काठमाडौं- कतारमा जारी फिफा विश्वकपमा आज आइतबार राति अफ्रिकन च्याम्पियन सेनेगल अर्को बलियो टोलि इंग्ल्यान्डविरुद्ध खेल्दैछ। अल बेत रंगशालामा हुने यो खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ।
अहिलेसम्म सेनेगल र इंग्ल्यान्डले एकअर्काविरुद्ध खेलेकै छैनन्। यो नै उनीहरुको पहिलो भेट हो। पहिलो भेटमा दुवै टोली स्वाभाविक रुपमा जितको खोजीमा हुनेछन्। आजको खेल जित्ने टोलीले क्वाटरफाइनलमा फ्रान्स र पोल्यान्डबीचको विजेतासँग खेल्नेछ।
सेनेगलले आफ्ना मुख्य खेलाडी साडियो मानेलाई चोटका कारण गुमाइसकेको छ। मतलब उनी आजको खेलमा हुनेछैनन्। वायर्न म्युनिखबाट खेलेको खेलमा खुट्टाको एंकलमा चोट लागेपछि उनले विश्वकप गुमाउने पक्का भएको हो। तर मानेको अनुपस्थितिमा पनि सेनेगलले राम्रो प्रदर्शन गर्दै अन्तिम १६ मा स्थान बनाउन सक्यो। सेनेगलले समूह चरणको पहिलो खेलमा नेदरल्यान्डसँग पराजित हुँदै प्रतियोगिताको खराब सुरुवात गरेको थियो। तर त्यसपछिका दुई खेलमा लगातार जित निकाल्दै समूह ए को उपविजेता बनेर नकआउट चरणमा पुग्ने दोस्रो अफ्रिकन टिम बन्यो। सेनेगल बाहेक मोरक्कोले मात्रै अफ्रिकाबाट नकआउट चरणमा स्थान बनाउन सकेको छ।
नकआउट चरणमा इंग्ल्यान्डविरुद्ध आफ्नो टिमले राम्रो प्रदर्शन गर्नेमा विश्वस्त छन् कप्तान कालिदो कुलिबाली। मिडियासँग कुरा गर्दै उनले भने, ‘हामी नकआउट चरणमा आइपुगेका छौं। यो हाम्रा लागि ठूलो कुरा हो। हामी टिम सबै एकजुट भएर देशका लागि खेलिरहेका छौं। अब क्वाटरफाइनल पुग्नका लागि हामी इंग्ल्याण्डसँग खेल्दैछौं। इंग्ल्याण्ड बलियो टिम हो। उ पछिल्लो समय धेरै खेलमा अपराजित पनि छ। तर हामी उसलाई पराजित गरेर अगाडि जाने लक्ष्यमा छौं र हामीलाई आशा छ हामी गर्न सक्छौं।’
इंग्ल्याण्डलाई प्रतियोगिताकै सबैभन्दा बलियो टिमको रुपमा हेरिएको छ। नयाँ तथा अनुभवी खेलाडीले भरिपूर्ण इंग्ल्याण्डलाई उपाधि जित्ने यो एउटा मौका पनि हो। अपराजित रहँदै नकआउट चरणमा स्थान बनाएको इंग्ल्याण्ड सोही नतिजालाई निरन्तरता दिन चाहन्छ। फेरि विश्वकपमा अहिलेसम्म इंग्ल्याण्ड कुनै पनि अफ्रिकन टिमसँग पराजित भएको छैन।

२९ वर्षे केन अब इंग्ल्याण्डका अलटाइम टप स्कोरर बन्न मात्रै दुई गोलले पछि छन्। वाइन रुनीले ५३ गोल गर्दै टप स्कोररमा आफ्नो नाम लेखाएर संन्यास लिएका थिए। उता केनले इंग्ल्याण्डका लागि ५१ गोल गरिसकेका छन्।
सेनेगलको सम्भावित ११
एडुवार्डो मेन्डी, कालिदो कुलिबाली, अब्दोउ डियालो, युउसोउफ साबाली, गाना गुए, चेइकोउ कोउयाटे, नामपालीस मेन्डी, इस्माइला सार, बोउलाय डिअ, बाम्बा डिएङ, निकोलस ज्याक्सोन
इंग्ल्याण्डको सम्भावित ११
जोर्डन पिकफोर्ड, ह्यारी मग्वायर, लुक शा, एरिक डाएर, जोन स्टोन्स, जुड बेलिङ्घहम, मासोन माउन्ट, , जोर्डन हेन्डरसन, फिल फोडेन, , ह्यारी केन, बुकायो साका