कञ्चनपुर- मुलुकमा दिनानुदिन बेथिति बढिरहेको भएपनि सरकार मौन बसेको र अपराधजन्य कृयाकलापको संरक्षण गरेको भन्दै नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ।
स्थानीय तहमा विकास निर्माणका कामहरु गर्दा चरम भ्रष्ट्राचार गरेको भन्दै नेपाली कांग्रेस कृष्णपुर नगरपालिकाको स्थानीय तह अनुगमन तथा पैरवी समितिले विरोध प्रदर्शन गरेको हो। समितिका संयोजक तथा कृष्णपुर नगरपालिकाका मेयर पदमा पराजित हेमराज ओझाले स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधिलार्इ स्वतन्त्ररुपमा काम गर्न दिनुको साटो नेपाल कम्युनिस्ट पार्टीको संयोजकत्वमा पार्टी संयन्त्र बनाइ सन्चालन गरेको आरोप लगाएका छन्।
स्थानीय तहमा नगरशिक्षा समिति गठन नगरी शिक्षासँग सम्बन्धित कामहरुमा चरम लापरवाही गरेको, कमिसनका लागि सवारीसाधन खरिद गरेको तर तीनीहरुलार्इ इलाका प्रहरी कार्यालय गुलरियाको परिसरमा थन्क्याएको आरोप लगाइएको छ। नगरपालिकाका कामहरु गर्दा निजि सवारीसाधनहरुलार्इ भाडामा लिएर काम गर्ने गरेको, सोलार लाइटमा चर्को शुल्क लिएको, स्थानीय खोलाहरुमा टेन्डर ढिलाइ गरेर कार्यकर्तालार्इ पैसा उठाउन लगाएको, लक्षित वर्गका कार्यक्रमहरु नगरी रकम हिनामिना गरेको भन्दै विरोध प्रदर्शन गरिएको जनाइएको छ।
त्यसैगरी निरन्तर छाडा चौपायले स्थानीयलार्इ दुख दिने गरेको जनगुनासो बढेपछि गार्इ व्यवस्थानका नाममा तीन लाख छुट्याइएको तर उक्त काम नै नगरी रकम अनियमितता गरेको आरोप कांग्रेसको छ। उक्त चौपायाको समस्या भने यथावत नै रहेको स्थानीयले बताएका छन्।
ह्युमपाइप र विद्युतका पोलहरु खरिद गरेर नगरपालिकामा थन्क्याएको र कयौं ह्यान्डपम्पका नाममा रकम निकासा गरेको तथा सामाजिक लेखा परिक्षण गराउँदा पनि अनियमितता गरेकोले आन्दोलनमा उत्रिन बाध्य भएको कांग्रेसले जनाएको छ।
किसानका लागि आएको स्यालो ट्युबेलमा रकम ग्राभेलमा हालेको तथा उपभोक्ता समितिमा आफ्ना मान्छेलार्इ राखेर जनप्रतिनिधिलार्इ दबाब सिर्जना गरी काम गर्न नदिएको आरोप लगाइएको छ।
संयोजक ओझाको संयोजकत्वमा सोमबार गुलरिया बजारमा करिब ३ घण्टा नाराबाजी सहित प्रदर्शन गरिएको थियो। त्यस्तै नेपाली कांग्रेसले मुलुकमा निरन्तर बलात्कार, हत्याका घटनाहरु निरन्तरवृद्धि भएपनि सरकारले चासो नदेखाएको भन्दै सरकारको चर्को विरोध गरेको छ।
कांग्रेसले कम्युनिस्ट सरकारले महँगी, भ्रष्ट्राचार, कालोबजारीलाई संरक्षण गरीरहेको समेत आरोप लगाएका छन्।
कम्युनिस्ट सरकारका कारण सर्वसाधारणलाई दैनिक काम गर्नै असहज भएको नेपाली काँग्रेस महासमिति सदस्य नवराज जोशीले बताए। हत्या हिंसा बलात्कारका घटना बढ्दै गएपनि सरकार मौन रहेको उनले बताए। स्थानीय तहले जनतालाई करको भार थुपारेको र नेकपा नेतृत्वको सरकारले पार्टी र परिवार पाल्ने गरेको आरोप लगाएको छ।
बलत्कारका घटना बढ्दै जाँदा विद्यार्थीहरु आतंकित भएको छन्। बालिकाको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने र बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग राख्दै विद्यार्थीहरु समेत जुलुसमा सहभागी थिए।
नगरपालिकाका मेयर कर्ण बहादुर हमालले भने, 'प्रतिपक्षले आफ्नो धर्मका लागी आरोप लगाउनु भएको हो। नगरपालिकाले शुरुबाटै भ्रष्ट्राचार मुक्त बनाउने अभियानको थालनीसँगै विकास निर्माणका काम शुरु गरेको भन्दै उनले आफू मेयर हुँदासम्म कुनै अनियमितता हुन नदिने दाबी गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४