जनकपुरधाम- स्वतन्त्र मधेशको अभियान चलाई रहेका सिके राउतको जनकपुर कार्यक्रम विफल पार्ने सुरक्षा निकायको तयारी थियो। राउतले संविधान दिवसको विरोध गर्न जनकपुरमा प्रदर्शन र विरोधसभा गर्ने घोषणा गरेका थिए।
राउत समर्थकहरुले ३ असोजको विरोध कार्यक्रम सफल पार्न एक महिना अघिदेखि तयारीमा लागेका थिए। तर, प्रहरीले संविधान दिवसको विरोधमा हुने कार्यक्रम कुनै हालतमा सफल हुन नदिने सोंच बनाएको थियो।
राउतको विरोधसभा र प्रदर्शन सफल हुन नदिन प्रहरीले मंगलबार र बुधबार गरी दुई दिनमा झण्डै तीन दर्जनभन्दा बढी राउतका कार्यकर्ता र समर्थकहरुलाई गिरफ्तार गर्यो । राउतका स्वकीय सचिव भनिएका सत्यनारायण मण्डललाई प्रहरीले मंगलबारै जनकपुर-८ स्थित उनको घरबाट पक्राउ गरेको थियो। दर्जनौं कार्यकर्ता पक्राउ परेपनि स्वतन्त्र मधेश गठबन्धनका संयोजक समेत रहेका राउतको भने प्रहरीले सुइँको पाएन। र, उनको खोजीलाई तीब्र बनायो।
तर, सभामा आउने अथवा नआउने आशंकाकाबीच अन्ततः प्रहरीलाई छकाउँदै राउत विरोधसभामा उपस्थित भए। जनकपुरको रामानन्द चोकमा ठुलो संख्यामा उपस्थित कार्यकर्ताबीच राउतले करिब २० मिनेट सम्बोधन गरे। उनले आफ्नो सम्बोधनको क्रममा संघीय तथा प्रदेश सरकारलाई निशाना बनाए।
राउतले सभा गरिरहँदा त्यहाँ उपस्थित सुरक्षाकर्मीहरु भने मुकदर्शक बनेर बसेका थिए। राउत छुट्टै देशको कुरा गरिरहँदा समेत प्रहरी चुपलागेर बसेका थिए। यसअघि राउत आफूहरुको खोजी सूचीमा रहेको प्रहरीले बताउँदै आएको थियो।
सप्तरी, सिरहा, महोत्तरी लगायतका जिल्लाबाट जनकपुर पुगेको राउत समर्थकहरुले प्रदेशसभा भवन नजिकबाट विरोध जुलुस निकालेर रामानन्द चोक पुगेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४