शुक्रबार, साउन १, २०८३

संविधान रोक्न यस्ता 'अफर' र धम्की पनि आए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
संविधान विशेष

काठमाडौं- संविधानसभाबाट संविधान जारी गर्ने कुरा निकै चुनौतीपूर्ण थियो। ००७ सालदेखि जनताले चाहेको विषय थियो त्यो। संविधानसभाबाट संविधान बन्नु हुँदैन भन्नेहरू पनि क्रियाशील थिए। संविधानसभाबाट संविधान बनाउने र नबनाउनेबीचको तानातानमा हामी ०६२/६३ को आन्दोलनमा आइपुग्यौं। त्यसपछि मात्रै संविधानसभा गठन सम्भव भयो। र, संविधानसभाबाट संविधान बन्ने आधार तयार भयो।

यसबाट हामी बुझ्न सक्छौं, यसका लागि कति चुनौती र अप्ठ्यारा थिए भनेर । संविधानसभा गठन भयो। त्यसले अनेक महत्वपूर्ण काम गर्यो। तर, पहिलो संविधानसभाबाट संविधान बन्न सकेन।

धेरै मिहिनेतपछि दोस्रो संविधानसभाको चुनाव भयो। त्यसले पहिलो संविधानसभाले गरेका राम्रा कामको स्वामित्व लिँदै दोस्रो संविधानसभाबाट  संविधान जारी गर्न सफल भयौं।

धेरै चुनौती पार लगाउँदै संविधान जारी भयो। चुनौती र अप्ठ्यारालाई हामीले पार लगायौं। अन्तिम दिनको अन्तिम क्षणसम्म पनि संविधान बन्छ कि बन्दैन भन्ने थियो। मलाई अन्तिम क्षणको सम्झना छ। सहमतिका लागि कोशिस गर्नुपर्छ, हतार भएको छैन भन्ने दबाब पनि थियो। तर, त्यो एक दिन मात्रै सरेर ढिला भएको भए संविधान बन्ने थिएन। किनभने, संविधानसभाबाट संविधान नबनोस् भन्ने प्रयत्न त्यत्तिकै थियो। यो चुनौतीका बीचमा हामीले संविधान बनायौं।

संविधान जारी गर्न निकै चुनौती थिए। अप्ठ्याराहरू नजिकमा थिए। कतिपय कुराहरू बाहिरबाट देखिँदैनथे । हामीले भने नजिकबाट त्यो महशुस गरेका छौं। सीधै संविधानसभाबाट संविधान बन्न दिँदैनौं नभन्ने तर विभिन्न नाम र निहुँबाट संविधानसभाबाट संविधान बन्न नदिने प्रयास भएका थिए।

यसलाई सारौं, हतार नगरौं भन्नेले नै संविधान बन्न नदिनुभएको भन्ने मलाई छैन। उहाँहरूको गलत नियत छ भनेर पनि म भन्दिनँ। कतिपय साथीहरू इमानदारसाथ अलिकति थप प्रयास गर्नेहरू पनि हुनुहुन्थ्यो। तर, संविधान जारी गर्ने कुरालाई पर सार्नुपर्छ भन्नेहरू पनि हुनुहन्थ्यो । यो अनिश्चिततालाई चिर्न तोकिएको समयमा संविधान जारी गर्नुको विकल्प थिएन।

संविधान जारी गर्न नदिने दबाब त भनिसाध्य थिएन। लोभलालच, धम्कीलगायत विभिन्न प्रकारका दबाब आएकै हुन्। त्यसलाई हाँसी-हाँसी टार्ने काम भयो। तपाईंहरूले राख्नुभएका कुरालाई ध्यानमा राखौंला भन्दै अगाडि बढ्ने काम भयो। एक मिनट पनि ढिला गर्नुहुँदैन भन्ने भित्री मनमा अठोठ थियो। त्यही अठोटका साथ अगाडि बढ्दा सफलता प्राप्त भयो।
 
संविधान खराब छैन, एकदम राम्रो छ । संविधानमा कतै खराबी छ भने मलगायत हामीमा छ, त्यसलाई कार्यान्वयन गर्नेहरूमा छ।

संविधान जारी गर्ने बेलामा एउटा खुशीको कुरा थियो। संविधान जारी गर्ने बेलामा मुख्य राजीनितक दल एक ठाउँमा उभिएका थिए। त्यसैले हामीलाई संविधान जारी गर्न सजिलो भयो।

संविधान पारित हुँदाको क्षण ऐतिहासिक हो। नेपालको संविधान पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा राख्दा, दुई तिहाइ मत विभाजनबाट निर्णय लिँदा र मत परिणामको घोषणा गरेर नेपालको संविधान पारित भएको घोषणा गर्दछु भन्दाको त्यो क्षण म कहिल्यै बिर्सन सक्दिनँ।

त्यसबेलाको संविधानसभाको बैठक कक्षको मलाई सम्झना छ। संविधान पारित भएको घोषणा गर्छु भनेर निर्णय सुनाउँदा लामो समय माननीय सदस्यहरूले टेबल थपथपाएको त्यो क्षण पनि भुल्न सक्दिनँ। सिंगो देशको खुशी त्यहाँ अभिव्यक्त भएको थियो। ७० वर्षदेखिको जनताको भावना र चाहनाले मूर्त रूप प्राप्त गरेको थियो। जनताले जनताका लागि संविधान निर्माण गरेको सफलताको प्रतीक थियो त्यो।

हुन त, संविधानसभामा संविधान पारित गर्ने प्रक्रियामा गएपछि अबचाहीं संविधान निर्माण हुने भो भन्ने मलाई लागेको थियो। अगाडि जान्छ र पारित हुन्छ भन्ने कुरामा म विश्वस्त थिएँ। जब हामी प्रक्रियामा अगाडि बढ्ने निष्कर्षमा पुगेका थियौं, त्यतिबेलै म अलि विश्वस्त थिएँ।

संविधान जारी भएपछि ममाथि अनेक टिप्पणी भएको सुनेको छु । कसको सरकार बनाउन, कसलाई प्रधानमन्त्री बनाउन हतार गरेको भनेको यदाकदा सुनेको छु । पहिलो संविधानसभा गठन भएर दोस्रो संविधानसभा गठन गर्ने अठोटका साथ जनताका बीचमा चुनावको सन्दर्भमा जनताले फेरि किन आयौ संविधान बनाउँछौ भनेर सोधेका थिए। दलहरूले आफ्ना घोषणापत्रमा राखेका थिए- 'एक वर्षसम्म सहमतिको प्रयास गर्छौं, अघिल्लो संविधानसभाले गरेको राम्रा कामको स्वामित्व ग्रहण गर्छौं, त्यसलाई टेकेर सहमतिबाट संविधान बनाउन अगाडि बढ्छौं।'

एक वर्षसम्म सहमति भएन भने प्रक्रियाबाट भए पनि यो पटक संविधान जारी गर्छौं भनेका थिए। जनताले त्यसलाई समर्थन गर्दै जनादेश दिएका थिए। जनादेशलाई ख्याल गरेर मैले प्रक्रिया अगाडि बढाएको हुँ।

संविधान प्रष्ट छ। यसमा कुनै पनि अन्योल छैन। मैले पटक-पटक भन्ने गरेको छु, संविधान खराब छैन। संविधान एकदम राम्रो छ। संविधानमा कतै खराबी छ भने मलगायत हामीमा छ, त्यसलाई कार्यान्वयन गर्नेहरूमा छ।

(तत्कालीन संविधानसभाका अध्यक्ष नेम्वाङसँग बालकुमार नेपालले गरेको कुराकानीमा आधारित)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।