वीरगञ्ज- मधेश आन्दोलनको आडमा लगाइएको नाकाबन्दीका कारण मुलुकभरको जनजीवन सकसपूर्ण थियो । तर, भारतीय सीमास्थित ठोरी र त्यहाँबाट ४५ किलोमिटर टाढा पर्ने बाराको सिमरा बजार गुल्जार थिए ।
मुलुकको मुख्य व्यापारिक नाका वीरगञ्जबाट ६० किमि उत्तरपश्चिममा पर्छ, ठोरी । उक्त नाकाबाट अवैध रूपमा भित्रिने पेट्रोलियम पदार्थ सिमरा ल्याएर भण्डारण गर्ने गरिएको थियो । आन्दोलन र नाकाबन्दीका कारण वीरगञ्ज ठप्प थियो ।
बारा–पर्सा औद्योगिक करिडोरका उद्योग, कलकारखाना बन्द थिए । त्यही करिडोरमा पर्ने सिमराले भने नाकाबन्दीको लाभ उठाइरहेको थियो । सिमराका केही व्यापारीले तस्करीको इन्धन बिक्री गरेरै रातारात लाखौं आम्दानी गरे ।
अत्यावश्यक इन्धनको आपूर्ति ठप्प बनाएर केन्द्रीय सत्तालाई घुँडा टेकाउने दाउमा मधेशकेन्द्रित दलहरूले छिमेकी भारतको भरपुर साथ पाएको देखिएको थियो ।
पञ्चायती व्यवस्थाको अन्तिम समयमा यसरी नै भारतको नाकाबन्दी झेल्नुपरेको थियो, नेपाली जनताले । त्यतिबेला नाकाबन्दीलाई प्रत्यक्ष देखेको पुस्ताका लागि ०७२ सालको नाकाबन्दी दोस्रो अनुभव थियो ।
त्यतिबेलाको नाकाबन्दीका लागि बहाना बनेको थियो, नेपाल-भारत द्विपक्षीय व्यापार तथा पारवहन सन्धिको म्याद सकिनु । पछिल्लो नाकाबन्दीका लागि मधेश आन्दोलन बहाना बनिदियो ।
१० चैत ०४५ देखि १७ असार ०४७ सम्म नाकाबन्दी गरेको थियो, भारतले । भारतीय कांग्रेसकी नेतृ सोनिया गान्धीलाई पशुपतिनाथ दर्शनमा अवरोध, उत्तरी छिमेकी चीनसँग हतियार खरिद गरेको निहुँ पनि थिए, त्यस नाकाबन्दीका लागि ।
पछिल्लो नाकाबन्दी ६ असोज ०७२ बाट शुरु भएर फागुन ०७२ सम्म चलेको थियो । तत्कालीन प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि मात्र सबै नाकाबाट आपूर्ति व्यवस्था सहज भएको थियो । खासगरी, मधेशकेन्द्रित दलहरूको सहमतिमा फागुनमा संविधान संशोधन भयो । अनि मात्र पाँच महिना लामो नाकाबन्दी अन्त्य भएको थियो ।
बारा-पर्सा औद्योगिक करिडोरका उद्योग, कलकारखाना बन्द थिए । त्यही करिडोरमा पर्ने सिमराले भने नाकाबन्दीको लाभ उठाइरहेको थियो । सिमराका केही व्यापारीले तस्करीको इन्धन बिक्री गरेरै रातारात लाखौं आम्दानी गरे ।
३० साउन ०७२ देखि बन्द, हडताल, चक्काजाम, मशाल जुलुस, लौरो प्रदर्शनलगायत चरणबद्ध आन्दोलनमा थिए, मधेशी दल । १ भदौदेखि उनीहरूले आन्दोलनलाई निर्णायक बनाउने बताउँदै अनिश्चितकालीन हडताल आव्हान गरे ।
सरकार आन्दोलन लम्ब्याउँदै आन्दोलनकारीलाई थकाउने र घुँडा टेकाउने रणनीतिमा केन्द्रित थियो भने मधेशमा भावनात्मक आन्दोलनको आगो दन्किसकेकाले निर्णायक नबनेसम्म पछि नहट्ने मनस्थितिमा मधेशी दलका नेताहरू देखिन्थे ।
इन्धन अभावमा भान्सामा चुलो सेलाए पनि चाउचाउ र चिउराकै भरमा भए पनि गाउँ-गाउँबाट आन्दोलनमा सहभागिता बढ्दै गयो । सीमा क्षेत्रका सर्वसाधारण सकसमा रहेका बेला आन्दोलनको मौकालाई स्वर्णिम अवसर बनाउँदै इन्धन तस्करी, मान्छे ओसार्ने र वीरगञ्ज सुख्खा बन्दरगाहबाट मालबाहक ट्रक भित्र्याउन सघाएवापत आन्दोलनका केही अगुवाले मोटो रकम कुम्ल्याए । आन्दोलनका लागि खर्च जुटाउन व्यापारीबाट सहयोग लिनु परेको भन्ने स्थानीय नेतृत्वले दाबी गरे पनि इन्धन तस्करीलाई पैसा कमाउने माध्यम बनाएको बताउँदै चर्को विरोधसमेत भएको थियो ।
मुलुकको ७० प्रतिशत आयात–निर्यात हुने वीरगञ्ज नाकालाई आन्दोलनकारीले मुख्य तारो बनाएका थिए । १५ भदौमा निषेधाज्ञा छल्दै नगवामा प्रदर्शनकारीले ट्यांकरलाई अवरोध पुर्याएपछि सशस्त्र प्रहरीले घर-घर पस्दै बल प्रयोग गर्यो । त्यसका कारण आन्दोलन भड्किएको थियो । प्रहरीको गोलीबाट चार प्रदर्शनकारीले ज्यान गुमाए ।
संघीय समाजवादी फोरम, तमलोपा, सदभावना पार्टी, नेपाल सदभावना पार्टीलगायत दलबीच आन्दोलनको जश लिने होडबाजीका कारण आन्दोलन कसैको पकडमा थिएन । त्यही होडबाजीका कारण मोर्चाका स्थानीय अगुवाहरूले प्रहरीसँग निरन्तर सम्पर्क गरेको बताउँदै कल डिटेल सार्वजनिक कामसमेत भएको थियो ।
अनाहकमा शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरेको बताउँदै दोषी प्रहरीविरुद्ध कारवाही र मृतकलाई क्षतिपूर्ति माग गर्दै मधेशी दलले शव जलाउन दिएनन् र गाउँ–गाउँबाट विशाल जनलहर उर्लिएर प्रदर्शनका लागि सदरमुकाममा केन्द्रित भयो । प्रदर्शनकारीले कफ्र्यूको समेत वास्ता गरेनन्, यतिबेलासम्म सेनासमेत हतियार लिएर सडकमा देखा पर्न थालिसकेको थियो ।
प्रदेश सीमांकनमा हेरफेर, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, अंगीकृत नागरिकता पाएको व्यक्तिको सन्तानलाई वंशजका आधारमा नागरिकता वितरणलगायत माग मधेशी दलले अगाडि सारेका थिए ।
राजधानीमा सरकार र आन्दोलनकारीबीच पटक–पटक औपचारिक/अनौपचारिक वार्ता र छलफल नभएको पनि होइन । तर, आन्दोलन दमन गर्न प्रहरीले गरेको बल प्रयोगका कारण हिंसा भड्कियो । आन्दोलनमा शहीद हुनेहरूका परिवारलाई ५० लाख रुपैयाँ दिने घोषणा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गरेका थिए । ‘लाठी फाटा लेके होजा तयार अभि मधेश बन्दे बा’ भन्ने नारा जनजनमाझ गुन्जिन थाल्यो, वृद्धवृद्धा र बालबालिकासमेत आन्दोलनमा सहभागी हुन गाउँ–गाउँबाट ओर्लिएका थिए ।
वीरगञ्ज र रक्सौलबीचको मितेरी पुलमा धर्नामा बसेका मधेशी दलका कार्यकर्तालाई सघाउन भारतीय नागरिकहरूले पनि नेपाल प्रहरीमाथि ढुंगामुढा बर्साएका थिए । रक्सौलतिर नेपाली आन्दोलनकारीका लागि खाना खाने मेस नै खडा गरिएको थियो ।
पछि तिनै भारतीय नागरिकले मधेशी दलका नेता÷कार्यकर्तालाई कुटपिट गर्दै नाकाबाट हट्न बाध्य बनाएका थिए । जोगवनी नाकामा धर्नामा बसेका सद्भावना पार्टी अध्यक्ष महतोमाथि पनि निर्घात कुटपिट भयो । उनी लामो उपचारपछि मात्र सक्रिय जीवनमा फर्किन सकेका थिए । त्यसपछि एकाएक सबै नाकामा आवतजावत सहज बनेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४