शुक्रबार, वैशाख १४, २०८१

लुम्बिनी प्रदेशकी एक्ली 'नमुना'

गठबन्धनको मत प्राप्त गर्न नसकेर प्रतिनिधिसभातर्फ युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले निर्वाचन हार्दा उनीसँगै निर्वाचन अभियानमा रहेकी कृष्णा भने त्यही निर्वाचन क्षेत्रको प्रदेशतर्फ राम्रै मतान्तरले विजयी बनेकी हुन्।
 |  आइतबार, मंसिर १८, २०७९

नवीन अभिलाषी

नवीन अभिलाषी

आइतबार, मंसिर १८, २०७९

नेपालगञ्ज- निर्वाचन जितेपछि अहिले पनि कृष्णा केसी 'नमुना' मतदाताकै घरदैलोमा छिन्। विजयको खुशी बाँड्न र धन्यवाद भन्न निर्वाचन क्षेत्रमै सक्रिय कृष्णाको यो दोस्रो कार्यकाल हो। 

triton college

यसपटकको निर्वाचनले उनलाई थप जिम्मेवारी दिएको छ। प्रत्यक्षमा ५२ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशसभाका ५१ क्षेत्रमा पुरुष उम्मेदवार निर्वाचित हुँदा विजयी हुने महिला उम्मेदवारमा उनी एकमात्रै हुन्। बाँके निर्वाचन क्षेत्र नम्बर १ (क) बाट नेकपा माओवादी केन्द्रकी केसी प्रदेशको एकमात्र महिला प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनी बाँकेबाट दोहोरिएर प्रत्यक्ष निर्वाचन जित्ने सांसद पनि हुन्। 

गठबन्धनको मत प्राप्त गर्न नसकेर प्रतिनिधिसभातर्फ युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले निर्वाचन हार्दा उनीसँगै निर्वाचन अभियानमा रहेकी कृष्णा भने त्यही निर्वाचन क्षेत्रको प्रदेशतर्फ राम्रै मतान्तरले विजयी बनेकी हुन्। सत्ता गठबन्धनकी साझा उम्मेदवार केसीले नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीलाई पराजित गरिन्। केसीले नौ हजार १०३ मत पाउँदा चौधरीले सात हजार ९६६ मत पाएका थिए। यसबाट उनले आफ्नो निर्वाचन क्षेत्रमा जनमतलाई जोगाइराख्न सफल भएको विश्लेषण गरिन्छ। 

१ हजार १३७ मतान्तरले पराजित गरी दोस्रो पटक जनताबाट प्रत्यक्ष चुनिएर प्रदेशसभाको यात्रा तय गरेकी कृष्णा आमनिर्वाचन २०७९ मा लुम्बिनीबाट प्रत्यक्ष निर्वाचित हुने एक्लो महिलाको रुपमा प्रदेशसभा सदस्य बनेकी छिन्। यसअघि २०७४ सालमा कांग्रेसका शरदचन्द्र बर्मालाई यही निर्वाचन क्षेत्रमा पराजित गरेकी थिइन्। 


corrent noodles
Metro Mart

जिल्लामा राजनीतिक कोर्ष परिवर्तन हुँदा उनले लगातार दोस्रो पटक निर्वाचित हुनुलाई उनको व्यक्तिगत प्रभाव मान्ने गरिएको छ। प्रदेशसभा संसदीय राजनीतिमा केसी माओवादीभित्र परिपक्व सांसदको रूपमा चिनिन्छिन्। २०३५ साल चैत १५ गते राप्ती सोनारी गाउँपालिका-१ मा जन्मिएकी कृष्णा केसीले ०४७ बाट राजनीति सुरु गरिन्। उनको परिवार २०४० को दशकतिर साविक रुकुम (हाल रुकुम पश्चिम) बाट बसाइँसराइ गरी झरेको थियो।

३ दशकभन्दा बढी नेकपा माओवादीको राजनीतिमा सक्रिय उनी दोस्रो कार्यकालका लागि जनताबाट अनुमोदित भएकी हुन्। तत्कालीन नेकपा माओवादीले सुरु गरेको सशस्त्र युद्धमा सुरुबाटै सहभागी भएकी उनी माओवादीको विद्यार्थी संगठन, महिला संगठन हुँदै बाँके जिल्ला सचिव र केन्द्रीय सदस्य समेत भएर काम गरेको अनुभव छ। केसी २०५४ चैतमा जेल समेत परिन्। २०५६ वैशाखमा जेलबाट छुटेर पार्टी राजनीतिमा झन् सक्रिय उनले माओवादीको सहर केन्द्रित आन्दोलनलाई नेतृत्त्व दिइन्। 

पार्टीले दिएका कठिन जिम्मेवारी पूरा गरेकी केसी पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को विश्वासपात्र मध्येकी एक हुन्। प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा सचिवालयमा बसेर जनताको काम गरेको अनुभव छ उनीसँग।  ‘नमूना’ अहिले नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा बाँके जिल्ला सहइन्चार्ज हुन्।

महेन्द्र बहुमुखी क्याम्पस बाँकेमा प्रमाणपत्र तह अध्यायन गरेकी कृष्णाले प्रदेशसभा सदस्य हुँदा अघिल्लो कार्यकालमा आफ्नो निर्वाचन क्षेत्र सहित प्रदेश क्षेत्रको नीति निर्माणमा उल्लेख्य काम गरेको दाबी गर्छिन्। 

'पाँच वर्षसम्म जनताका समस्याको समाधानमा पहल गर्ने काम गरेँ। मुख्यत त्यहि कारणले फेरि पनि जनताले मलाई राजेको हुन सक्छ,' उनी भन्छिन्, 'मैले राजनीति जनताकै लागि भनेर सुरु गरेको थिएँ र अहिले पनि म त्यही विचारमा दृढ छु। मेरा गतिविधिहरुले त्यसलाई संकेत गरी नै रहेछ भन्ने लाग्छ।'

उनी प्रदेशसभाको अर्थ, उद्योग तथा पर्यटन समितिकी सदस्य समेत बनेकी थिइन्। आफ्नो कार्यकाल समीक्षा गर्दै उनी भन्छिन्, 'पहिलो कार्यकाल नीति निर्माण र जग बसाल्ने काम प्रमुख रुपमा सम्पन्न भएका छन्, तर पनि विकासका केहि कामहरु भए,' उनले भनिन्, 'अबको काम भनेको जनताले महसुस गर्ने गरी काम गर्नुपर्ने दायित्व छ र त्यो पूरा गर्न सकिन्छ भन्ने विश्वास छ।'

बाँके क्षेत्र नम्बर १ मा विकास छैन। बाँकेको सबैभन्दा ठूलो र विकट निर्वाचन क्षेत्र हो यो। त्यसमा पनि कृष्णा केसीको निर्वाचन क्षेत्र अत्यन्तै विकट र विकासले पछाडि परेको क्षेत्र मानिन्छ। त्यहाँ विकासको नयाँ मोडल बनाउँदै पछाडि परेको क्षेत्रलाई मूलधारमा ल्याउन संसद्‍मा अझ बढी सशक्त कदम चाल्ने उनले बताइन्। 


नरैनापुर पटक-पटक समस्यामा पर्छ। विपद्को जोखिम, डुबानदेखि खडेरी र आगलागीबाट पीडित यो क्षेत्रका कृषकहरु सधैं समस्यामा रहन्छन्। ‘किसानका समस्या उस्तै छन्। मल आपूर्तिदेखि समयमै विउविजन नपाउने समस्या अहिले पनि उस्तै छन्,' उनले भनिन्, 'अबको राजनीति जनताका आधारभूत आवश्यकताको परिपूर्ति गर्दै विकासे काम गर्ने खालको हुनुपर्छ।' 

राज्यका हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाको अनिवार्य प्रतिनिधित्व छ। तर प्रत्यक्ष निर्वाचित हुने नगन्य महिलामध्ये उनी पर्छिन्। अर्कोतर्फ प्रदेश सभाका ५२ क्षेत्रमध्ये माओवादी ५ क्षेत्रमा खुम्चिएको छ। एमाले र कांग्रेसपछि तेस्रो दल बनेको माओवादीमा उनको जितलाई विशेष रूपमा हेरिएको छ। उनी निर्वाचित भएपछि उनले महिलाको लागि मात्र नभई सिंगो पार्टी राजनीतिको लागि संघर्ष गर्नुपर्ने भएको छ।

प्रकाशित: Dec 04, 2022| 13:36 आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।