धनगढी- प्रदेश ७ का बिशेष गरी कैलाली र कञ्चनपुरमा दिनहुँ जसो हत्याका घट्नाहरु बढ्न थालेका छन् ।
शुक्रबार राति मात्र कञ्चनपुरमा एक श्रीमानले श्रीमतीको बञ्चरो प्रहार गरी हत्या गरेको खुलेको छ भने कैलालीमा पनि श्रीमानले श्रीमतीको हत्या गरेको आशंका गरिएको छ ।
प्रहरीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका-९ टुँडिखेल सिंगापुरका अन्दाजी ४५ वर्षीय चन्द्र पुन मगरले ३५ वर्षीया श्रीमती विमला पुन मगरको बञ्चरो प्रहार गरी हत्या गरेका छन् ।
शुक्रबार राति ७ बजे मदिराको नशामा रहेका मगरले श्रीमतीसँग विवाद हुँदा बञ्चरो प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायक उपरीक्षक कृष्ण ओझाले जानकारी दिए । श्रीमान् श्रीमतीले सँगै मदिरा सेवन गरेपछि विवाद भएको ।
आवेशमा आएर चन्द्रले श्रीमतीलाई बञ्चरो प्रहार गरी भारततर्फ फरार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनको शव पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पताल पुर्याइएको ओझाले जानकारी दिए ।
यस्तै कैलालीको गोदावरी नगरपालिका-१० खमौरामा २४ बर्षीया एक महिलाको शव घरभित्रै शंकास्पत अवस्थामा फेला परेको छ । घाँटीमा दोपट्टाले बाँधेर आप्mनै घरको झ्यालको चुक्कुलमा झुण्डिएको अवस्थामा तुल्छि फुलारा भट्टको शव भेटिएको हो । शवको प्रकृति हेर्दा टाउँको बाहेक शरिरको सबै भाग खटियामा पल्टिएको अवस्थामा छ ।
महिलाका माईती पक्षले भने श्रीमान प्रशान्त भट्टले नै हत्या गरेर झ्यालको चुक्कुलमा झुण्ड्याएको आरोप लगाएका छन् । प्रहरीले पनि घट्ना शंकास्पत रहेको बताएको छ ।
माईती पक्षले भट्टका नाममा शनिबार नै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् । शव पोष्टमार्टका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ । महिलाका बुबा बिणीमाधव फुलाराले शवको अवस्था हेर्दा झुण्डिएर आत्महत्या गरेको नभएर हत्या गरेपछि झुण्ड्याएको बताए । उनका अनुसार महिलाको पिठ्युमा कपडा पनि च्यातिएको र निलडामसमेत परेका छन् ।
उनीहरुको डेढ बर्ष पहिले मागी बिबाह भएको र बिहेलगत्तै देखि झगडा हुन थालेको माईती पक्षले जानकारी दिएको छ । ‘गत माघमा छोरीलाई पिटेर दाँत भाँचेर माईत गएकी हो पछि माफि माग्दै आफै साथमा लिन गएको हो’ मृतकका बुबाले भने,‘घरमा आमा बुबालाई फोन गर्दा पनि संका गर्ने र कुटपिट गर्ने गरेको थियो ।’
उनका अनुसार त्यहि बेला भट्टले बिवाहमा पाएको दाईजो जति सबै जलाएका थिए । नसालु पदार्थ सेवन गरिरहने भट्ट परिवारको एक्लो सदस्य रहेको र घरमा पनि बुढाबुढी मात्र रहेको छिमेकीबाट बुझिएको छ । आईटी इन्जिनिएर अध्ययनरत २५ वर्षीय भट्टले सामान्य बिषय पढेको भन्दै पटक-पटक यातना दिने गरेको माईती पक्षले सुनाएका छन् ।
राति करिव २ बजे भट्टले नै श्रीमतीले झुण्डिएर आत्महत्या गरेको भन्दै प्रहरीलाई खबर गरेको प्रहरी निरीक्षक पुष्कर चन्दले जानकारी दिए । भट्टलाईसमेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । शव सेती अञ्चल अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४