काठमाडौं– सरकार गठनको कसरत चलिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रचण्डले देउवालाई अबको प्रधानमन्त्रीका लागि आफूलाई सहयोग गर्न आग्रह गरेका हुन्।
प्रचण्डले सत्ता गठबन्धनका तर्फबाट आफूलाई प्रधानमन्त्री बनाउन देउवासमक्ष आग्रह गरेको बताइएको छ। यसबारे सभापति देउवाले कुनै प्रतिक्रिया दिएनन्। देउवा आफैं प्रधानमन्त्री बन्ने योजनामा छन्। नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेको बेला देउवा र प्रचण्ड दुवै प्रधानमन्त्रीको तयारीमा छन्। देउवाले प्रचण्डको प्रस्तावमाथि पार्टीभित्र छलफल चलाउने आश्वासन दिएको बताइन्छ।
बालुवाटारमा चियाको चुस्की लिँदै कांग्रेस सांसद
प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट निर्वाचित सांसदलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा चियापान कार्यक्रम आयोजना गरेका छन्। ३ बजेका लागि बोलाइएको कार्यक्रम भर्खरै सुरु भएको हो।
नवनिर्वाचित सांसदहरूलाई सभापति देउवाले बधाइ तथा शुभकामना दिन चियापान कार्यक्रम आयोजना गरेका हुन्। यद्यपि संसदीय दलको नेताको रुपमा आफूलाई अघि सार्ने तयारीस्वरुप देउवाले चियापान कार्यक्रम बोलाएको हुन सक्ने कतिपय सांसदको बुझाइ छ।