काठमाडौं- देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा पाँच जना मृत फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मकवानपुर, ईन्द्रसरोबर गाउँपालिका-३ ज्यामिरे बस्ने ३५ वर्षीया सरस्वती वाईबा सोही ठाउँस्थित बारीमा शनिबार मृत अवस्थामा फेला परेकी छिन्। गत मंसिर १३ गतेदेखि हराएकी उनको खोजी गर्ने क्रममा उक्त बारीमा खाल्डोमा पुरिएको अवस्थामा शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रदेश प्रहरी कार्यालय समेतबाट डग सहितको टोली खटीगएर थप अनुसन्धान गरिरहेको छ।
स्याङ्जा, गल्याङ नगरपालिक-११ निमाघाटस्थित कालिगण्डकी नदी किनारमा पाल्पा बगनाशकाली गाउँपालिका-८ बस्ने ५८ वर्षीय यज्ञ प्रसाद बस्याल शनिबार मृत अवस्थामा फेला परेका छन्।
नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका-९ भानुनगर बस्ने २० वर्षीय मनिष पुलामी मगर आफ्नै घरको सुत्ने कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन्।
डोटी, शिखर नगरपालिका-२ मुडेगाउँ कठाली बस्ने ३५ वर्षीय गोविन्द बोगटी शनिबार मृत अवस्थामा फेला परेका छन्। सोही नगरपालिका-२ सालमनी मन्दिर नजिक सेती नदीमा नुहाउने क्रममा नदीले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डोटी र ईलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा नदीले बगाएको स्थानबाट करिब ४ सय मिटर तल शव फेला परेको हो।
मोरङ, विराटनगर महानगरपालिका-१६ स्थित चौरीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।