धरान- खोलामा ४३ लाख लगानी गरेर धरान उपमहानगरपालिकाले १० करोड रुपैयाँ जोगाएको छ। धरानको दुःखको रूपमा चिनिएको सर्दु खोलामा व्यवस्थित तटबन्ध बनेपछि १० करोड बराबरको जग्गा जोगिएको हो।
धरान-१६ नौलो बस्तीको जोरसखुवा भन्ने स्थानमा बनेको दुई सय ६० मिटर व्यवस्थित तटबन्धले अढाइ बिघा जग्गा जोगिएको छ। हाल न्यूनतम प्रतिधुर एक लाखका दरले उक्त जग्गा बिक्री हुने वडाध्यक्ष दिलकुमार गिरी बताउँछन्। उनी भन्छन्, 'यो क्षेत्रमा अलिकमाथि तीन लाख धुरसम्ममा बिक्री हुन्छ। यो खोला नजिकै भएकाले नम्बरी जग्गामा एक लाख प्रतिधुर बिक्री हुन्छ।'
तटबन्ध निर्माणमा ४३ लाख रुपैयाँ छुट्याइयो। यो रकमले दुई सय ६० मिटर क्षेत्रको खोला किनारमा बलियो पर्खाल बनाइयो। ११ फिट गहिरो पर्खाल जमिनमुनि मात्रै ६ फिट गाडिएको छ। चौडाइ झण्डै एक मिटर (९० सेन्टिमिटर) छ। बलियो कंक्रिट पर्खालको जग दुई मिटर १० सेन्टिमिटर चौडा छ।
यसरी बलियो तटबन्ध बनेकाले यसपालिको बर्खा र भेलमा धरानको नौलो बस्तीतिर खोला सोझिएन। खोला आफ्नै मूल प्रवाहमा बग्यो। व्यवस्थित तटबन्धले बस्ती सुरक्षित भयो। जसको महशुस सोही बस्तीमा बस्दै आएका युवा राजु रसाइलीदेखि वृद्धा बालकुमारी मगरसम्मले गरेका छन्।
खुकुरी उद्योग सञ्चालन गर्दै आएका रसाइली भन्छन्, 'पहिले-पहिले बस्तीतिर बग्दै आउने सुर्दुसँग डराउनुपथ्र्यो। यो वर्षबाट पर्खाल बनेर ढुक्क भयो।' वृद्धा मगर पनि तटबन्धले बर्खामा धेरैलाई राम्रो निदाउन सहयोग गरेको बताउँछिन्।
तटबन्धका कारण बस्तीका तीन सय ८७ घरमा कटान र बाढीको त्रास अन्त्य भएको वडाध्यक्ष गिरी बताउँछन्। 'तटबन्धले स्थानीयवासी र स्थानीय सरकार दुवैलाई फाइदा भयो,' वडाध्यक्ष गिरी भन्छन्।
जोगिएको जग्गामा पार्क
सर्दुमा तटबन्ध बनाएर करोडौंको जग्गा र अमूल्य बस्ती जोगाउने भिजन थियो, धरानका स्वर्गीय मेयर तारा सुब्बाको। सुकुम्वासी बस्ती र स्थानीय सरकार दुवैलाई फाइदा हुनेगरी लगानीबाट आम्दानी निकाल्न यस्तो परियोजना मेयरले ल्याएको उनका तत्कालीन प्रेस संयोजक योगेशबाबु काफ्ले बताउँछन्।
गत १ साउनमा मेयर सुब्बाको काठमाडौंमा उपचारका क्रममा निधन भयो। तटबन्धका कारण जोगिएको अढाइ बिघामा मेयर सुब्बाको स्मृतिमा पार्क निर्माण गरिने भएको छ। र, त्यसको नाम दिइएको छ, मेयर स्मृति पार्क।
वडाध्यक्ष गिरीका अनुसार नगरकार्यपालिकाले नै यो विषयमा निर्णय गरिसकेको छ। र, २५ लाख रुपैयाँ विनियोजन पनि भइसकेको छ। पार्क बनाउने निर्णय भए पनि थप तटबन्ध निर्माणका लागि बजेट भने यस वर्ष नआएको वडाध्यक्ष गिरी बताउँछन्।
आफ्नो वडाको १५ सय ८० मिटर खोलाको दूरीमा दुई सय ६० मिटर मात्रै तटबन्ध गर्दा बस्ती जोगिएको र पार्क बन्ने योजना आएपछि गिरी उत्साहित छन्। भन्छन्, 'नगरका सबै खोला किनारमा यस्तै बलियो, व्यवस्थित र अग्लो तटबन्ध बनाए धेरै काम गर्न सकिने रहेछ।' उकुसमुकुस शहरमा पार्कदेखि सिटी हल, खेलमैदान हुँदै व्यवस्थित बस्ती निर्माणका लागि पर्याप्त जग्गा निकाल्न व्यवस्थित तटबन्ध गर्दा हुने आफूले पाएको गिरी बताउँछन्।
'खोलाले फिँजिएर बगेर मात्रै बस्तीमा आएर धेरै जमिन कटान गर्ने हो,' गिरी भन्छन्, 'तर, बलिया, गहिराइ र उचाइको तटबन्ध बनाएर खोलालाई व्यवस्थित बगाउँदै हरेक वर्ष खोलानालाको प्रवाह क्लियर गरे धेरै सहज हुने देखियो।'
यही कारण शहर र बाक्लो बस्ती भएका क्षेत्रमा तटबन्ध निर्माणमा एकमुष्ट बजेट ल्याउँदा राज्यलाई घाटा नहुने गिरीको तर्क छ। उनी भन्छन्, 'केही करोड लगानीले अर्ब र केही अर्ब लगानीले खर्ब बराबरको जमिन र अमूल्य बस्ती जोगाउने व्यवस्थित तटबन्धको काम प्रदेश र संघीय सरकारले गर्नुपर्छ।'