सुर्खेत- कर्णालीका नागरिकलाई उपचारमा सहयोग पुर्याउन कर्णाली प्रदेश सरकारले एम्बुलेन्स किन्ने भएको छ। मन्त्रालयले यसै आर्थिक वर्षमा विभिन्न जिल्लाका लागि दश वटा एम्बुलेन्स किन्ने भएको जनाएको छ।
विरामीलाई उपचारका लागि तत्काल स्वास्थ्य संस्थासम्म पुर्याउन सहज हुने उद्देश्यले एम्बुलेन्स खरिद गर्न थालिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयले एम्बुलेन्स खरिदका लागि २ करोड ५० लाख रुपैयाँ स्वीकृत भएको छ।
यस्तै यातायातमा राष्ट्रिय सडकसँग नजोडिएका डोल्पा र हुम्लामा सरकारले अक्सिजन प्लान्ट खोल्ने भएको छ। अक्सिजन अभावको कारणको कुनै पनि विरामीको अकालमा ज्यान नजाओस् भन्ने उद्देश्यले अक्सिजन प्लान्ट खोल्न थालिएको हो। आर्थिक वर्ष २०७५-०७६ का लागि मन्त्रालयले स्किृत एक अर्ब ६९ करोड, ५० लाख, २४ हजार मध्ये अक्सिजन प्लान्ट निर्माणका लागि ७० लाख रुपैयाँ स्विकृत गरेको छ।
यस्तै सुर्खेतमा औषधि उद्योग स्थापना गर्ने समेत जनाएको छ । कर्णाली प्रदेशमा उत्पादित जडिबुटीहरूमा आधारित औषधि उद्योग स्थापनाकालागि चालु आर्थिक वर्ष २०७५-०७६ मा बजेट समेत छुट्याइएको छ।
मन्त्रालयले सुर्खेतमा जडिबुटीमा आधारित एउटा औषधि उद्योगको अध्ययन र त्यसको सुरुवात गर्नका लागि यस वर्ष १० लाख रूपैयाँ बजेट विनियोजन गरेको हो।
कर्णाली जडिबुटीको खानी भएकाले यहाँका जडिबुटीहरूको सदुपयोग गर्ने गरी सुर्खेतमा औषधी उद्योग स्थापना गर्ने योजना मन्त्रालयले अघि सारेको हो। कर्णालीलाई आत्मनिर्भर बनाउने योजना अन्तर्गत पनि औषधि उद्योग स्थापना गरिने जनाइएको छ।
जडिबुटीमा आधारित थप अर्को एउटा औषधि उद्योग पनि स्थापना गरिने भएको छ। उद्योग स्थापनाका लागि आवश्यक अध्ययन गर्न १० लाख रूपैयाँ नै बजेट छुट्याएको छ । यस्तै १० वटै जिल्लामा विशेषज्ञ डाक्टरसहितको घुम्ती शिविर सञ्चालन गर्न एक करोड विनियोजन गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४