सुर्खेत- लोपोन्मुख जाति 'राउटे समुदाय' अर्थात् 'जंगलका राजा' विस्तारै फेरिँदै गएका छन् । कुनै समय शिकार खेलेर जीविका चलाउने उनीहरू आजभोलि शहरीया खानपान र अन्य समुदायसँग घुलमिलसमेत हुन थालेका छन् ।
पहिले-पहिले अरूसँग बोल्नसमेत रुचि नराख्ने राउटे हिजोआज सँगै बसेर भाषणसमेत गर्न सक्ने भएका छन् । पश्चिम नेपालका अछाम, सल्यान, सुर्खेत र दैलेखका विभिन्न ठाउँमा फिरन्ते जीवन बिताउँदै आएका उनीहरूले बासस्थानमा कुखुरा र खसी-बाख्रासमेत पाल्न थालेका छन् ।
अन्य समुदायसँग नजिकै नपर्ने उनीहरूले दैलेखको गुराँस गाउँपालिकाको स्थायी परिचयपत्रसमेत लिएका छन् । पहिलो पटक मातृभूमिको परिचय लिएसँगै उनीहरूले नियमित रूपमा भत्ता पाउन थालेका छन् । परिचयपत्रले राउटेहरूलाई सेवा सुविधा वितरणमा सहज भएको गाउँपालिका अध्यक्ष खेमराज वली बताउँछन् । 'तथ्यांक संकलन भएपछि नियमित रूपमा भत्ता दिँदै आएका छौं,' ओली भन्छन्, 'राउटेहरू जहाँ पुग्छन्, हामी त्यहीं पुगेर भत्ता दिन्छौं ।'
परिचयपत्रका कारण भत्ता लिन सहज भएको राउटेका महामुखिया मैनबहादुर शाही बताउँछन् । 'पहिले भत्ता पाउने ठेगान हुन्थेन,' शाही भन्छन्, 'भत्ताका लागि सरकारलाई गुहार्नुपथ्र्याे ।'
'नियमित रूपमा भत्ता पाउन थालेपछि हाम्रा जनता खुशी छन्,' अर्का मुखिया वीरबहादुर शाही भन्छन् । केन्द्र सरकारले गत ३१ जेठमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् राउटेको नामथर र ठेगाना खुल्ने गरी परिचयपत्र वितरणको व्यवस्था मिलाउन गाउँपालिकालाई परिपत्र गरेको थियो । अहिले राउटे समुदाय दैलेखको गुराँस गाउँपालिका-८ मा बसोवास गर्दै आएका छन् ।
नाजुक शिक्षा र स्वास्थ्य
देउता रिसाउने डरले स्वास्थ्य संस्थामा जान नमान्ने उनीहरू शिक्षाको पहुँचबाट समेत टाढा छन् । विरामी पर्दा वा चोटपटक लाग्दा पनि उनीहरूले औषधी उपचार गर्दैनन् । गर्भनिरोधक साधन प्रयोग नगर्दा महिलाहरूको अवस्था झनै नाजुक बन्दै गएको छ । बर्सेनि बालबच्चा जन्माउँदै आएका महिलाहरूको जीवन जोखिममा छ ।
गर्भवती अवस्थामा महिलाहरूको मृत्यु हुनु र बालबालिकाको स्याहार सुहारमा ध्यान दिन नसक्दा राउटेको संख्या पनि घट्दै गएको छ । कुनै समय ४/५ सयको संख्यामा रहेका उनीहरूका अहिले ४२ घरधुरी र एक सय ४९ जनाको संख्यामा छन् ।
राउटे समुदायमा मुखियाले आफूपछि मुखिया हुने व्यक्तिलाई सिकाउनेबाहेक अन्य शिक्षा दिने चलन छैन । विद्यालयमा पुगेर शिक्षा लिन न उनीहरूको संस्कारले मान्छ, न त सम्भव नै हुन्छ । जसले गर्दा विद्यालय जाने उमेरका राउटे बालबालिका शिक्षाबाट वञ्चित हुँदै आएका छन् । राउटेको बस्तीमै पुगेर शिक्षा दिने व्यवस्था भए आफूहरू पढाउन तयार रहेको अर्का राउटे सूर्यनारायण शाही बताउँछन् ।
'दैनिक १०/१२ जना मान्छे आउँछन् । महिलाहरूसँग फोटो खिचाउन दिँदैनौं तर हामीसँग सेल्फी लिन्छन् ।'
मदिरा र सूर्तिको कुलत
शहरीया जीवनमा आएसँगै राउटे समुदाय विस्तारै विभिन्न कुलतमा फस्न थालेका छन् । रक्सी र सूर्ति उनीहरूको दैनिक खुराकजस्तै बनेका छन् । यस्तै, मोबाइलमा अश्लील भिडियो र तस्बिरहरू उनीहरूको थप रुचिको विषय बनेका छन् । यस्ता अश्लील कुराले समुदायमा हिंसा फैलिने डर बढ्दै गएको छ ।
देशका विभिन्न ठाउँमा हत्या, हिंसा र बलात्कारका घटना सार्वजनिक भइरहेका बेला राउटे समुदायमा पनि सुरक्षाको चिन्ता बढ्न थालेको छ । 'देशमा के-के भयो भन्छन्,' मुखिया शाहीले भने, 'हाम्रा जनताका लागि पनि सुरक्षा चाहियो ।'
राउटे महिलाहरू बस्तीमा दिनभर एक्लै बस्छन् । पुरुषहरू आउँदा डराउँछन् । पुरुषहरू जंगलमा शिकार खेल्न गएको समयमा महिलाहरू असुरक्षित हुने उनको भनाइ छ ।
पर्यटकका केन्द्र
अन्य समुदायसँग घुलमिल हुन थालेपछि राउटे समुदाय पर्यटकका केन्द्रसमेत बन्न थालेका छन् । राउटेसँग सेल्फी लिने रहरले आन्तरिक पर्यटकहरू बस्तीमै पुग्ने गरेका छन् ।
'दैनिक १०/१२ जना मान्छे आउँछन्,' सूर्यनारायण भन्छन् 'महिलाहरूसँग फोटो खिचाउन दिँदैनौं तर हामीसँग मात्रै सेल्फी लिन्छन् ।'
सडक नजिकै बसेपछि अझै पर्यटकहरू आउने गरेको उनको भनाइ छ । केही समयअघि जापानका पर्यटकसमेत राउटे बस्तीमा पुगेका छन् । राउटे समुदायको जीवनशैलीबारे जानकारी लिन जापानबाट आएका पर्यटकहरूलाई राउटे समुदायले आफ्नो संस्कृतिमा आधारित नाच देखाएर स्वागत गरेका थिए । उनीहरूले अन्य पर्यटकहरूलाई पनि आकर्षण गर्न तथा आफ्नो संस्कृति विश्वभर चिनाउन नाचद्वारा स्वागत गरिएको प्रतिक्रिया दिए ।
कुनै समय ४/५ सयको संख्यामा रहेका राउटेहरू अहिले ४२ घरधुरी र एक सय ४९ जनाको संख्यामा मात्र छन् ।
सामान नविक्दा आर्थिक समस्या
यस्तै, राउटे समुदायले बनाउने काठका भाँडाहरू (कौशी, बाकस, सिलौटो, ओखल) जस्ता सामान नबिक्दा राउटेमा आर्थिक समस्या देखिएको छ । गाउँघरमा समेत शहरीया सामानले कब्जा जमाएपछि उनीहरूले बनाउने भाँडाहरू बिक्न छाडेका छन् ।
'कसै-कसैले मात्रै चिनोका रूपमा लिन्छन्,' राउटे मुखिया शाही भन्छन्, 'सामान नबिकेपछि आर्थिक समस्या छ ।' विगत ५/६ वर्षदेखि आफ्ना सामानहरू बिक्री नहुँदा निर्माण गर्नसमेत छाडेको उनको भनाइ छ । 'जंगलमा शिकार पाउन छोडेको छ,' अर्का राउटे सूर्यनारायण भन्छन्, 'बजारबाट खाद्यान्न ल्याएपछि मात्रै जनताको भोक मेटिन्छ ।' आर्थिक अभाव हुन थालेपछि राउटेहरूले आफ्नो नाममा आउने विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको हिसाब-किताबसमेत माग्न थालेका छन् ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४