शुक्रबार, साउन १, २०८३

संविधानमा छिमेकी सजाय : नाकाबन्दी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगञ्ज- मधेश आन्दोलनको आडमा लगाइएको नाकाबन्दीका कारण मुलुकभरको जनजीवन सकसपूर्ण थियो । तर, भारतीय सीमास्थित ठोरी र त्यहाँबाट ४५ किलोमिटर टाढा पर्ने बाराको सिमरा बजार गुल्जार थिए ।

मुलुकको मुख्य व्यापारिक नाका वीरगञ्जबाट ६० किमि उत्तरपश्चिममा पर्छ, ठोरी । उक्त नाकाबाट अवैध रूपमा भित्रिने पेट्रोलियम पदार्थ सिमरा ल्याएर भण्डारण गर्ने गरिएको थियो । आन्दोलन र नाकाबन्दीका कारण वीरगञ्ज ठप्प थियो । 

बारा–पर्सा औद्योगिक करिडोरका उद्योग, कलकारखाना बन्द थिए । त्यही करिडोरमा पर्ने सिमराले भने नाकाबन्दीको लाभ उठाइरहेको थियो । सिमराका केही व्यापारीले तस्करीको इन्धन बिक्री गरेरै रातारात लाखौं आम्दानी गरे ।

अत्यावश्यक इन्धनको आपूर्ति ठप्प बनाएर केन्द्रीय सत्तालाई घुँडा टेकाउने दाउमा मधेशकेन्द्रित दलहरूले छिमेकी भारतको भरपुर साथ पाएको देखिएको थियो ।

पञ्चायती व्यवस्थाको अन्तिम समयमा यसरी नै भारतको नाकाबन्दी झेल्नुपरेको थियो, नेपाली जनताले । त्यतिबेला नाकाबन्दीलाई प्रत्यक्ष देखेको पुस्ताका लागि ०७२ सालको नाकाबन्दी दोस्रो अनुभव थियो । 

त्यतिबेलाको नाकाबन्दीका लागि बहाना बनेको थियो, नेपाल-भारत द्विपक्षीय व्यापार तथा पारवहन सन्धिको म्याद सकिनु । पछिल्लो नाकाबन्दीका लागि मधेश आन्दोलन बहाना बनिदियो ।

१० चैत ०४५ देखि १७ असार ०४७ सम्म नाकाबन्दी गरेको थियो, भारतले । भारतीय कांग्रेसकी नेतृ सोनिया गान्धीलाई पशुपतिनाथ दर्शनमा अवरोध, उत्तरी छिमेकी चीनसँग हतियार खरिद गरेको निहुँ पनि थिए, त्यस नाकाबन्दीका लागि ।

पछिल्लो नाकाबन्दी ६ असोज ०७२ बाट शुरु भएर फागुन ०७२ सम्म चलेको थियो । तत्कालीन प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि मात्र सबै नाकाबाट आपूर्ति व्यवस्था सहज भएको थियो । खासगरी, मधेशकेन्द्रित दलहरूको सहमतिमा फागुनमा संविधान संशोधन भयो । अनि मात्र पाँच महिना लामो नाकाबन्दी अन्त्य भएको थियो ।
 

बारा-पर्सा औद्योगिक करिडोरका उद्योग, कलकारखाना बन्द थिए । त्यही करिडोरमा पर्ने सिमराले भने नाकाबन्दीको लाभ उठाइरहेको थियो । सिमराका केही व्यापारीले तस्करीको इन्धन बिक्री गरेरै रातारात लाखौं आम्दानी गरे ।



३० साउन ०७२ देखि बन्द, हडताल, चक्काजाम, मशाल जुलुस, लौरो प्रदर्शनलगायत चरणबद्ध आन्दोलनमा थिए, मधेशी दल । १ भदौदेखि उनीहरूले आन्दोलनलाई निर्णायक बनाउने बताउँदै अनिश्चितकालीन हडताल आव्हान गरे ।

सरकार आन्दोलन लम्ब्याउँदै आन्दोलनकारीलाई थकाउने र घुँडा टेकाउने रणनीतिमा केन्द्रित थियो भने मधेशमा भावनात्मक आन्दोलनको आगो दन्किसकेकाले निर्णायक नबनेसम्म पछि नहट्ने मनस्थितिमा मधेशी दलका नेताहरू देखिन्थे ।

इन्धन अभावमा भान्सामा चुलो सेलाए पनि चाउचाउ र चिउराकै भरमा भए पनि गाउँ-गाउँबाट आन्दोलनमा सहभागिता बढ्दै गयो । सीमा क्षेत्रका सर्वसाधारण सकसमा रहेका बेला आन्दोलनको मौकालाई स्वर्णिम अवसर बनाउँदै इन्धन तस्करी, मान्छे ओसार्ने र वीरगञ्ज सुख्खा बन्दरगाहबाट मालबाहक ट्रक भित्र्याउन सघाएवापत आन्दोलनका केही अगुवाले मोटो रकम कुम्ल्याए । आन्दोलनका लागि खर्च जुटाउन व्यापारीबाट सहयोग लिनु परेको भन्ने स्थानीय नेतृत्वले दाबी गरे पनि इन्धन तस्करीलाई पैसा कमाउने माध्यम बनाएको बताउँदै चर्को विरोधसमेत भएको थियो ।

मुलुकको ७० प्रतिशत आयात–निर्यात हुने वीरगञ्ज नाकालाई आन्दोलनकारीले मुख्य तारो बनाएका थिए । १५ भदौमा निषेधाज्ञा छल्दै नगवामा प्रदर्शनकारीले ट्यांकरलाई अवरोध पुर्‍याएपछि सशस्त्र प्रहरीले घर-घर पस्दै बल प्रयोग गर्‍यो । त्यसका कारण आन्दोलन भड्किएको थियो । प्रहरीको गोलीबाट चार प्रदर्शनकारीले ज्यान गुमाए ।

संघीय समाजवादी फोरम, तमलोपा, सदभावना पार्टी, नेपाल सदभावना पार्टीलगायत दलबीच आन्दोलनको जश लिने होडबाजीका कारण आन्दोलन कसैको पकडमा थिएन । त्यही होडबाजीका कारण मोर्चाका स्थानीय अगुवाहरूले प्रहरीसँग निरन्तर सम्पर्क गरेको बताउँदै कल डिटेल सार्वजनिक कामसमेत भएको थियो ।

अनाहकमा शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरेको बताउँदै दोषी प्रहरीविरुद्ध कारवाही र मृतकलाई क्षतिपूर्ति माग गर्दै मधेशी दलले शव जलाउन दिएनन् र गाउँ–गाउँबाट विशाल जनलहर उर्लिएर प्रदर्शनका लागि सदरमुकाममा केन्द्रित भयो । प्रदर्शनकारीले कफ्र्यूको समेत वास्ता गरेनन्, यतिबेलासम्म सेनासमेत हतियार लिएर सडकमा देखा पर्न थालिसकेको थियो ।

प्रदेश सीमांकनमा हेरफेर, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, अंगीकृत नागरिकता पाएको व्यक्तिको सन्तानलाई वंशजका आधारमा नागरिकता वितरणलगायत माग मधेशी दलले अगाडि सारेका थिए ।

राजधानीमा सरकार र आन्दोलनकारीबीच पटक–पटक औपचारिक/अनौपचारिक वार्ता र छलफल नभएको पनि होइन । तर, आन्दोलन दमन गर्न प्रहरीले गरेको बल प्रयोगका कारण हिंसा भड्कियो । आन्दोलनमा शहीद हुनेहरूका परिवारलाई ५० लाख रुपैयाँ दिने घोषणा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गरेका थिए । ‘लाठी फाटा लेके होजा तयार अभि मधेश बन्दे बा’ भन्ने नारा जनजनमाझ गुन्जिन थाल्यो, वृद्धवृद्धा र बालबालिकासमेत आन्दोलनमा सहभागी हुन गाउँ–गाउँबाट ओर्लिएका थिए ।

वीरगञ्ज र रक्सौलबीचको मितेरी पुलमा धर्नामा बसेका मधेशी दलका कार्यकर्तालाई सघाउन भारतीय नागरिकहरूले पनि नेपाल प्रहरीमाथि ढुंगामुढा बर्साएका थिए । रक्सौलतिर नेपाली आन्दोलनकारीका लागि खाना खाने मेस नै खडा गरिएको थियो ।

पछि तिनै भारतीय नागरिकले मधेशी दलका नेता÷कार्यकर्तालाई कुटपिट गर्दै नाकाबाट हट्न बाध्य बनाएका थिए । जोगवनी नाकामा धर्नामा बसेका सद्भावना पार्टी अध्यक्ष महतोमाथि पनि निर्घात कुटपिट भयो । उनी लामो उपचारपछि मात्र सक्रिय जीवनमा फर्किन सकेका थिए । त्यसपछि एकाएक सबै नाकामा आवतजावत सहज बनेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।