संविधान विशेष
जनकपुरधाम- मधेश केन्द्रित दलहरूले असार ०७२ मा आन्दोलन घोषणा गरे । शुरुमा सामान्य देखिए पनि आन्दोलनले उग्र रूप लियो । अधिकार र स्वाभिमानका लागि तेस्रो पटक थालिएको आन्दोलन मधेशका सबै जिल्लामा चर्कियो ।
मधेश आन्दोलनको रापतापका बीच तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सरकारले संविधान जारी गर्यो, ३ असोज ०७२ मा । त्यसलगत्तै आन्दोलन झनै चर्कियो । सरकारलाई दबाब दिन आन्दोलनरत मधेशी मोर्चाले अनिश्चितकालीन मधेश बन्द घोषणा गरेको थियो । आन्दोलन लम्बिँदै जाँदा बन्दको प्रभाव तराई मधेशमा मात्र नभई मुलुकभर पर्यो । बजार, शैक्षिक संस्था, कलकारखाना र उद्योग धन्धा ठप्प भए ।
मोर्चाले आफ्नो आन्दोलनलाई सीमा नाकाहरूमा केन्द्रित गर्यो । त्यही बहानामा नाकाबन्दी शुरु भयो । त्यसअघि नै मोर्चाका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादवले आफूहरूको माग पूरा नभए नाकाबन्दी गरेर काठमाडौंको दानापानी बन्द गर्ने चेतावनी दिँदै आएका थिए । र, नाकाबन्दी भयो पनि ।
आन्दोलनरत मोर्चाका नेता/कार्यकर्ताले मधेशका पूर्वदेखि पश्चिमका सबै नाकामा धर्ना दिए । कतिपय नाकामा धर्ना दिन मोर्चाका शीर्ष नेता आफैं पनि पुगे । तर, त्यो नाकाबन्दीले काठमाडौंको सत्ताभन्दा मुलुकभरका सर्वसाधारण नागरिकलाई समस्यामा पार्यो । खाना पकाउने ग्यास, चामल, तरकारीलगायत सामग्री अभाव भयो ।
सडक आन्दोलनमा प्रहरीले दमन गरेकाले नाकामा प्रदर्शन थालेको मोर्चाका नेताहरूको तर्क थियो । संविधान जारी भएको तीन दिनपछि ६ असोजबाट शुरु भएको थियो, नाकाबन्दी । त्यसबाट नेपालको जनजीवन र अर्थतन्त्रमा ठूलै असर पार्यो । नेपाल सरकारले भारतले अघोषित रूपमा नाकाबन्दी गरेको भनिरहँदा भारतीय पक्षले त्यसलाई अझै स्वीकारेको छैन ।
नाकाबन्दीका कारण जनजीवन कष्टर बनिरहँदा तस्करहरूको भाग्य खुलेको थियो । यसअघि अन्य सामान तस्करी गर्दै आएकाहरू नाकाबन्दीको फाइदा उठाएर तेल तस्करीमा जुटे । नाकाबन्दीको मौका पारेर तेल तस्करी गर्नेहरू मालामाल भए । पेट्रोलिमय पदार्थको चरम अभावको फाइदा उठाउँदै उनीहरू तस्करी र कालोबजारीमा जुटे ।
नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभावमा पम्पहरू बन्द रहे पनि चोक-चोकमा ग्यालेनमा राखेर बिक्री रोकिएन । अभावका कारण सर्वसाधारण महँगो मूल्यमा खरिद गर्न बाध्य थिए । अभावको मौका छोप्दै तस्करहरूले एक लिटर तेलमा ५० देखि सय रूपैयाँसम्म नाफा लिने गरेका थिए ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले सार्वजनिक रूपमै भारतले नाकाबन्दी लगाएको बताएका थिए । लोकसभालाई सम्बोधन गर्दै भारतीय विदेश मन्त्री सुषमा स्वराजले पनि भनेकी थिइन्, ‘नेपालमा यो नाकाबन्दी पहिलो पटक होइन ।’
नेपालमा पेट्रोलियम पदार्थको अभाव हुँदा सीमापारिका पेट्रोल पम्पहरूमा नेपाली नम्बर प्लेटका मोटरसाइकल र ग्यालेन बोकेका साइकलको लाम सामान्यझैं बनेको थियो, त्यतिबेला । कतिपयले मोटरसाइकलमा आफू प्रयोग गर्न लाम बस्थे भने कतिपय तस्करीका लागि । खुला सीमाको लाभ उठाउँदै मोटरसाइकलको ट्यांकी भरेर नेपालमा चर्को मूल्यमा इन्धन बेच्ने काम भएको मधेशकेन्द्रित दलका नेताहरू समेत स्वीकार्छन् ।
मधेश आन्दोलन उत्कर्षमा पुगिरहेका बेला तस्करहरूका कारण सकारात्मक परिणाम आउन नसकेको आन्दोलनमा सक्रिय रहेका युवा बताउँछन् । ‘काठमाडौंलाई झक्झक्याउन नाकाबन्दी गरियो, तस्करहरूका कारण त्यहाँ अभाव भएन,’ युवा सुशील सिंह भन्छन्, ‘हामीले नाकामा बसेर धर्ना दियौं । तर, तस्करहरूले तेल पुर्याइरहे ।’
तस्करहरूबाट बरामद गरेको पेट्रोलियम पदार्थ प्रहरीहरूले आफ्नो प्रयोगमा ल्याएको उनी सम्झिन्छन् । पूर्वपश्चिम राजमार्गमा गुड्ने गाडीको छत पेट्रोलियम पदार्थ राखिएका ग्यालेनहरूले भरिएका हुन्थे । र, प्रहरीकै संरक्षणमा काठमाडौंसम्म पुग्थ्यो ।
नाकाबन्दीका बेला इन्धन जम्मा गर्ने मुख्यस्थल बनेको थियो, महोत्तरीको बर्दिवास । मधेश आन्दोलनका कारण धनुषा र महोत्तरीका सबै स्थान प्रभावित बने पनि बर्दिवासलाई छोएको थिएन । बजार, कलकारखाना, शैक्षिक संस्था, यातायात सबै सञ्चालनमा थिए, त्यहाँ । र, त्यही कारण तस्करहरूलाई भण्डारण गर्न सहज बनेको थियो, बर्दिवास ।
तेलको तस्करी नभएको भए माग सम्बोधन हुनसक्ने अवस्था रहेको आन्दोलनमा लागेका सुमित मण्डल बताउँछन् । तस्करहरूका कारण नाकाबन्दीको उद्देश्य नै विफल भएको उनको भनाइ छ ।
सीमामा आफूहरूले नाकाबन्दी गरेको दाबी मधेशकेन्द्रित दलहरूले गरिरहे पनि नेपाल सरकारले त्यसलाई अझै मानेको छैन । भारत सरकारले मधेश आन्दोलनको बहानामा नाकाबन्दी गरेको तत्कालीन प्रधानमन्त्री केपी ओलीले सार्वजनिक रूपमै बताएका थिए । यस्तै, लोकसभालाई सम्बोधन गर्दै भारतका विदेश मन्त्री सुषमा स्वराजले पनि भनेकी थिइन्, ‘नेपालमा यो नाकाबन्दी पहिलो पटक होइन ।’ स्वराजको त्यो अभिव्यक्तिबाट पनि नाकाबन्दी कसले गरेको प्रष्ट्याउन सकिन्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४