काठमाडौं- दशैँका लागि असाेज ५ गते (शुक्रबार) देखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवसायी र सरकारबीच अाइतबार बसेको बैठकले शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खोल्ले सहमति भएको यातायात व्यवस्था विभागले जनाएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिब सरोज सिटौलाले यात्रुहरुको सुविधालाई ध्यानमा राखेर सहमति गरिएको बताए।
‘सहमतिअनुसार दशैको लागि शुक्रबारदेखि बुकिङ खुला भएको हो,’ उनले भने ‘टिकट सकेसम्म सहज ढङ्गले उपब्ध गराउने गरि यातायात व्यवसायीले काम गर्ने र सरकारले त्यसका लागि सहयोगी भूमिका खेल्ने विषयमा सहमती भएको हो।’
उनका अनुसार यसपटकको दशैंमा नयाँ गाडी थपिने सम्भावन भने न्यून छ। सरकारले आफूहरुको बैंक खाता खुल्ला नगरेका कारण नयाँ गाडी थप्न नसकेको उनको भनाइ छ । नयाँ गाडी नथपिए पनि सकेसम्म अभाव हुन नदिने उनको भनाइ छ । विभाग र व्यवसायीबीच भएको सहमतिमा भाडा वृद्धिको विषय भने उल्लेख गरिएको छैन।
विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्ययले गत वर्षहरु झैं यस वर्ष पनि राजधानीको बाह्र स्थानबाट यात्रुहरुको लागि हेल्प डेक्स खोलिने बताए। उनकाअनुसार नाकढुङ्गा, नयाँ वसपार्क, पुरानो वस पार्क, चावहेल, गौसला, कोटेश्वर, लगनखेल, सुन्धारा लगायत राजधानीको विभिन्न स्थानमा टिकट बुकिङ खुला गरिनेछ।
केही निजी कम्पनीहरुले अनलाईनबाट समेत बुकिङ खुला गर्ने जानकारी आएको उनको भनाइ छ। प्रारम्भिक अनुमान अनुसार यो दशैँ र तिहारमा १२ देखि १४ लाख यात्रुबाहिरिने अनुमान गरिएको उनले बताए। यात्रुहरुको सहजताको लागि ट्राफीक प्रहरी, उपभोक्तावादी लगायत आ–अफ्नो स्थानबाट खटिने उनको भनाइ छ।
व्यवसायीको खाता खोल्ने सहमति
विभागका प्रवक्ता उपाध्ययले विभागले व्यवसायीहरुको खाता खोलिदिन पहल गर्ने सहमति गरेको जानकारी दिए। व्यवसयीहरुसँग दुई घन्टाको छलफलमा अग्रिम टिकट बुकिङ गर्ने निर्णय गरिरहदा व्यवसायीहरुको बैंक खाता खोल्न पहल गरिदिने समेत सहमति भएको उनको भनाइ छ।
यातायात व्यवसायीहरुले बैंक खाता नखुलेकोले आफ्नो कार्यालय सञ्चालन गर्न नसकेको, घाइतेहरुको उपचार गर्न नसकेको लगायत विविध समस्या भएको भन्दै खाता खोल्न माग गरिरहेको थियो । त्यसको टुंगो लाग्न नसक्दा अग्रिम टिकट बुकिङ खुल्न सकेको थिएन।
‘त्यसलाई हामीले सकरात्मक रुपमा हेरेका छौं,’ उनले भने ‘त्यसको लागि विभागले पहल गर्ने सहमति भएको छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४