बिहीबार, असार ४, २०८३

आज साउने संक्रान्ति, 'लुतो फाल्ने' दिन

 |  बिहीबार, साउन १, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १, २०८२
National life
Shivam cement

काठमाडौं- सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ।
  
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ। 
    
अधिकांश नेपाली असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन्। त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउँछन्। 

एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गर्ने गर्छन्। परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर ‘कण्डारक’ नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ। 

लुतो फाल्दा आआफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ। साउन महिनालाई विशेष रूपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रूपमा पनि लिइन्छ। महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गर्छन्। साउन महिनामा विशेषगरी हरियो कपडा, चुरा बढी बिक्री हुने गरेको छ। यो महिनामा धेरै महिलाले हरियो र रातो पहिरन लगाउने गर्छन्।

प्रकाशित: Jul 17, 2025| 07:16 बिहीबार, साउन १, २०८२
प्रतिक्रिया दिनुहोस्