शुक्रबार, साउन १, २०८३

गन्तव्य रामारोशन- धर्तीमा स्वर्गको टुक्रा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- एकै ठाउँमा १२ ताल र १८ वटा मैदानको रमणीयता कहाँ भेटिएला ? प्रदेश–७ बाट जवाफ आउँछ, अछामको रामारोशनमा। रामारोशनलाई चिनिने अर्को नाम पनि छ, ‘बाह्र वण्ड अठार खण्ड’। 

रामारोशन गाउँपालिका–५ मा पर्ने यो क्षेत्र अछाम, बाजुरा र कालिकोटको सिमानामा पर्छ। रहरलाग्दा जमिनका फाँटहरू, मनमोहक तालहरू र त्यसमा पौडिरहेका जलहाँस। वरिपरि फुलेका अनेकथरी फूल, राष्ट्रिय चरो डाँफेका बथान नाचिरहेका पाटनहरू। मुनाल, कालिज, ढुकुर, परेवा, हलेसोलगायत चराचुरुंगीको चिरविर। कस्तुरी, मृग, बाघ, भालु, घोरल, थार, बँदेल, बाँदर, फ्याउरोलगायत वन्यजन्तुको ओहोरदोहोर। सतुवा, दालचिनी, सुगन्धवाल, कटुकी, हत्तजडी, पदमचाल, सेलपहाडीजस्ता थुप्रै बहुमूल्य जडिबुटीहरू पाइने यो क्षेत्रको वर्णन शब्दमा जति गरे पनि अधुरो हुन्छ।

कैलाश खोलाको मुहान पनि रामारोशन नै हो। यहाँको सबैभन्दा ठूलो ताल हो, जिगाले। बाटुल्ला, लामीदह, लिस्सेडाली, ताउले ताल, तल्लो धउने, माथिल्लो धउने, गाग्रे, डौठे खाल (वाउलेगडा ताल), दल्याना, रामेताल र गेराह ताल यहाँका पहिचानझैं बनेका छन्। काठको डुंगामा जिगाले ताल सयर गर्दै स्वर्गीय आनन्द लिन सकिन्छ।



यो तालको बीच भागमा दुई वटा खम्बा छन्। परापूर्वकालमा देवी र दानवको रामारोशन क्षेत्रमा लडाईं हुँदा देवी भगवतीले फलामे साङ्लाले राक्षसहरूलाई ती दुई खम्बामा बाँधेर कैद गरेको किंवदन्ती छ। 

अग्ला पहाडको फेदीमा पर्छ, रामारोशन क्षेत्र। गुराँसका रातो, सेतो र गुलाबी फूल यत्रतत्र फुलिरहेका देखिन्छन्। गुराँस फुलेको समयमा त्यहाँ पुग्दा वन पूरै राताम्य अनि सेताम्य देखिन्छ। 

रामारोशनका १८ वटा खण्ड छन्। किनिमिनी, रोशन टाउका, रोशन जिगाले, रोशन बागफाल, रामे रोशन, दल्याना रामे, पातल दल्याना, गेराह जैदेखोला, जिउने पातल, चिल्फु गाग्रा, बागफा गोरेकोट, ददाली पिनालेखी, सालिमकोट कागे बर्जु, चिर्किटे कालापोखर, नेटाकोट साकोट, रामे रगाडे, किनिमिनी सिन्दुरे र पिनालेखी टोट्के। 

अनि, नौ वटा ठूला र रमणीय मैदानहरू पनि छन्। रोशन, किनिमिनी, रामे, रगाडे, सुइडेनी गडो, दनाडी, भिउमोरा, चिल्फु र गादो पाड्ने मैदान। धेरै वर्षअघि यी मैदानहरू तालको रूपमा थिए। पछि सुकेर मैदान बनेको स्थानीय काली बुढा बताउँछन्।

रामारोशन क्षेत्रमा सात वटा छहरा पनि छन्। बांगे, दल्याना, किनिमिनी फिस्साने, औलाघाट कैलाशखोला, रामारोशन गगन, बडाचामल र जैदेखोला दुदुल्लेबोट। 



रामारोशन पुगेर प्रकृतिको सुन्दरता नियाल्न पाएकाहरू यस क्षेत्रलाई स्वर्गकै टुक्राको रूपमा बयान गर्छन्। खप्तड र बाजुराको बडिमालिका हुँदै रामारोशनसम्म पैदल मार्ग पहिचान गरी प्रचार प्रसार थालिएको पर्यटन व्यवसायी कृष्णबहादुर महरा बताउँछन्। 

परापूर्वकालमा रामारोशन क्षेत्रमा भगवान् शिव र पार्वतीले स्नान गरेको र त्यहीं बास गरेको भन्ने किंवदन्ती पाइन्छ। यो क्षेत्र समुद्री सतहबाट दुई हजार ५० मिटरदेखि ३७ सय ९२ मिटर उचाइमा छ। यस क्षेत्रमा प्याराग्लाइडिङको प्रचुर सम्भावना रहेको जानकारहरू बताउँछन्।

९–२० वैशाख ०७० मा ‘गन्तव्य रामारोशन’ अभियान चलाइएको थियो। अहिले राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरमा पनि प्रचार प्रसार बढेको अछाम उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद ढुंगाना बताउँछन्। 

यस क्षेत्रको संरक्षणको विषय जिल्लाका १२ भन्दा बढी गाविसका बासिन्दाको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको छ। कैलाश खोलाको पानीको सिँचाइबाट ती गाविसमा खाद्यान्न उत्पादनसमेत राम्रो हुने गर्छ। कैलाश खोलामै आठ वटा लघुजलविद्युत आयोजना सञ्चालनमा छन्। कैलाश खोलाको माछाको स्वाद यहाँ पुग्ने जोसुकैको जिब्रोमा झुन्डिन्छ।

यस क्षेत्रमा पुग्न अछामको तिमल्सैनबाट करिब ४२ किलोमिटर कच्ची सडकको यात्रा गर्नुपर्छ। दर्नास्थित कैलाश खोलामा पक्की पुल निर्माण भएपछि बाह्रै महिना गाडीबाट पुग्न सकिन्छ। दक्षिण भएर बग्ने कर्णाली नदी, उत्तरमा बुढीगंगा र बीचका थुप्रै नदीनालाले यहाँको प्राकृतिक सुन्दरतामा इँटा थप्ने काम गरेका छन्।



राज्यले यस क्षेत्रको पर्यटकीय विकासका लागि बर्सेनि १५–२० लाख रुपैयाँ छुट्याउने गरेको छ। तर, त्यसको खासै सदुपयोग भएको पाइँदैन। पर्यटन बोर्डले यस क्षेत्रमा पूर्वाधार निर्माणका लागि स्थानीयस्तरमा समन्वयबिना नै बजेट खर्च गर्दै आएको छ।

स्थानीय स्तरमा प्रशस्त मात्रामा ढुंगा उपलब्ध भए पनि टाढाबाट सिमेन्ट ल्याएर बाटो चुनाइ गर्दै उल्टै हिँडडुल गर्न अप्ठ्यारो भइरहेको ढुंगाना बताउँछन्।

रामारोशनलाई केन्द्रमा राखेर तारागाउँ विकास समितिले अछामको पाँच वर्षे पर्यटन गुरुयोजना निर्माण गरेको छ। तर, काम गुरुयोजनाअनुसार अगाडि बढेको छैन। उक्त योजना जिविसमै थन्किएको छ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।