काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयलाई पहिलो प्राथमिकतामा पारेका छन् । कसैले निर्मला हत्याकाण्डको अनुसन्धानका विषयलाई मुख्य समाचार बनाएका छन् भने कसैले सत्ताधारी दल नेकपामा देखिएको भद्रगोललाई मुख्य समाचार बनाएका छन् ।
आजको नागरिक दैनिक र नयाँ पत्रिका दैनिकले निर्मला हत्या र त्यसको अनुसन्धानका विषयमा प्रमुख खबर लेखेका छन् । नागरिकले 'निर्मला हत्या प्रकरणः अनुसन्धान जिम्मा कञ्चनपुर प्रहरीलाई' शीर्षकमा खबर लेखेको छ । निर्मला पन्तको हत्याका विषयमा अनुसन्धान गर्न केन्द्रीय स्तरबाट प्रहरी र गृह मन्त्रालयले अलगअलग समिति गठन गरे पनि छानबिनको सम्पूर्ण जिम्मेवारी कञ्चनपुर जिल्ला प्रहरी कार्यालयलाई नै दिइएको समाचारमा जनाइएको छ ।
यस्तै निलम्बित प्रहरीमाथि छानबिन गर्न डिआएजीको नेतृत्वमा समिति समेत बनाइएको छ । नागरिकले हत्यारा ठम्याउने सहारा डिएनए परिक्षण शीर्षकमा पनि खबर छापेको छ ।
'पुलिसको त्रास मर्यो, न्यायको आस टर्यो' शीर्षकमा मुख्य समाचार छापेको आजको नयाँ पत्रिकाले निर्मलाको बलात्कारपछि देशव्यापी आन्दोलन भइरहेका बेला ५२ दिनमा २२५ चेली बलात्कृत भएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
राजधानीमा मात्रै पछिल्लो ४५ दिनमा ४२ वटा बलात्कारको घटना भएको समाचारमा जनाइएको छ । कञ्चनपुरमा मात्रै निर्मलाको हत्यापछि आठ जना महिला बलात्कृत भएको नयाँ पत्रिकाले लेखेको छ । समाचारमा जनाइएअनुसार अब अनुसन्धान सैनिकमाथि पनि हुने भएको छ ।
'बिमान खरिदमा किर्ते' शीर्षकमा मुख्य समाचार छापेको अन्नपूर्ण पोस्ट्ले निर्मला हत्या प्रकरणमा प्रहरीमाथि छाबिन गर्न टोली बनाइएको खबरलाई पनि पनि महत्वका साथ छापेको छ । एसपी डिल्ली विष्टसहित ६ जना प्रहरी कर्मचारीकै पोलिग्राफ परीक्षण हुने समाचारमा जनाइएको छ । यस्तै हतारमा १५ कानुन शीर्षकमा अन्नपूर्ण खबर छापेको छ ।
आजको कान्तिपुर दैनिकले भने सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको भद्रगोललाई मुख्य समाचार बनाएको छ । 'किन बनेनन् अरिंगाल ?' शीर्षकमा खबर छापेको छ । सरकारविरुद्ध चौतर्फी आक्रमण भएका बेला नेता कार्यकर्ता अरिंगाल बनेर आक्रममा उत्रिएको भन्दै प्रधानमन्त्री केपी ओलीले असन्तुष्टि जनाएका थिए । उनले आफ्न नेता कार्यकर्तामा अरिंगालमा जतिको पनि वुद्धि नभएको भन्दै नेता कार्यकर्ताप्रति आक्रोश पोखेका थिए ।
यो प्रश्नको जवाफ भेट्न प्रधानमनत्रीकै कायैशैली केलाउनु पर्ने बेला आएको नेकपाका स्थायी समिति सदस्य घनश्याम भुषालले बताएका छन् । अरिंगालको जस्तो सामुहिकता खोज्नेले आफूले पनि त्यही शैली अपनाउनु पर्छ तर पार्टीभित्र अहिले सामूहिकता हराएको भुसालको भनाइ छ । कान्तिपुरले खबर छापेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४