जनकपुरधाम- उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेकपा अध्यक्ष केपी ओली नेतृत्वको वर्तमान सरकारमा सहभागी छ। फोरम अध्यक्ष यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री छन्। फोरमबाटै संघीय सरकारमा इस्तियाक राइन शहरी विकासमन्त्री बनेका छन्।
प्रदेश-२ मा पनि फोरम उपाध्यक्ष लालबाबु राउत नेतृत्वको सरकार छ। यहाँ फोरमले राजपासँग गठबन्धन गरेर सरकार बनाएको छ। ३ असोजमा सरकारले मनाउन लागेको संविधान दिवसको विरोध गर्ने राजपा अध्यक्ष मण्डलले निर्णय गरिसकेको छ। यद्यपि, मधेशकेन्द्रीत दुवै दलले यही संविधानलाई मानेर संघीय सरकारलाई समर्थन गरेका छन्। र, प्रदेश सरकारको नेतृत्व गर्दै आएको छ, फोरमले।
त्यसका बावजुद फोरमले संविधान दिवसको विरोध गर्ने भएको छ। राजपाले संविधान दिवसको विरोधमा कार्यक्रम सार्वजनिक गरेपछि मधेशकेन्द्रित राजनीति गर्दै आएको फोरम पनि बाध्य भएको छ, संविधान दिवसको विरोध गर्न। तथापि, राजपा र फोरम दुवै दलले यसपटक ३ असोजलाई ‘कालो दिवस’ भनेर उल्लेख गरेका छैनन्। चार दिनअघि राजपाले जिल्लामा जारी गरेको सर्कुलरमा समेत कालो दिवस उल्लेख गरिएको छैन। ३ असोजमा पाँच प्रदेशमा विरोधसभा मात्र गरिने राजपाले जनाएको छ।
राजपाले संविधान दिवसको दिन साँझ १५ मिनट 'ब्ल्याक आउट' गर्नुका साथै अध्यक्ष मण्डलका सदस्य तथा प्रदेश-२ का मन्त्रीहरूलाई विरोधसभामा भाग लिन सर्कुलर जारी गरेको छ। यसअघि विगतमा राजपा र फोरमले ३ असोजलाई कालो दिवस भनी विरोध गर्दै आएका थिए।
संघीय समाजवादी फोरमका नेता तथा प्रदेश-२ का आन्तरिक मामिका एवं कानूनमन्त्री ज्ञानेन्द्र यादवले संविधान अझै त्रुटिपूर्ण रहेकाले उत्सवका साथ संविधान दिवस मनाउने अवस्था नरहेको जिकिर गरे।
संविधान संशोधनसम्बन्धी आफूहरूको एजेन्डा अझै कायम रहेको बताउँदै यादवले संशोधन नभएसम्म संविधान दिवस मनाउन नसकिने स्पष्ट पारे। ‘संविधान संशोधनको प्रमुख एजेन्डा लिएर दुवै दल सरकारमा सामेल छौं,’ नेपाल समयसँग कुरा गर्दै कानूनमन्त्री यादवले भने, ‘३ असोज हाम्रा लागि अझै कालो दिन नै हो।’ संविधान संशोधन नभएसम्मआफूहरूले भव्यताका साथ संविधान दिवस मनाउन नसक्ने उनको भनाइ थियो।
तपाईंहरूकै नेतृत्वमा रहेको प्रदेश-२ सरकारले संविधान दिवसको दिन के गर्छ भन्ने प्रश्नमा कानूनमन्त्री यादवले प्रदेश सरकारले पनि दिवस नमनाउने दाबी गरे। प्रदेश सरकारका कर्मचारीहरूले संविधान दिवस मनाए पनि सरकारका मन्त्रीहरू त्यसमा सहभागी नहुने उनले बताए। तर, प्रदेश सरकारले संविधान दिवसको अवसर पारेर वृक्षरोपण गर्ने कार्यक्रम तय भएको छ।
संघीय समाजवादी फोरमले आइतबार प्रेस विज्ञप्ती जारी गरेर ३ असोजका लागि विरोधका कार्यक्रमसमेत सार्वजनिक गरेको छ। हातमा कालोपट्टी बाँध्ने, सार्वजनिक स्थानहरूमा कालो झण्डा झुण्डयाउने र साँझ ७ बजेदेखि १५ मिनट 'ब्ल्याक आउट' कार्यक्रम फोरमले सार्वजनिक गरेको हो।
राजपाका महामन्त्री तथा प्रदेश-२ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले पनि केन्द्र सरकारलाई समर्थन र प्रदेश सरकारमा सहभागी भए पनि ३ असोज आफूहरूका लागि कालो दिन रहेको जिकिर गरे।
‘संविधान घोषणा प्रक्रियामा हामी सहभागी भएनौं। मुलुकको आधा भूभाग सडकमा थियो,’ सोनलले भने, ‘संविधानप्रतिको असन्तुष्टि अझै कायम छ। संशोधनको माध्यमबाट असन्तुष्टि समाधान नभएसम्म हामीले संविधान दिवस कसरी मनाउने ?’
संशोधनको आवश्यकता महशुस गरेर कांग्रेस र तत्कालीन माओवादी केन्द्रले संशोधन विधेयक ल्याएको तर तत्कालीन एमालेले सहयोग नगरेपछि पारित हुन नसकेको सोनलले बताए। संशोधनमा सहयोग नगर्ने दलको सरकारलाई राजपाले किन सहयोग गरेको भन्ने जिज्ञासामा सोनलले भने, ‘हामीलाई संशोधनको आश्वासन दिइएको छ। त्यसैले केपी ओली नेतृत्वको सरकारलाई समर्थन गरेका हौं। आश्वासन पूरा नभए समर्थन फिर्ता हुन्छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४