जनकपुरधाम- आफूले लिएको ऋणबाट साहुलाई दुई सय रुपैयाँ तिर्न नसकेपछि करागार चलान भएका जनकपुरका राधाकृष्ण खत्वे हिरासतमुक्त हुने सम्भावना बढेको छ। राधाकृष्णलाई रिहा गर्न दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट उपर सुनवाइ गर्दै उच्च अदालत जनकपुरले बिहिबार सरोकारवाला सबैलाई उपस्थित हुन आदेश दिएको छ।
साहुलाई दुर्इ सय रुपैयाँ तिर्न नसकेपछि एक वर्ष करागार सजाय पाएका जनकपुर-१२ कुवा बस्ने ६० वर्षीय राधाकृष्ण आइतबार जेल चलान भएका छन्। प्रदेश २ का मुख्य न्यायाधिवक्ताको कार्यालयले सोमबार उच्च अदालत जनकपुरमा राधाकृष्णलाई गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएको थियो।
रिट निवेदन उपर सुनवाई गर्दै उच्च अदालतका न्यायाधीश ध्रुवराज चन्दको एकल इजलासले बन्दी राधाकृष्णसहित जिल्ला प्रहरी कार्यालय, कारागार र जिल्ला अदालतको नाउँमा आदेश जारी गर्दै बिहिबार १० बजे उपस्थित हुन भनेको छ।
आदेशमा भनिएको छ,‘बन्दीसँग सम्बन्धित लेनदेन मुद्दा र विगो मुद्दाको सक्कल मिसिल सहितका कागजात साथै राखी उच्च सरकारी वकिल कार्यालय मार्फत विपक्षी नम्बर १ ले लिखित जबाफ पेश गर्नु।’ रिटमा विपक्षी नम्बर १ जिल्ला अदालत धनुषालाई बनाइएको छ।
राधाकृष्णलाई रिहा गर्न दायर रिटमा मुख्य न्यायाधीवक्ता दिपेन्द्र झाले आफैं बहस गरेका थिए। साहुले सवाभन्दा बढी ब्याज लिन नसक्ने देवानी कानुनमा व्यवस्था रहेपनि राधाकृष्णसँग विपरित भएको देखिएको मुख्यन्याधिवक्ता झाले नेपाल समयलाई जानकारी दिए । र, यसै आधारमा राधाकृष्ण रिहा हुने अधिकतम संभावना रहेको उनले बताए।
स्थानीय विक्रम यादवसँगको लेनदेन मुद्दामा जिल्ला अदालत धनुषाले जेल सजाय सुनाएका राधाकृष्ण आइतबार आफैं अदालत पुगेर जेल चलान गरी दिन आग्रह गर्दै निवेदन दिएका थिए।
राधाकृष्णले गाउँकै बिक्रमसँग २०४६ साल साउन १५ गते १ हजार रुपैयाँ ऋण लिएका थिए। साहु विक्रमले तीन हजारको कपाली तमसुक बनाए । ऋण लिएको ९ महिनापछि राधाकृष्णले ८ सय रुपैयाँ साहुलाई फिर्ता गरेका थिए।
बाँकी रहेको मुलधन दुई सय र २ सय ७० ब्याजसहित ४ सय ७० रुपैयाँको सावा ब्याज गरी २०४९ भाद्र १५ गते २९ हजार मुलधन राखी अर्को कपाली तमसुक बनाए । २०६३ पुषमा जिल्ला अदालत धनुषाले उक्त रकमको साँवा ब्याज गरी १ लाख ६५ हजार बिगो भराउने फैसला सुनाएको थियो। रिक्सा चलाएर आठजनाको परिवार चलाउँदै आएका राधाकृष्ण जेल चलान भएपछि उनको परिवारमा समस्या परेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४