काठमाडौं- नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले वर्तमान सडेगलेको राज्य संयन्त्रबाट न्यायको बिलाप गरिरहेका निर्मलाका आमाबुबालाई चित्त बुझाउन नसक्ने बताएका छन्।
संघीय संसद अर्न्तगत प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर नेता गिरीले बोल्दा गर्दा सत्ता पक्षका सांसदलेसमेत समर्थनमा टेवल ठोकेका थिए। सदनको बैठक कक्षमा सन्नाटा छाउने गरी भाषण गरेका गिरीले सरकारको बचाउ मात्र गरेनन्, आफ्नै दलको नेतृत्वप्रति आक्रोश समेत पोखे।
उनले मुलुकमा बारम्बार सत्ताको हस्तान्तरण भए पनि सत्ताको रुपान्तरण नहुँदा वर्तमान 'सडेगलेको राज्य संयन्त्र'ले गर्दा पीडितले न्याय नपाएको ठोकुवा समेत गरे। चाहे वा नचाहे पनि गत साउन १० गते कञ्चनपुरको भिमदत्त-१९ मा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्या प्रकरणको वास्तविकता के हो? भनेर आफूले सरकारलाई नसोधे वीपी र गान्धीजीप्रतिको न्याय नहुने समेत बताए।
‘निर्मला...एक महिला, महिला आफैंमा उत्पीडित, त्यसमाथि बलात्कृत र हत्या। तिनको पीडाप्रतिको संवेदनशीलतालाई ध्यानमा राखेर प्रतिपक्षीले बोल्दा आलोचना र विरोध भन्ने?’, गिरीले भने ‘यो प्रतिपक्षीको कर्तव्य हो। यो समस्या एक दिनको वा सत्तारुढ पार्टीले खडा गरेको समस्या होइन।’
उनले मुलुकको वर्तमान राज्य संयन्त्रले बारम्बार बलात्कार हुँदा वा हत्या हुँदा पनि काम अघि बढाउन नसकेकै हो। सदनमा विशेष समय लिएर बोलेका नेकपाका सांसद खगराज अधिकारीप्रति लक्षित गर्दै गिरीले एक जनाले देखेको सत्य अर्कोलाई सत्य नलाग्न सक्ने भन्दै सत्यको एकाधिपत्य नदेख्न आग्रह गरे।
गिरीले भने, ‘गान्धीसँग एउटा दर्शन थियो,‘अनेकान्तवाद। उनले यो जैन दर्शनबाट पैंचो लिएका थिए। यो दर्शनको मुख्य आधार तपाईं सत्य हुनसक्नु हुन्छ र अर्को पनि सत्य हुनसक्छ। म मात्र सत्य छु भनेर दाबी गर्नु हुँदैन। एउटा सत्यकाप्रति मेरो एकाधिपत्य छ। सत्य मेरो मनोपोली हो भन्ने विचार ठीक होइन।’
उनले कुनै पनि लोकतान्त्रिक समाजकालागि हाम्रो विरोधी र उपविरोधी पनि कदाचित कतिपय कुरामा ठीक छ कि? भनेर ध्यान दिन र सत्यको एउटा मात्र अनुहार हुँदैन भन्ने बुझ्न आग्रह गरे।
उनले भने, ‘पुष्पलालप्रति कांग्रेसका सारा यूवाको विश्वास थियो। उहाँ सँधै कांग्रेससँग मिलेर क्रान्ति गर्नुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो। पुष्पलालजीलाई सम्झँदै भन्न चाहन्छु कि, ‘तलमाथि भएको खण्डमा वा संविधानको रक्षा गर्नु परेमा वा सरकारका बिरुद्धमा कुनै षडयन्त्र भएको खण्डमा सिंगो नेपाली कांग्रेस सरकारलाई साथ दिनेछ।’
नेतासँग राय बझाएर भए पनि सही कुरालाई सही भनेर कांग्रेसका सांसदले भन्दै आएको स्मरण गर्दै गिरीले कांग्रेसले कुनै पनि प्रतिक्रियावादी र षडयन्त्रकारी कदमलाई सहयोग गर्दैन भन्ने बिषयमा ढुक्क रहन आग्रह गरे।
गिरीले संविधान दिवसको अवसरमा मधेश केन्द्रित दलहरुले चियापान किन बहिस्कार गर्दैछन्? वा उनीहरु किन कालो दिवस भनेर मनाउँदैछन्? त्यसतर्फ गम्भिर हुन प्रमुख दलका नेता र सरकारको ध्यानाकर्षण समेत गराए। संविधान दिवसको अवसरमा राष्ट्रपतिले चियापान गर्ने प्रावधान हुन्छ।
गान्धिको दर्शनबाट सिक्न सरकारलाई आग्रह गर्दै गिरीले भने ‘गान्धि कुनै कितावी वा डिग्री हालिस गरेका होइनन्। गान्धिले सिक, सिकेर नथाक, जनताबाट सिक भन्ने गर्थे। विरोधको नाममा विरोध गर्दै जाँदा कसैले तपाईँको एउटा आँखा फुटायो भनेर त्यसको प्रतिकारमा उसको अर्को आँखा फोड्दा उसको सिंगो संसार नै अन्धो हुनेछ।’
‘त्यसैले विरोधीकाप्रति समझदारी र सहानुभूति राख्नु पर्छ भन्ने बुझ्नु पर्छ। कानुन र इन्साफका बारेमा गान्धी कानुनी शासन र व्यक्तिगत सर्वोच्चतालाई उच्चतम प्राथमिकता दिन्थे। गान्धीको प्रभावमा लेखिएको संविधान समेत गान्धिका सबैभन्दा ठूला आलोचक भनेर चिनिएका डा अब्डेकरलाई गान्धिले संविधान निर्माणको जिम्मेवारी दिए’, गिरिले भने।
भारतमा अब्डेकरको अध्यक्षतामा निर्माण भएको संविधानलाई तमिल नाडुले नस्वीकारेको र तमिल नाडकुका तत्कालिन नेता अन्नबुडाईले चुनाव लडे तर सपथ लिएनन। करिव १० बर्षपछि उनै अन्नादुराई (कोन्जिभराम नाताराजन अन्नादुराई) ले संविधानको समर्थन गरेर हामी बदलियौं र हामीलाई जुन स्वतन्त्रता र स्वाधिनता दिइएको छ, त्यो संविधानले नै हो भनेका थिए।
‘कृपया इतिहास अध्ययन गर्नु होला। तीन बर्ष मात्र भयो, हामीले संविधान ल्याएको। मधेशले खोजेको विभिन्न हक र अधिकारका बारेमा जुन प्रकारको कुरा गरिँदैछ र राजनीति गरिँदैछ त्यसले हामीलाई जिम्मेवार बनाउँदैन तर मधेशवादीहरुले उत्ताउला कुरा गरिरहेको कसैलाई अनुभूति छ भनेर हुन्न। ती मागलाई सम्बोधन गर्ने प्रयास के सरकारले गरेको छ? गिरीको प्रश्न थियो।
प्रतिपक्षी र प्रत्येक सांसद सबैले संविधानलाई सर्वस्वीकार्य बनाउने मुख्य जिम्मेवारीबाट भाग्न नमिल्ने बताए। संविधान जारी भएको तीन बर्षपछि पनि आज संविधानको आलोचना ठीक ठाउँबाट भइरहेको उनको दाबी थियो।
गान्धी पनि आखिरी दिनमा मर्नुभन्दा केही समय अघि नेहरु र पटेलको गतिविधिबाट धेरै असन्तुष्ट थिए। धेरै विव्हल भएका थिए। १५ अगस्ट १९४७ मा दिल्लीमा दिपावली मनाईँदै थियो। तर गान्धि आजको बंगलादेशको नुवाखली भन्ने ठाउँमा एक्लै घुम्दै थिए।
त्यसवेला उनले डायरीमा लखेका थिए कि सबैले मलाई छोडे, सबैले अन्याय गरे भनेर जीवनमा तिमीमा धरमरको स्थिति आयो भने कुनै निर्णय गर्दा यस निर्णयले समाजका सर्वाधिक उत्पीडित व्यक्तिका उपर के असर गर्छ त्यो हेर्नु।
हाल देखिएको समस्यालाई तत्काल हिंसा, बल र जालझेलबाट समाधान गर्न नसकिने भन्दै सबै सरोकार पक्षको बैकल्पिक संयन्त्र निर्माणको बिकल्प नभएको बताए।
उनले सत्ताको हस्तान्तरण भए पनि सत्ताको रुपान्तरण नभएको भन्दै कांग्रेसको सरकार हुँदा वा पार्टीका प्रधानमन्त्री भएको पालामा र सामान्य बहुमत भएको बेलामा माओवादीको नाममा अगाडि बढीका बिद्यार्थी र यूवकलाई बर्बर ढंगले अत्याचार नगरिएको भए देश रक्तपातमा नजाने ठोकुवा गरे।
‘मै खाउँ मै लाउँ भन्ने विकासको मोडलले कहिल्यै पनि समाजवादको कुरा त छाड्दिनुस, समृद्धी त छोड्नुस, कल्याणकारी राज्य पनि बनाउन सक्दैन’, गिरीले भने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...