काठमाडौं- सुनसरी, सप्तरी र कैलालीमा भएका मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
सुनसरीको बराहक्षेत्र नगरपालिका ३ नहडामा तीन ओटा मोटरसाइकल आपसमा ठोक्किंदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते छन्।
प्रदेश १-०२-०४३ प १७१, को३८प ९२१० र को १७ प ६९४४ नम्बरका मोटरसाइकल हिजो साँझ सवा ६ बजे ठोक्किएका थिए। दुर्घटनामा ६९४४ नम्बरको मोटरसाइकलका चालकको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ। उनको सनाखत हुन बाँकी छ। घाइते भएकाहरुको सोही अस्पतालमा उपचार भइरहेको छ।
यसैगरी सप्तरीको रुपनी गाउँपालिका ६ वीरेन्द्रबजारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। हिजो बेलुकी साढे ८ बजे स४प १६३८ नम्बरको मोटरसाइकल सडकमा थुपारिएको माटोको ढिस्कोमा ठोकिएर दुर्घटना हुँदा सो मोटरसाइकलका चालक अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको हो। उनको उपचारको क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा बेलुकी सवा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। उनको सनाखत हुन बाँकी छ।
यसैगरी कैलालीको गोदावरी नगरपालिका ७ हरैयाचोकमा ट्याक्टरमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ। रोकिराखेको सुदूरपश्चिम प्रदेश-०१-००२ त ६४६४ नम्बरको ट्याक्टरमा से७प ७७९३ नम्बरको मोटरसाइकल गएराति साढे ९ बजे ठोक्किंदा मोटरसाइकल चालक कञ्चनपुर राजघाटका २३ वर्षीय छविलाल चौधरीको मृत्यु भएको। उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा राति सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।