काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह जनताको नजिकको सरकार भएकाले कामकारबाही बढी जिम्मेवार, परिणाममुखी र जवाफदेही हुनुपर्ने बताएका छन्।
शनिबार ललितपुर महानगरपालिकाको १०४औं स्थापना दिवस अवसरमा स्थानीय तहको काम जनमुखी, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने औंल्याएका हुन्।
प्रधानमन्त्री देउवाले नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको स्मरण गरे।
‘नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र सेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको छ। नागरिक नजिकको सरकार भएकाले स्थानीय तहको कामकारबाही जनमुखी, पारदर्शी, परिणाममुखी र नागरिक जवाफदेही हुनुपर्छ,’ उनले भने।
ललितपुर महानगरपालिकाले जनताको अपेक्षा अनुसार विश्वका अन्य मुलुकमा पनि नेपाल र नेपाली जनताको पहिचान हुने गरी आफ्नो कामलाई अघि बढाएको भन्दै उनले प्रशंसा गरे।
प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकालाई सांस्कृतिक स्मार्ट सहरको रुपमा विकास हुने गरी काम गर्न पनि सुझाव दिए।