काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका प्रतिनिधिसभा सदस्य रवि लामिछानेको पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
सिन्धुलीका युवराज सफलले रवि लामिछानेको सांसद पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पदसमेत खारेज गर्न माग गर्दै सर्वोच्चको संवैधानिक इजलासमा दायर गरेका हुन्। उक्त रिटको पेशी पुस ६ गतेको संवैधानिक इजलासमा तोकिएको छ।
लामिछाने नेपाली नागरिक नरहेको र नेपाली नागरिक नरहेको व्यक्ति नेपालको निर्वाचनमा भाग लिन नपाउने कानुनी व्यवस्थाविपरीत उनको उम्मेदवारी दर्ता गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित समेत गराएको भन्दै लामिछानेविरुद्ध रिट दर्ता भएको हो। उनले नेपाली नागरिकता त्याग नगरी अमेरिकी नागरिकता लिएको र अमेरिकी नागरिकता र पासपोर्ट लिएकै समयमा नेपाली नागरिकता तथा पासपोर्टसमेत लिएको भन्दै उनीविरुद्ध निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोग र गृह मन्त्रालयमा पनि उजुरी परेको थियो।
गृह मन्त्रालयमा परेको उजुरीको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत् जिल्ला प्रहरी परिसर काठमाडौंले छानबिन गरिरहेको छ।
सर्वोच्चमा दर्ता गरिएको रिटमा नागरिकता ऐन, २०६३ को दफा १०(१) विपरीतको कार्य गरेको भन्दै दल दर्ता, मतदाता नामावली, दलको पदाधिकारीमा नियुक्ति र उम्मेदवार वा प्रतिनिधि बनेको अवस्थामा सो सबै काम कानुन विपरीतको भएकाले खारेज गर्न मागदाबी गरिएको छ।
रिटमा मतदान गर्ने, उम्मेदवार बन्ने र राजनीतिक दल खोल्ने अधिकार नेपाली नागरिकलाई मात्रै प्रदान गरिएकोले विपक्षी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति र सदस्यता गैरकानुनी घोषणा गरी पाउन माग गरिएको छ। साथै सो पार्टीको पदाधिकारी लगायतको हैसियतमा प्राप्त सम्पूर्ण लाभ अर्थात् मतदाता भएर गरिएको मतदान, निर्वाचनमा भएको उम्मेदवारी र त्यस्तो उम्मेदवारीका आधारमा प्राप्त सांसद पद (प्रतिनिधि सभा सदस्य) समेत उत्प्रेषणको आदेशले बदर गरी पाउन भनिएको छ।
चार मंसिरमा सम्पन्न निर्वाचनबाट लामिछाने चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। उनीलगायत सांसदको शपथ हुन बाँकी छ।