बिहीबार, वैशाख २७, २०८१

गोविन्दालाई काठमाडौंमा 'ज्वाईं' सम्मान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आइतबार आयोजित सिने सर्कल अवार्डका लागि परिवारसहित नेपाल आउने भनिए पनि छोरी टिना आहुजासँग काठमाडौं झरेका बलिउड नायक गोविन्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनदेखि नै प्रफुल्लित मुद्रामा देखिन्थे। भक्तपुरकी सुनितासँग प्रेम विवाह गरेर नेपाललाई ससुराली बनाएका गोविन्दालाई अवार्ड आयोजकले समेत काठमाडौं बसाई क्रममा ज्वाईं सम्मान दियो।

आइतबार अवार्ड सम्मानमा विशेष अतिथिका रूपमा आमन्त्रित गोविन्दा आकर्षणको केन्द्रमा थिए। उनलाई उपराष्ट्रपति नन्दकिशोर पुनले दोसल्ला ओढाई स्वागत गरे। ‘मलाई पहिलो प्रेम यसै भूमिबाट मिल्यो,’ गोविन्दाले ससुराली देशको तारिफमा शब्द खर्चिंदै भने, ‘माया र साहसका लागि नेपाल विश्वभर चिनिएको छ।’ मामा आनन्द सिंहकी साली अर्थात् पत्नी सुनीतालाई गोविन्दाले स्वास्थ्यका कारण अन्तिम समयमा घरमै छाडेर आउनुपरेको बताएका थिए।

सामान्य परिवारमा जन्मे, हुर्केका गोविन्दा कुनैबेला बलिउडका नम्बर एक हिरोमा पनि दरिए। सन् १९९९ मा बीबीसी न्युजले गरेको मत सर्वेक्षणमा गोविन्दा विश्वकै महान १० कलाकारभित्र परेका थिए। सन् १९८६ मा ‘इल्जाम’मार्फत् बलिउड डेब्यु गरेका गोविन्दा शुरुवातमा ‘एक्सन हिरो’का रूपमा चले। पछि उनले आफूलाई ‘डिस्को डान्सर’ हिरो हुँदै कमेडियनमा समेत सफलतापूर्वक ढाले।

उनी आफू मात्रै कमेडीमा ढलेनन्, सन् १९९० को दशकलाई नै बलिउडमा कमेडीको लहर फैलाउन अहम् भूमिका निर्वाह गरे। त्यसताका गोविन्दा यतिसम्म चले कि लगातार फ्लप फिल्म दिएर करिअर संकटमा रहेका महानायक अमिताभ बच्चनले समेत उनको फिल्ममा सहायक भई खेल्नुपरेको थियो।

‘कुनैबेला मैले एउटै समयमा ७५ फिल्मसम्म साइन गरें। पछि दिलिपकुमार सा’बले २५ वटा घटाउन भनेपछि तिनको पैसा नै फिर्ता गरिदिएको थिएँ,’ उनले भने । सन् १९८९ मा मात्रै गोविन्दाका १४ फिल्म रिलिज भएका थिए। लगातार हिट फिल्म दिएका उनी सन् २००० पछि केही सेलाएका थिए।
 

भक्तपुरकी सुनितासँग प्रेम विवाह गरेर नेपाललाई ससुराली बनाएका गोविन्दालाई अवार्ड आयोजकले समेत काठमाडौं बसाई क्रममा ज्वाईं सम्मान दियो ।


राष्ट्रिय सभागृहमा आइतबार आयोजित अवार्ड वितरण समारोह पनि पूरै गोविन्दामा घुम्यो। खासगरी, निर्देशक किशोर रानालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’को सम्मान दिन निम्त्याइएका थिए, गोविन्दा। तर, त्यसभन्दा बढी सम्मान उनी आफैंले पाए।

‘हेल्लो चिची’ अवार्ड दिन स्टेजमा उक्लिएका अभिनेता सुनील थापाले गोविन्दाको ‘निकनेम’ले सम्बोधन गर्दै भने, ‘गोविन्दाले मलाई देखेपछि अचम्म मान्दै मेरो गेटअप परिवर्तनबारे जिज्ञासा राखेका थिए।’ पछिल्लो पटक थापा बलिउड फिल्म ‘मेरी कोम’मा प्रियंका चोपडाको बक्सिङ कोचका रूपमा चिन्डो तालुसहित देखिएका थिए । अवार्ड वितरण समारोहमा भने सेतो फुलेको दाह्री र कपालमा झुल्किए।

नेपाली सेनाको लाइभ ब्यान्डले गोविन्दाका फिल्मका गीतमा धुन बजाएर सम्मान अर्पण गरेको थियो भने नृत्य निर्देशक गम्भीर विष्टले गोविन्दाकै हुलियामा उनका फिल्मी गीतमा नक्कल नृत्य पस्कँदा स्वयं गोविन्दाले हाँसो रोक्न सकेनन्।

‘मलाई धेरैले सुनाउँछन्, सर म तपाईंबाट एकदमै प्रभावित छु। त्यस्तै गर्ने कोशिस गरिरहेको हुन्छु। मलाई पनि धेरै ठाउँमा जाँदा गोविन्दा नजर आउँछ,’ गोविन्दाले भने। त्यसो त, अवार्ड दिन आएका संगीतकार टीका भण्डारीले समेत गोविन्दाको एक डान्स स्टेप देखाउन भ्याए।

गोविन्दालाई आयोजकले तारे होटेलमा राख्नेदेखि पशुपतिनाथ दर्शन र चन्द्रागिरी हिल्समा दृश्यावलोकनको अवसर जुटाइदियो भने सम्भवतः प्रधानमन्त्रीसँग दिवाभोज र राष्ट्रपतिसँग चिया भेट हुनेछ । त्यसपछि ससुराली देशको तीनदिने भ्रमण सकेर स्वदेश फर्किनेछन्।
 

गोविन्दालाई आयोजकले तारे होटेलमा राख्नेदेखि पशुपतिनाथ दर्शन र चन्द्रागिरी हिल्समा दृश्यावलोकनको अवसर जुटाइदियो भने सम्भवतः प्रधानमन्त्रीसँग दिवाभोज र राष्ट्रपतिसँग चिया भेट हुनेछ।


‘मेरो साथमा सुनीता रहिन्, त्यसैले मैले सफलता पाएँ। र, अहिले मेरो ससुराली पनि मेरो साथमा छ भन्ने थाहा पाएँ,’ गोविन्दाले उपस्थितलाई रिझाउन कुनै कसर छाडेनन्। आयोजकमार्फत् उनले आफ्नो रिलिजको क्रममा रहेको फिल्म ‘फ्राई डे’को प्रचार सामग्रीसमेत देखाउन भ्याए। 

समारोहमा अधिकांशले गोविन्दालाई ज्वाईं सम्बोधन गरिरहेका बेला नायिका निता ढुंगानाले भने भिनाजु भन्दा माहोल हाँसोमय बन्यो। पछि गोविन्दाले पनि आफ्नो मन्तव्यमा नेपाल आएर आफूले साली पनि पाएको ठट्टा गर्दै थपे, ‘अहिले मात्र होइन, म अरू देशको भ्रमणमा जाँदा पनि कतैबाट भिनाजु भनेको आवाज सुनें भने त्यो बोलाउने पक्कै नेपाली हो भन्ने लाग्छ। मेरो फस्ट लभ नेपाली युवतीसँग भयो। त्यसपछि त तपाईंहरूको पनि डर मान्नुपर्यो।’

गोविन्दामय देखिएको अवार्ड वितरण समारोहमा उनले लामो मन्तव्य राखे। राजनीतिमा समेत होमिएका गोविन्दाले ‘आज म भाषण गर्दिनँ’ भन्दै नेपाली फिल्मकर्मीका लागि बोले, ‘अहिले धेरै मेकरहरू पढेर आउनुभएको छ। कृपया तपाईंहरूले नपढी यस क्षेत्रमा आउनेलाई नहेप्नुहोला। बरु नपढी, कलाप्रतिको माया र केही गर्ने हुटहुटीले आउने तिनैले केही गरेर देखाउँछन्। उनीहरू जे गर्छन्, मनैदेखि ज्यान दिएर गर्छन्। मजस्तै, म पनि साधारण परिवारबाट आएर नम्बर एकसम्म बनें। त्यसैले मासुमलाई नहेप, के थाहा कुनै दिन ऊ गोविन्दा निस्कन सक्छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।