भैरहवा- ऐतिहासीक स्थल जितगढी किल्लामा एका बिहानै नेपाली सेना, नेपाल प्रहरीलाई साथमा लिएर बुटवल उपमहानगरपालिकाका मेयर शिव सुवेदी, उपमेयर गुमादेवी आचर्यसहितको टोली पुगेको छ ।
नेपालकै ईतिहासमा अंग्रेजलाई परारस्त गरेर नेपाली स्वाभिमान र नेपाली धर्तिको रक्षा गर्न सफल भएको किल्ला जितगढीमा सेना, प्रहरी र स्थानीय जनप्रतिनिधीमात्रै नभई रुपन्देहीका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधी र स्थानियबासी मुखमा माक्स, हातमा कुचो र डोको बोकेर सो स्थलमा पुगेका हुन्।
५ नम्बर प्रदेशको राजधानी बुटवलको पश्चिमपट्टि तिनाऊ नदीसंगै जोडिएको उक्त ऐतिहासिक स्थललाई सरसफाईयुक्त बनाई बुटवलको मुख्य पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले तिनाउ सफाई अभियान अन्र्तगत १३ औं हप्ताको कार्यक्रम जितगढी किल्लामा राखिएको बुटवल उपमहानगरपालिकाका मेयर शिव सुवेदीले बताए।
उनले भने , ‘उजीर सिंहको किल्ला बुटवल उपमहानगर क्षेत्रलाई हामी नेपालकै नमुना सरसफाईयुक्त शहर बनाउन गईरहेका छौं। ’

सिंगो बुटवललाई पुर्ण सफाईयुक्त शहर बनाउने र बुटवलका हरेक मान्छेहरुले बाटोमा फोहर खसेमा आफैं उठाएर फोहर संकलन केन्द्रमा राख्ने बानीको विकास गर्ने उद्देश्यसहित चालिएको अभियान सफलतातर्फ उन्मुख भएको तिनाउ सरसफाई अभियानका सहसंयोजक कृष्ण प्रसाद कडेंलले जनाए ।
जितगढी किल्लामा अंग्रेज–नेपाल युद्धका समयमा नेपाली सेनाले वि.सं. १८७१ बैशाख ७ गतेको दिन विजयी प्राप्त गरेको थियो। ऐतिहासीक धरोहरका रुपमा रहेको जितगढी केही वर्ष अघिसम्म संरक्षणविहीन बनेको थियो। तर पछिल्लो समय जितगढी सम्पदाको संरक्षण र सम्बर्द्धनमा प्रभावकारी काम सुरु भईरहेका छन् । यद्यपी किल्लालाई अझै व्यवस्थीत तरीकाले संरक्षण गर्न सकिएको छैन ।
जितगढीमा विसं ७ बैशाख १८७१ को लडाइँमा नेपालसंग हारेपछि अंग्रेज सेना नेपालबाटै फर्किएको इतिहास छ। नेपालीले अंग्रेज फौजलाई हराएर विजय प्राप्त गरेको २०३ वर्ष पुगेको अवसरमा बुटवल उपमहानगरपालिकाले पहिलोपटक गत बैशाखमा जितगढी विजय उत्सव दिवस समेत मनाएको थियो।





प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४