काठमाडौं- चीन यात्रामा रहेका नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चिनियाँ राष्ट्रपति सी जीनपीङसँग भेटवार्ता भएन ।
मंगलबार र बुधबार दिनभर पनि राष्ट्रपति सीसँग भेटवार्ताका लागि विभिन्न तहमा पहल भए पनि सम्भव नभएको स्रोतले बतायो। राष्ट्रपति सीलगायत उच्च नेतृत्वसँग विशेष भेटवार्ता गर्ने तयारीका साथ बेइजिङ पुगेका प्रचण्डले भेटवार्ताको अवसर नपाउनुलाई अर्थपूर्ण मानिएको छ। प्रचण्ड जसरी पनि राष्ट्रपति सीलाई भेट्ने कोशिस गरेका थिए। तर, सीको सचिवालयले नै खासै रुचि नदेखाएपछि त्यो सम्भावना टरेको हो।
बेइजिङमा प्रचण्डको राजनीतिक भेटवार्ता उपराष्ट्रपतिमै सीमित भएको छ। चीन जानुअघि नयाँदिल्लीको चारदिने यात्रामा प्रचण्ड प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च नेतृत्वसँग निकै लामो सघन वार्ता गरेर प्रशन्न मुद्रामा फर्किएका थिए। चारदिने भारत भ्रमणपछि २५ भदौमा स्वेदश फर्किएका उनले भारतको उच्च नेतृत्वसँग निकै सकारात्मक वार्ता भएको बताएका थिए। चिनियाँ राष्ट्रपति सीसँगको पूर्वनिर्धारित वार्ता नहुनुका पछाडि प्रचण्डको आकस्मिक दिल्ली यात्रा र त्यहाँ उनलाई गरिएको विशेष ट्रिटलाई पनि एउटा कारणको रूपमा हेरिएको छ।
बेइजिङमा प्रचण्डले पाएको 'लो प्रोफाइल' ट्रिटका पछाडि बिमस्टेकपछिका केही शृखंलाबद्ध घट्नाक्रम र त्यसले उत्पन्न गरेको भूराजनीतिक तरंगलाई पृष्ठभूमिका रूपमा हेरिएको छ। चीन सहभागी नभएको बिमस्टेक सम्मेलनलगत्तै २१ भदौ राति नेपाल र चीनबीच पारवहन सम्झौताको कार्यविधि प्रोटोकलमा समझदारी भएको थियो। नेपाल-चीन सम्बन्धमा यो निकै महत्वपूर्ण उपलब्धि थियो। दुई वर्षअघि ओलीले चीन भ्रमण क्रममा गरेको पारवहन सम्झौतालाई पूर्णता दिँदै दुवै देशका अधिकारीहरूले प्रोटोकलमा हस्ताक्षर गरेपछि नेपालले चिनियाँ बन्दरगाह प्रयोग गर्ने बाटो खुलेको छ।
प्रचण्डको दिल्ली यात्राकै बेला प्रधानमन्त्री केपी ओलीले २२ भदौमा भारतको पुणेमा आयोजित संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी नहुने निर्णय गरेका थिए। अन्तिम अवस्थामा प्रधानमन्त्रीले गरेको यो निर्णयले राजनीतिक र कूटनीतिक वृत्तमा तरंग निम्त्याएको थियो । पारवहन प्रोटोकलमा हस्ताक्षर र सैन्य अभ्यासमा सहभागी नहुने निर्णयको पृष्ठभूमिमा भएको प्रचण्डको दिल्ली दौडाहलाई सत्ता परिवर्तनको डिजाइनसँग समेत जोडेर चर्चा गरिएको थियो।
दिल्लीबाट निकै उत्साहित भएर फर्केका प्रचण्डलाई बेइजिङले खासै वास्ता नगरेपछि थोरै 'मुडअफ' भएका छन् । दिल्लीमा ग्रिन सिग्नल पाएका प्रचण्ड बेइजिङको पनि लाइन बुझेर 'मुभ' गर्ने तयारीमा थिए। तर, उनले बेइजिङ उड्नुअघि सोचेको अवस्था अब बदलिएको स्रोतहरू बताउँछन्।
प्रचण्डले बुधबार चीनका उपराष्ट्रपति वाङ क्वी सानसँग भेटवार्ता गरेका थिए। प्रचण्डले चीनको च्याङ्सु प्रान्तको नान्चिङमा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्मृति दिवसलाई बुधबार सम्बोधन गरेका थिए। प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओबीच मंगलबार भेटवार्ता भएको थियो। चिनियाँ क्रान्तिको ऐतिहासिक नगर मानिने येनान हुँदै अर्को शहर नान्जिङ पुगेका अध्यक्ष प्रचण्डलाई प्रमुख ताओले स्वागत गरेका थिए। प्रचण्डले आइतबार साँझ सान्सी प्रान्तीय कमिटीका स्थायी समिति सदस्य तथा येनान नगर कमिटीका सेक्रेटरी सु सिन्रोङसँग भेट गरेका थिए।
प्रचण्ड चार दिने चीन भ्रमणका क्रममा ३० भदौ शनिबार साँझ ग्वान्जाओ पुगेका थिए। ग्वान्जाओमा अध्यक्ष प्रचण्डलाई चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री ग्यो यज्होउले स्वागत गरेका थिए। दाहाल आफ्नो चारदिने चीन भ्रमण सकेर बुधबार स्वदेश फर्किंएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४