बिहीबार, जेठ २८, २०८३

लोकतन्त्र खोसिएको १ पुसलाई धिक्कारेर मनाइँदै कालो दिवस

राजा महेन्द्रले पहिलो जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको भरमा अपदस्थ गरिएको दिनलाई कालो दिवसका रूपमा मनाइएको हो।
 |  शुक्रबार, पुस १, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १, २०७९

काठमाडौं– १ पुस २०१७ मा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्था सुरुआत गरेका थिए। शुक्रबार पहिलो जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा देशभर कालो दिवसका रूपमा मनाइँदै छ। 

National life

नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपीलगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो। सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बीपीलगायतका नेतालाई बन्दी बनाइएको हो।

यही जेल पछि सुन्दरीजल बन्दीगृहका नामले चिनियो। यहीँ बसेर बीपीले ‘दोषी चस्मा’ कथासंग्र्र बाहेकका साहित्यको रचना गरेका थिए। ‘दोषी चस्मा’ कथासंग्रह २००८ मै प्रकाशन भइसकेको थियो। 

‘दोषी चस्मा’ कथासंग्र्रह प्रकाशनपछि राजनीतिमा व्यस्त भएका बीपीलाई सुन्दरीजल बन्दीगृह साहित्य रचना गर्न वरदान सावित भएको थियो। यही बन्दीगृहबाट यौन मनोविश्लेषणवादी धाराका दर्जनौं कृति नेपाली साहित्यले पाउन सक्यो। बन्दीगृहमा ‘श्वेतभैरवी’ कथासंग्रह, ‘मोदीआइन’, ‘बाबु, आमा र छोरा’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘हिटलर र यहुदी’ लगायत उपन्यास कोइरालाले रचना गरेका थिए। 

यसैगरी जेलमा बस्दा २०१७ देखि २०२५ सम्मका दैनिकीको संग्रह ‘जेलजर्नल’, १६ पुस २०३३ मा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै सुन्दरीजल बन्दीगृहमा थुनेपछि लेखिएको दैनिकीको संग्रह ‘फेरि सुन्दरीजल’, ‘आफ्नो कथा’ लगायत रचना १ पुस २०१७ को शाही कूपछि नै नेपाली साहित्य जगत्ले पाएको हो। 

Shivam cement

१ पुसको घटनापछि बीपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवं पार्टी नेताहरू गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचनलगायतलाई सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो। २४ भदौ २०६१ म बन्दीगृहलाई बीपी संग्रहालयका रूपमा घोषणा गरिएको छ।

संग्रहालयमा बीपी एवं यहाँ राखिएका नेताहरूले जीवनमा प्रयोग गरेका महत्त्वपूर्ण चीजबिज प्रदर्शनमा राखिएको छ। १२ वैशाख २०७२ भूकम्पले क्षतिग्रस्त संग्रहालयको मुख्य भवन पुनर्निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ। संग्रहालयलाई पुरातत्त्व विभागले पुरानै स्वरूपमा पुनःनिर्माण सम्पन्न गरेको जनाइएको छ। 

१ पुसमा तरुण दललगायत संस्थाले प्रजातन्त्रमाथि प्रहार भएको दिनका रूपमा कालो दिवसका रूपमा मनाउँदै आएका छन्। यसै अवसरमा आज कांग्रेस र नेपाल तरुणदललगायत अन्य भ्रातृ एवं शुभेच्छुक संस्थाले पनि देशभर विभिन्न कार्यक्रम आयोजना गरी कालो दिवस मनाइरहेका छन्।

प्रकाशित: Dec 16, 2022| 14:16 शुक्रबार, पुस १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...