मोरङ- साढे ३३ केजी सुन तस्करी र सनम हत्या प्रकरणका आरोपी निलम्बित प्रहरी उपरीक्षक विकासराज खनाललार्इ पनि उच्च अदालत उच्च अदालत विराटनगरले साधारण तारेखमा रिहा गर्न आदेश जारी गरेको छ।
मंगलबार न्यायाधीशद्वय नागेन्द्रलाभ कर्ण र थीरबहादुर कार्कीको इजलाशले जिल्ला अदालत मोरङको फैसला बदर गर्दै खनाललाई साधरण तारेखमा रिहा गर्न आदेश दिएको हो।
खनालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत रहँदा सुन तस्कर समूहबाट नियमित घुस लिने गरेको अनुसन्धानमा खुलेको थियो। खनाल पक्राउ पर्नुभन्दा पहिले मकवानपुर प्रहरी प्रमुख थिए। अनुसन्धानका क्रममा अनाल सनम शाक्य हत्यापछि पनि बारम्बार चुडामणि उप्रेती गोरेसँग सम्पर्कमा रहेको खुलेको थियो।
साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्याबारे अनुसन्धान गर्न गठित उच्च स्तरीय समितिले गरेको अनुसन्धानका क्रममा सुन तस्करीको विवरणसहितको रजिष्टर बरामद गरेको थियो, जहाँ ४२१ पटक विभिन्न परिणाममा सुन तस्करी भएको खुलेको थियो ।
मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’को नेतृत्वमा साढे ४ वर्षमा झण्डै ३८ क्वीन्टल सुन तस्करी भएको निष्कर्ष समेत निकालिएको थियो। त्यसक्रममा रजिष्टरको एउटा पन्नामा एसपी खनालले दुई पटक गरेर ५० लाख रुपैयाँ लिएको भेटिएको थियो। रजिष्ट्ररमा सुन ल्याउने व्यक्तिको नाम, परिणाम, ल्याएको व्यक्तिको नाम र भरियाको नाम समेत थियो।
सुन तस्करको समूहले तत्कालिन विमानस्थल प्रहरीको सिङ्गो सेटसँगै सेटिङ मिलाएको सह-सचिव र्इश्वरराज पौडेल नेतृत्वको समितिले दाबी गरेको थियो। प्रहरीसँग सेटिङ मिलाउन मात्रै कुल २ करोड २० लाख ७७ हजार रुपैयाँ खर्च भएको दाबी गरिएको थियो।
उच्च अदालतले यसअघि एसपी दिवस लोहनी, डिएसपी प्रजित केसीका र गोरेका सहयोगी रामकुमार तिवारीलाई छोड्न आदेश दिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४