काठमाडौं- नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले १४ फागुनभित्र स्ववियू निर्वाचन गराउन माग गरेको छ। स्ववियू चुनावका लागि आफू तयार रहेको जनाउँदै नेविसंघले आज त्रिभुवन विश्वविद्यालयका भिसी धर्माकान्त बास्कोटालाई विज्ञप्ति बुझाएर स्ववियू तयारीमा जुट्न आग्रह गरेको छ।
नेविसंघसँग भएका पटक-पटकका वार्ता कार्यान्वयन र शैक्षिक क्यालेन्डरलाई कार्यान्वयन गरी समयमै परीक्षा सञ्चालन, नतिजा प्रकाशन र परीक्षा नियन्त्रण कार्यालयका सबै कामकाज नलाइनमार्फत गर्ने व्यवस्था मिलाउन नेविसंको अनुरोध छ।
'त्रिवि नेपालको सबैभन्दा ठूलो र ऐतिहासिक विश्वविद्यालय हो। यस विश्वविद्यालय र मातहतका क्याम्पसहरूमा समयमै स्ववियू निर्वाचन हुनुपर्छ,' नेविसंघका नेता मदनराज उपाध्याय भने। उनले नेविसंघले लामो समयदेखि विभिन्न क्याम्पस र विद्यार्थीहरूको हक हितका लागि लड्दै आएको बताएका छन्।
'हाम्रो उद्देश्य विश्वविद्यालयको समग्र शैक्षिक सुधार गर्ने अग्रणी संस्था स्ववियूको निर्वाचन समयमै हुनुपर्छ भन्ने हो। २/२ वषर्मा हुनुपर्नेमा निर्वाचन देशको राजनीतिमा प्रभाव राख्ने महत्त्वपूर्ण आंगिक क्याम्पसमा विगत १४ वर्षदेखि र देशैभरका क्याम्पसमा विगत पाँच वर्षदेखि हुनसकेको छैन। जुन दुखद कुरा हो। अब यो हामीहरूका लागि स्वीकार्य हुँदैन,' उपाध्यायले भने।
समयमा निर्वाचन नहुँदा देशको लागि आवश्यक पर्ने युवा र दक्ष जनशक्तिको नेतृत्व क्षमतामा समेत ह्रास आइरहेको उनले बताए। 'हामी सडकमा आन्दोलन गर्दैनौं। ढुङ्गामुडा गर्दैनौं। हामी विश्वविद्यालय र क्याम्पसमा ताला लाउँदैनौँ। विद्यार्थीको भविष्य बिग्रने गरी शैक्षिक हडताल गर्दैनौं। सडकमा बहस गर्छौ, हामी कक्षा कोठामा बहस र छलफल गर्छौं,' उनले भने, 'हामी विद्यार्थीलाई कसरी स्वरोजगार बनाउने त्यो विषयमा छलफल गर्छौ। एक विद्यार्थी स्वोरोजगार, हजार विद्यार्थी स्वोरोजगार, सम्पूर्ण विद्यार्थी स्वोरोजगार अभियानसहित समृद्ध देश बनाउने अभियानमा जुट्छौं र जुटाउँछौं।'
देश विकासको पहिलो आधार नै शिक्षा भएकाले विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार आफूहरूको पहिलो प्राथमिकता भएको नेविसंघ नेता विष्णु बडैलाले बताए। नेविसंघले जनताको जनजीविका सवाल उठान गर्नुका साथै विद्यार्थीले सर्टिफिकेट धितो राखेर ऋण दिन सरकारलाई दबाब दिने बडैलाले बताए।
'विभिन्न कालखण्डमा निरङ्कुश शासन व्यवस्थाविरुद्ध अग्रमोर्चामा रहेर लडेको नेविसंको गर्विलो इतिहास छ। हामी सधैँ निडर भएर विद्यार्थीको हकहितका लागि आवाज बुलन्द पारिनै रहने छौं। यस पटक समयमै स्ववियू निर्वाचन हुनुपर्छ भन्ने हाम्रो माग छ,' उनले भने।
कार्यक्रममा नेविसंघ शंकरदेव क्याम्पसका अध्यक्ष विवेक तामाङ, त्रिचन्द्रका नेता केसर बम, निराजन सुवदी, धर्मराज खनाल, एनपि जोशी, डण्डिराज जोशी, एनसीसीका नेता नेता अन्सुल केसी, आरआर क्याम्पसका विद्यार्थी नेता अशोक विष्ट, विद्यार्थी कल्याण परिषद निर्देशक पसुपति अधिकारीलगायतको उपस्थिति रहेको थियो।