काठमाडौं-संविधान दिवसको उपलक्ष्यमा राष्ट्रपतिले आयोजना गरेको डिनर मधेशीदलहरुले बहिष्कार गर्ने भएका छन् । संविधान दिवसको उपलक्ष्यमा राष्ट्रपति विद्या भण्डारीले बुधवार साँंझ शीतल निवासमा रात्रिभोजको आयोजना गरेकी छन् ।
साँझ साढे पाँच बजे आयोजना गरिएको भोजमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सवैधानिक अंगका प्रमुख तथा पदाधिकारी , नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरु, विभिन्न राजनीतिक दलका नेताहरुलाई आमन्त्रण गरिएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले नेपाल समयलाई जानकारी दिए।
सरकारमा सहभागी संघीय समाजवादी फोरमले भने असोज ३ लाई संविधान दिवस र कालो दिवस दुवै नमनाउने घोषणा गरेको छ भने राष्ट्रिय जनता पार्टी(राजपा)ले भने कालो दिवस मनाउने घोषणा गरेको छ।
राजपाका महासचिव मनिष सुमनले राष्ट्रपतिले डाकेको रात्रि भोजमा सहभागी नहुने बताए। उनले राजपाका अध्यक्ष मण्डलका सबै नेताहरुले बुधबारको रात्रिभोज बहिष्कार गर्ने बताए।
कालो दिवस भनेर आफुहरुले माने पछि खुशीयाली भोजमा सहभागी नहुने उनको भनाई छ । सुमनका अनुसार राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर वीरगन्ज, अर्का सदस्य राजेन्द्र महतो धनगढी, शरतसिंह भण्डारी बिर्तामोड र महेन्द्र राया यादव महोत्तरीमा छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४