काठमाडौं– निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन परिणामको प्रतिवेदन उपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि बुझाएको छ।
बिहीबार अपराह्न आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन परिणाम बुझाएपछि उपराष्ट्रपतिलाई पनि निर्वाचन प्रतिवेदन उपलब्ध गराएको हो।
उपराष्ट्रपति पुनलाई उनको कार्यालय लैनचौरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन उपलब्ध गराए। सो अवसरमा उपराष्ट्रपति पुनले निर्वाचन चुनौतीपूर्ण कार्य हुँदाहुँदै पनि विगतका निर्वाचनको तुलनामा बढी व्यवस्थित, स्वच्छ, निष्पक्ष र स्वतन्त्ररूपमा सम्पन्न भएको र यसले अन्तर्राष्ट्रिय जगतमा नेपाल र आयोगको प्रतिष्ठा बढेको बताए।
उपराष्ट्रपति पुनले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरी समयमै अन्तिम परिणाम घोषणा गरेकामा आयोगलाई धन्यवाद दिए।
त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको सारसंक्षेप, असल अभ्यास एवं चुनौतीबारे अवगत गराए। निर्वाचन आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा जानकीकुमारी तुलाधर, सगुन शमशेर जबरा, आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेल उपस्थित थिए।