले प्रचण्डलाई सर्वसम्मत रुपमा प्रधानमन्त्रीका लागि सिफारिस गर्ने बताइएको छ। प्रधानमन्त्रीमा आफूलाई सहयोग गर्न देउवासमक्ष प्रस्ताव गरेलगत्तै प्रचण्डले पदाधिकारी बैठक राखेका हुन्।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन गरिएको छ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचनको परिणाम र अबको राजनीतिक कदमबारे छलफल गर्न समितिको बैठक बोलाएका हुन्। बैठकमा संसदीय दलको निर्वाचन र आगामी सरकार गठनलगायत विषयमा समेत छलफल हुनेछ। बैठकमा संसदीय दलको निर्वाचनको तयारीबारे पनि छलफल हुने नेताहरुले बताएका छन्।
सांसदहरुको शपथ नहुँदै कांग्रेसले संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ। आजको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दलको नेता चयनका लागि निर्वाचन समिति गठन गर्ने र सोमबार वा मंगलबार नै नेता चयनको प्रक्रिया अघि बढाउने बताइएको छ।